पुबुदुले भने : क्यान र खेलाडीबीचको विवाद २–३ दिनमै सल्टिनेछ

कोही व्यक्तिका लागि सिंगो टिम रोकिने हुँदैन। राष्ट्रिय टिम जसरी भएपनि अघि बढ्छ। म विश्वस्त छु, यो सबै कुरा दुई तिन दिनमै सल्टनेछ : पुबुदु

नेपालभ्युज

पुबुदुले भने : क्यान र खेलाडीबीचको विवाद २–३ दिनमै सल्टिनेछ
?

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेट खेलाडीबिचको हाल चलिरहेको विवाद २–३ दिनभित्रै सल्टने दाबी नवनियुक्त प्रशिक्षक पुबुद दासनायकेले गरेका छन्। बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन्। नेपाली टिमको कप्तानका रुपमा भने सन्दीप लामिछाने नै कायम रहने उनले बताए।

“मैले दुबै पक्षसँग बसेर छलफल गरे, खेलाडीहरुसँग त धेरै लामो समय बसे। क्यानले सन्दीप लामिछानेलाई कप्तान बनाएको निर्णय भने फिर्ता गर्दैन। कुनै पनि क्रिकेट बोर्डसँग कप्तान फेर्ने अधिकार रहन्छ। जसको हामीले सम्मान गर्नुपर्छ,” पुबुदुले भने, ‘‘तर कारबाहीमा परेका चार खेलाडीलाई ६ महीना वार्षिक सम्झौता बाहिर राख्ने जुन निर्णय गरिएको थियो, त्यो फिर्ता गर्न क्यान लचिलो भएको छ। मलाई लाग्छ यो विवादमा हामी अन्त्यतर्फ छौं। खेलाडीको दृष्टीकोण बुझेर सबै खेलाडी र क्यानबीचा मैले खेलाडीमैत्री वातावरण बनाउन प्रयास गरिरहेको छु।”

कारबाहीमा परेका खेलाडीहरू पुन राष्ट्रिय टिममा फर्कनेमा आफु ढुक्क रहेको पुबुदुले बताए। जबकी, ती खेलाडीहरूले सशर्त क्यानका सबै कारबाही फिर्ता नभएरसम्म राष्ट्रिय टिमबाट नखेल्ने निर्णय लिइसकेका छन्।

यदी खेलाडीहरु आफ्नो अडानमा कायम रहे भने के हुन्छ ? पुबुदु भन्छन, ‘‘खेलाडीहरुले यस्तो गर्छन् भन्ने मलाई लाग्दैन। तर यदी गरिहाले पनि कोही व्यक्तिका लागि सिंगो टिम रोकिने हुँदैन। राष्ट्रिय टिम जसरी भएपनि अघि बढ्छ। म विश्वस्त छु, यो सबै कुरा दुई तिन दिनमै सल्टनेछ।”

यस्तो छ भावी योजना

कार्यक्रममा पुबुदुले नेपाली टिमको भावी योजना पनि सुनाए। करिब ४५ दिन पछि सुरु हुने टी–ट्वान्टी विश्व कप छनोट प्रतियागिताको लागि दुई चरणमा क्लोज क्याम्प राख्ने तयारी गरेको उनले बताए।

पहिलो चरणमा क्लोज क्याम्पका लागि शुरुमा ३० खेलाडीको छनोट हुनेछ। यसका लागि भोलीसम्म छनोट प्रक्रिया सकेर खेलाडी दर्ताको काम सकिनेछ।

यसपछि शनिबारदेखि नै पहिलो चरण्को क्लोज क्याम्प सुरु गरिने क्यानले जनाएको छ। हाल नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक सम्झौतामा रहेका र नरहेका सबै खेलाडी यो क्याम्पमा पर्न सक्नेछन्।

क्याम्पमा बस्ने खेलाडीले २५ पुसदेखि हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि सहभागिता जनाउनेछन्। यो प्रतियोगिताको प्रदर्शनको आधारमा दोस्रो चरणको क्लोज क्याम्पका लागि अन्तिम १४ सदस्यीय राष्ट्रिय टिमको छनोट हुनेछ।

चार वर्षदेखि नेपाली क्रिकेट खेलाडीको प्रदर्शन नजिकबाट नियाल्न नपाएकाले अहिलेका सबै खेलाडीको खेल हेर्ने मौकाको रुपमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई आफुले लिएको पुबुदुको धारणा छ।

हुन त यो प्रतियोगिता एकदिवसिय शैलीको प्रतियोगिता हो। तर, आउँदो विश्वकपको तयारीलाई ध्यानमा राखेर यो पटक टी–ट्वान्टी फम्र्याटमा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषदलाई क्यानले आग्रह गरिसकेको छ।

यसपछि, आईसीसी विश्व लिग डिभिजन–२ को तयारीका लागि एकदिवसिय फम्र्याटको मेयर कप आयोजना गर्ने क्यानको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved