इँटाभट्टामा विवश बालमजदुर भन्छन् : पढ्न जान्छुभन्दा घर छोडेर जा भन्नुहुन्छ

२०७५ सालदेखि बालश्रममुक्त इँटाभट्टा अभियान सञ्चालित छ। तर कतै काहीँ पनि इँटाभट्टा बालश्रममुक्त छैनन्। भक्तपुर जिल्लामा मात्र सानाठूला गरी ६२ ओटा इँटाभट्टा सञ्चालनमा छन्। जहाँ ३० हजारभन्दा बढी कामदार छन्।

इँटाभट्टामा विवश बालमजदुर भन्छन् : पढ्न जान्छुभन्दा घर छोडेर जा भन्नुहुन्छ

काठमाडौं। पुसको कठ्याग्रिँदो चिसो। एकसरो मैलो कपडा। महिनौंदेखि ननुहाएजस्तो देखिन्थ्यो उनको कपाल। थकित अनुहारमा थिइन् उनी। कलमको सहारामा अक्षरहरसँग खेल्नुपर्ने उमेरमा उनी माटोसँग खेल्न बाध्य छिन्।

उनलाई कापी कलम लिएर स्कुल जाने चाहना भने नभएको होइन। तर पारिवारिक समस्याले उनी इँटा उद्योगमा काम गर्न आइपुगेकी छन्।

एक महिनाअघि सलार्हीबाट भक्तपुरको सुडालमा आइपुगेकी हुन् उनी। सोमबार साढे २ बजे सुडालमा पुग्दा सुनिता मगर इँटा बनाइसकेर थकित अवस्थामा बसिरहेकी थिइन्। १३ वर्षीया मगर सलार्हीबाट पहिलो पटक इँटा बनाउन भक्तपुर आएकी हुन्।

“शुरुमा इँटा बनाउन नै आएन”, सुनिता भन्छिन्, “पाँच दिन लगाएर बल्ल सिकें।” मन नलागी नलागी भए पनि इँटा बनाउनुपरेको उनी बताउँछिन्। “मलाई त यो काम गर्न मनै लाग्दैन, बेलुका ११ बजेसम्म इँटा हान्नुपर्छ, खाना खाएर निदाउन लाग्दा उठिहाल्नुपर्छ ”, मगर भन्छिन्, “बुबाले बिहान एक बजे नै उठाउनुहुन्छ, थकाइ नै मरेको हुँदैन, उठ्न मन लाग्दैन त्यही नि बुबा उठेपछि उठ्नैपर्छ।” यसरी काम गर्दा निकै हात खुट्टा दुख्ने उनी बताउँछिन्।

स्कुल जान मन हुँदाहुँदै पनि बुबासँग भक्तपुर आउनुपरेको उनले गुनासो गरिन्।

सुनिताले कक्षा पाँचसम्म पढेकी छन्। उनमा पढाइप्रतिको मोह घटेको छैन। भन्छिन्, “पढ्न त मन छ नि कसले पढाउँछ ? मेरो आमा पोइला गइन् रे, आमाको अनुहारसमेत थाहा छैन, कहिलेकाहीँ फोनमा कुरा हुन्छ। लिन आउँछु भन्छिन् तर कहिल्यै आउँदिनन्।”

आफू डेढ वर्षको हुँदा आमाले छाडेर विदेश गएको काकीबाट सुनिताले थाहा पाएकी हुन्। “काकाकोमा बस्दा स्कुल जान पाउँथें, अहिले बुबाले स्कुल जान दिनुहुन्न”, उनी दुःख पोख्छिन्, “स्कुल जान्छुभन्दा भन्दै बुबाले लिएर आउनुभयो।”

सल्यानका विजय थापाको अवस्था पनि उस्तै छ। उनलाई पढाइप्रति एकदमै लगाव छ। कक्षामा सधैं पहिलो/दोस्रो हुने विजय कक्षा ५ मा पढ्दै थिए। तर आमाबुबा इँटा उद्योगमा काम गर्न आउने भएपछि उनी पनि बाध्य भएर भक्तपुरको जितपुर आइपुगे। पढाइ पनि छुट्यो।

नाइके (इँटा भट्टामा कामदार ल्याउने मान्छे) ले छोरी पनि लाँदा हुन्छ भनेपछि बुबाले आफूलाई लिएर आएको उनी बताउँछिन्। तर भट्टा सञ्चालकले अनौपचारिक कक्षा सञ्चालन गरे पनि बुवाले जान नदिएका उनले दुःख पोखिन्।

सल्यानका विजय थापाको अवस्था पनि उस्तै छ। उनलाई पढाइप्रति एकदमै लगाव छ। कक्षामा सधैं पहिलो/दोस्रो हुने विजय कक्षा ५ मा पढ्दै थिए। तर आमाबुबा इँटा उद्योगमा काम गर्न आउने भएपछि उनी पनि बाध्य भएर भक्तपुरको जितपुर आइपुगे। पढाइ पनि छुट्यो।

१३ वर्षीय विजयसहित ११ वर्षीय उनका भाइ र बुबा आमा एक महिनाअघि जितपुर आएका थिए।

अघिल्लो वर्ष पनि उनी भक्तपुरमा इँटा बनाउन आएका थिए। “इँटा बनाउन मनै लाग्दैन, पढ्न मात्र जाँगर लाग्छ”, विजय भन्छन्, “कोरोना आएर स्कुल जान पा’को थिइनँ, बल्ल स्कुल लागेको थियो, बुबाले यता लिएर आउनुभयो।” उनी स्कुलमा कार्यक्रम भएको बेला दौडमा भाग लिन्थे। भन्छन्, “सधैं पहिलो हुन्थें, मसँग कत्ति वटा मेडल छ।”

आफूलाई पढ्न रहर लागेर भने पनि इँटा बनाउनुपर्छ भन्दै आमाले गाली गर्ने गरेको उनी बताउँछन्। भन्छन्, “कहिलेकाहीँ पढ्न जान्छुभन्दा घर छोडेर जा भन्नुहुन्छ।” पहिलो पटक इँटा बनाउन आउँदा पढ्न नपाएका उनले बल्लतल्ल निवेदन दिएर परीक्षा दिन पाए। “घरमा मन लगाएर पढें अनि दोस्रो भएँ,” विजयले अघिल्लो वर्षको बाध्यता सुनाए।

सुनिताको जस्तै विजयलाई लाई पनि भट्टासाहुले अनौपचारिक कक्षा चलाएर पढ्न जान दिएको थियो। तर बुवाआमाले जान नदिएका दुःख सुनाउँछन् उनी। तर विजयलाई बुवाआमाले वैशाखमा घर गएर पढ्न पठाउँछन् भन्ने आश छ। त्यही भएर उनी चुपचाप काम गरिरहेका छन्।

विजय बुबासँग प्रतिस्पर्धा गरेर इँटा बनाउँछन्। भन्छन्, “दिउँसोभन्दा राति डेक बजाएर काम गर्न मन लाग्छ।”

सल्लानमा विजयका बुवालाई घर बनाउने क्रममा ऋण लाग्यो। त्यही ऋण तिर्न विजयलाई बुवाले सँगै भक्तपुर ल्याए। “छोराहरूलाई मात्र घरमा राख्दा झगडा गर्छन्, केही अन्होनी होला भन्ने डरले लिएर आयौं”, विजयकी आमा भन्छिन्, “यहाँ पढाउने भनेको कुरा मिलेन, वैशाखमा स्कुलमा निवेदन दिएर परीक्षा दिन लगाउनुपर्ला।” विजयका ११ वर्षका भाइ पनि इँटाभट्टामै काम गर्छन्।

त्यस्तै १७ वर्षीय सुस्मिता तामाङको कथाव्यथा पनि विजय र सुनिताको भन्दा खासै फरक छैन। कापी-किताब भरिएको झोला बोक्नुपर्ने काँधमा सुस्मिता पनि इँटाको भारी बोकिरहेछिन्। उनी दुई हप्ताअघि रोल्पाबाट इँटा उद्योगमा काम गर्न आइपुगेकी हुन्। उनी अघिल्लो वर्ष पनि इँटा उद्योगमा काम गर्न आएकी थिइन्।

विजयसँगै सल्यानमा एकै स्कुलमा पढ्ने लीला अब अर्को वर्ष कक्षा १० दोहोर्‍याएर पढ्ने सुरमा छिन्। “आमाबुबाले यो सालमात्र जाने, अर्को साल पढौंला भनेर कक्षा नौ र पाँचमा पढ्ने भाइ पनि लिएर आउनुभ’को छ, साथीसँग फोनमा कुरा गर्छु, स्कुलमा पढाइ भइरको सुनाउँछन्, फारम भर्न पाको भए इक्जाम दिन पाउथें अब के गर्नु?” लीला पढ्न नपाएको दुःख सुनाउँछिन्।

सुस्मिता एक खेपमा १६ ओटा इँटा बोक्छिन्। “इँटा राम्रोसँग सुकेको हुँदैन त्यसैले एक-दुई खेप बोक्दा नै गलिसक्छु,” सुस्मिता पीडा सुनाउँछिन्, “भट्टा नजिकैको इँटा बोक्न त्यति गाह्रो हुँदैन, कहिलेकाहीँ टाढाको पनि बोक्नुपर्छ।”

कक्षा १० मा पढ्ने १६ वर्षीया लीला जयनेपालीले इँटा बनाउन आउनुपर्ने भएकाले एसईई फारम नै भर्न पाइनन्। बुवाआमाले ‍इँटा बनाउन ल्याएकाले उनी परीक्षा दिनबाट वञ्चित भइन्।

विजयसँगै सल्यानमा एकै स्कुलमा पढ्ने लीला अब अर्को वर्ष कक्षा १० दोहोर्‍याएर पढ्ने सुरमा छिन्। “आमाबुबाले यो सालमात्र जाने, अर्को साल पढौंला भनेर कक्षा नौ र पाँचमा पढ्ने भाइ पनि लिएर आउनुभ’को छ।” “साथीसँग फोनमा कुरा गर्छु, स्कुलमा पढाइ भइरको सुनाउँछन्, फारम भर्न पाको भए इक्जाम दिन पाउथें अब के गर्नु?” लीला पढ्न नपाएको दुःख सुनाउँछिन्।

लीलालाई परीक्षा दिन नपाउने हो कि भन्ने पीर पनि छ। भन्छिन्, “अब यता पढ्न पनि मिल्दैन, एक वर्ष कुर्नैपर्‍यो।” उनी थप्छिन्, “एसईईको फारम नभरेपछि सरले सोध्दा घरबाट इँटा बनाउन जाने भन्नुभको छ भन्दा एसईई आइसक्यो नजाऊ भन्नुभएको थियो, घरबाट जानी भनेपछि आएँ।”

स्याङजाका १५ वर्षीय तिलक मगरले कक्षा २ सम्म मात्र पढेका छन्। उनले पढाइ छोडिसके। बुबासँग भक्तपुरको सुडाल आइपुगेका उनले सानैमा बिरामी हुँदा ढिला पढाइ शुरु गरेका थिए। तर पछि पनि तिलकले पढाइलाई निरन्तरता दिन पाएनन्। कान कम सुन्ने तिलकको बोली पनि प्रस्ट छैन। तर मिहिनेती छन्। दिनमा १५ सय बढी इँटा बनाउन सक्छन्। तर उनले पनि यहाँ स्कुल जान पाएनन्।

सल्यानका १५ वर्षीय मोहन मगरले कक्षा ७ सम्म पढे। अनि बुबासँगै इँटा बनाउन भक्तपुर आए। परिवारको आर्थिक अवस्था कमजोर भएकाले इँटा बनाउन आउनुपरेको मोहन पढ्न नपाएको दुःख पोख्छन्, “दिनमा लगभग १५ सय इँटा बनाउँछु, कहिले चार बजेदेखि बनाउँछौं कहिले ६ बजेदेखि, पढ्न रहर छ नि परिवारको अवस्थाले स्कुल जान पाउँदिनँ।”

यी हुन् भक्तपुरका विविध इँटाभट्टामा भेटिएका चाहेर पनि विद्यालय जान नपाएका बालबालिकाका र तिनको हालत

कहीँकतै छैन बालबालिका नभएका इँटाभट्टा, बालश्रम अन्त्य कानूनमा मात्र 

२०७५ सालदेखि बालश्रममुक्त इँटाभट्टा अभियान सञ्चालित छ। तर माथिका यी उदाहरणले प्रस्ट पार्छ, कतै काहीँ पनि इँटाभट्टा बालश्रममुक्त छैनन्।भक्तपुर जिल्लामा मात्र सानाठूला गरी ६२ ओटा इँटाभट्टा सञ्चालनमा छन्। जहाँ ३० हजारभन्दा बढी कामदार रहेका भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याम्बा बताउँछन्।

राष्ट्रिय मानवअधिकार आयोगको राष्ट्रिय प्रतिवेदन २०१३-२०१५ अनुसार इँट्टा उद्योगमा उपत्यकामा १३ हजार ७ सय १५ र उपत्यकाबाहिर १४ हजार ६१८ जना बालश्रमिक छन्।

नेपालको संविधान (२०७२) ले मौलिक हक भनेर धारा ३९ मा बालबालिकाको हकको व्यवस्था गरेको छ। जहाँ बालबालिकालाई कलकारखाना, खानी वा अन्य यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने, कसैबाट शोषणजन्य काम भए दण्डनीय हुने र क्षतिपूर्ति पाउने तथा बालबालिकाले सामाजिक सुरक्षा प्राप्त गर्नेलगायतका हक व्यवस्था गरेको छ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ‘नेपालमा १४ वर्ष उमेर नपुगेका बालबालिकालाई काममा लगाउन पाइँदैन, यसविपरीत कसैले काममा लगाएमा तीन महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ लेखिएको छ।

यतिमात्र होइन, १४ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई हल्का खालका काममा लगाउँदा आमाबाबु वा अभिभावकको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ। त्यसको जानकारी श्रम कार्यालयलाई दिनुपर्ने, दिनको ६ घण्टाभन्दा बढी तथा रातिमा काममा लगाउन नहुनेलगायत व्यवस्था छ। बालबालिकालाई ‍जोखिमपूर्ण श्रममा लगाउन पनि नहुने कानूनी व्यवस्था छ। यसविपरीत कसैले जोखिमपूर्ण काम लगाएमा १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

त्यस्तै बालश्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६३, बालबालिकासम्बन्धी ऐन, २०४८ ले बालश्रमविरुद्ध प्रभावकारी कार्य लागू गर्न पर्याप्त कानुनी आधार प्रदान गरेको छ।

“अभिभावकले नै ल्याउँछन् इँटाभट्टामा”

इँट्टा उद्योग बालबालिकाका लागि निकै जोखिमपूर्ण कार्यक्षेत्र हो। यसलाई स्वीकार्छन् भक्तपुर इँटा व्यवसायी संघका अध्यक्ष ह्याम्बा। त्यही भएर अहिले इँटाभट्टामा बाल मजदुर नराखेको उनी दाबी गर्छन्। उनका अनुसार आमा बुबाले आफ्ना सन्तानलाई भट्टामा ल्याएर काम लगाउने गरेका छन्। ह्याम्बा भन्छन्, “इँटाभट्टा सञ्चालकले अनौपचारिक कक्षा दुई घण्टा सञ्चालन गरेको छ, धेरैजसो पढ्न जान्छन् तर केही अभिभावकले भने पढ्न पठाउँदैनन्।”

अभिभाकहरूमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना नै नभएकाले आफूहरूले भन्दा पनि नमान्ने ह्याम्बाले तर्क गरे। भन्छन्, “हामीले भन्दा उनीहरूले मान्दैनन्, अनौपचारिक स्कुलसमेत पठाउँदैनन्।”

अभिभावककै कारण इँटाभट्टा बालश्रम मुक्त बनाउन नसकिएको ह्याम्बाले तर्क गरे। “बच्चालाई काम लगाउँदैनौं, उनीहरूका अभिभावकले सहयोग गर्न लगाउँछन्”, उनी भन्छन्, “इँटाभट्टाको काम बालबालकाका लागि होइन् उनीहरूले गर्न पनि सक्दैनन्।”

नाइकेलाई बच्चालाई नल्याउनू भनेर पटक पटक भन्दा पनि बालबालिका इँटा भट्टामा आइपुगेका र अभिभावकलाई आफ्ना छोराछोरी काममा नलगाउनू भने पनि नमानेका उनले बताए।

बालश्रम निवारण राष्ट्रिय गुरुयोजना (२०७५–८५) ले २०७९ सम्म अमर्यादित र शोषणयुक्त बालश्रमको अन्त्य गर्ने र २०८२ सम्म सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन र तथ्यांक विभागद्वारा संयुक्त रूपमा प्रकाशित ‘नेपाल बाल श्रम प्रतिवेदन, २०२१’ २०१८ मा ११ लाख बालश्रमिक रहेको देखाएको छ।

सन् २००८ मा नेपालमा १६ लाख बालश्रमिक थिए। २००८ को तुलनामा नेपालमा बाल श्रमिक संख्या घट्दो भए पनि वर्तमान महामारीको झन् बढ्न सक्ने उल्लेख गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले पनि बालमैत्री स्थानीय शासन अपनाउने तयारी गरिरहेको छ। स्थानीय तहले ५१ ओटा सूचकांक पूरा गर्नुपर्नेमा ४५ ओटा पूरा गरिकसकेको नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन्। अन्य ६ ओटा सूचकांक पनि क्रमबद्ध रूपमा पूरा गरी फागुन मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा तयारी भइरहेको उनले बताइन्।

“स्थानीय तहमा सञ्चालन भइरहेको धेरैजसो इँटाभट्टामा बालश्रम भइरहेको छैन। केहीमा भएको जानकारी आएको छ। केही दिनमा उद्योग सञ्चालकसँग बैठक राख्छौं”, बास्तोला भन्छिन्, “उद्योग सञ्चालकलाई काम गर्न आएका मजदुरका छोराछोरीलाई पढाउन लगाउँछौं, नमाने उद्योगधन्दा खारेज गरिदिने चेतावनी दिन्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved