‘कोभ्याक्सले खोप पठायो, डाइलुएन्ट र सिरिन्ज पठाएन’

नेपालभ्युज

‘कोभ्याक्सले खोप पठायो, डाइलुएन्ट र सिरिन्ज पठाएन’

काठमाडौं। नेपालले कोभ्यास सुविधाअन्तर्गत ६ लाख ६४ हजार डोज फाइजर खोप प्राप्त गरेको थियो। १३ पुसबाट आठ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी पनि भइसकेको थियो।

तर, फाइजर खोपमा मिसाउनुपर्ने घोलक ‘डाइलुएन्ट’ र आवश्यक सिरिन्ज (०.३ एम एल ) नआएपछि अहिले खोप कार्यक्रम स्थगित भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले बताए।

‘‘काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेत गरी (१२ देखि १७ वर्ष) उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भनिएका ८ जिल्लामा मात्र सिरिन्जको अभाव भएको हो,’’ अधिकारीले भने,‘‘तर सञ्चारमाध्यममा देशैभर सिरिन्ज अभाव हुँदा खोप अभियान प्रभावित बनेको समाचार आए। त्यस्तो होइन, अन्य जिल्लामा खोप अभियान तिव्र रुपमा सञ्चालन भइरहेको छ।’’

स्वास्थ विभागअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल भन्छन् ‘‘६ लाख ६४ हजार डोजसँगै त्यतिनै सिरिन्ज आउनु पर्ने हो। तर यो पटक के कारण गर्दा आएन, थाहा भएन। त्यसकारण फाइजर खोप लगाउने भनिएका जिल्लामा सिरिन्ज अभाव भएको साँचो हो। अन्य जिल्लामा खोप अभियान चलिरहेकै छ।’’

(०.३ एम एल) सिरिन्ज र ‘डाइलुएन्ट’ फाइजर खोपको विशेषताअनुसार बनेकाले बाहिर किन्न नपाइने उनले बताए। ‘‘यो मापदण्डको सिरिन्ज र डाइलुएन्ट पनि कोभ्यासले नै उपलब्ध गराउनुपर्ने हुन्छ। बाहिर किनेर हुँदैन। डाइलुएन्ट आज (बुधबार) आउने कुरा छ। सिरिन्ज कहिले आउँछ थाहा भएन।’’

अपडेट : फाइजर खोपका लागि आवश्यक डाइलुएन्ट बुधबार नेपाल आइपुगेको जानकारी  स्वास्थ सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले दिए। सिरिन्ज पुस २० मा नेपाल पठाउने जानकारी कोभ्याक्सले गराएको पनि उनले बताए। स्थगित भएको खोप अभियान यसपछिमात्रै शुरु हुने उनले बताए।

 यी अस्पतालमा चलिरहको छ खोप कार्यक्रम

(१२-१७)  वर्ष उमेर समूहलाई लगाइने भनिएको फाइजर खोप अभियान अहिलेलाई स्थगित भएपनि अन्य खोपहरू लगाउने काम चलिरहेको छ। सरकारले पुस मसान्तसम्म लक्षित समुहको ६६ प्रतिशतलाई खोप लगाइसक्ने भनेको छ। त्यस्तै, चैतसम्म लक्षित समुहको शतप्रतिशतलाई खोप लगाइसक्ने लक्ष्य छ। आजसम्म लक्षित समुहको ६९ दशमलब २ प्रतिशतले कम्तिमा एक मात्र डोज लगाएका छन् भने ५१ दशमलव ३ प्रतिशतले मात्रै पूर्ण डोज लगाएका छन्। सरकारले १८ वर्षभन्दा माथि सबैजनालाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गर्दैै आइरहेको छ।

काठमाडौं जिल्लामा खोप सञ्चालन हुने अस्पताल
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु

सहिद मेमोरियल अस्पताल, कलंकी

लोट्से भवन, नयाँ बसपार्क

वीरेन्द्र सैनिक अस्पताल, छाउनी

नेपाल प्रहरी अस्पताल, महराजगञ्ज

वीर अस्पताल, महाबौद्ध

वयोधा अस्पताल, बल्खु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

परोपकार प्रसूतीगृह तथा स्त्रीरोग अस्पताल, थापाथली

निजामती कर्मचारी अस्पताल मिनभवन
(यी अस्पतालहरुबाट भेरोसेल, कोमिसिल्ड र एस्ट्राजेनेका खोप बिहान १० देखि ३ बजेसम्म लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।)

ललितपुर जिल्लामा खोप सञ्चालन हुने स्थान
पाटन अस्पताल

लुभु प्राथमिक स्वास्थ्य केन्द्र

इमाडोल स्वास्थ्य चौकी

छवा–बहाल जनस्वास्थ्य शाखा

सैबु स्वास्थ्य चौकी

भट्टेडाँडा स्वास्थ्य चौकी

बज्रबाराही चापागाउँ अस्पताल

बाडेगाउँ प्राथमिक स्वास्थ्य केन्द्र

लेले प्राथमिक स्वास्थ्य केन्द्र

चौघरे स्वास्थ्य चौकी

गोटिखेल स्वास्थ्य चौकी

भक्तपुर जिल्लामा खोप सञ्चालन हुने स्थान

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, थिमी ( बुधबार र शुक्रबार बिहान ११ बजे देखि ३ बजे सम्म )

ख्वप अस्पताल च्यामसिंह, भक्तपुर ( बिदाको दिन बाहेक प्रत्येक दिन बिहान १० बजे देखि १ बजेसम्म)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved