दैनिक ५ लाखलाई खोप लगाउन प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

दैनिक ५ लाखलाई खोप लगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र ७५ लाख जनसंख्यालाई कोभिड १९ खोप खोप लगाइदिन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।

सोमबार स्वास्थ सचिव डा.रोशन पोखरेललाई बालुवाटारमा बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्।

गत आइतबार एकैदिन ५ लाख ६८ हजारजनालाई खोप लगाइएको थियो। तर, सोमबार ३ लाख ९८ हजार १९५ जनालाई मात्र खोप लगाइएको छ।

पुस मसान्तभित्र लक्षित जनसंख्या (१ करोड ९९ लाख २२ हजार १ सय ६४) को ६६ प्रतिशतलाई पूर्ण खोपको मात्रा लगाइदिने सरकारको लक्ष्य छ।

लक्षित जनसंख्या भन्नाले १८ वर्ष उमेर पार गरेको जनसंख्यालाई बुझिन्छ। यही लक्ष्य पूरा गर्नका लागि पछिल्लो समय खोप अभियानलाई तिव्र रुपमा अघि बढाइएको हो।
१२ पुससम्ममा नेपालभर दुई करोड ४७ लाख ४० हजार २९६ जनाले कम्तिमा खोपको एक डोज लगाइसकेका छन्, तर, पूर्ण डोज लगाउनेको संख्या आधा पनि छैन।

यसमध्ये १ करोड १ लाख ६६ हजार ५ सय ४ जनाले मात्रै पूर्ण डोज लगाएका छन्।

‘‘सोमबार मूख्यसचिवको नेतृत्वमा बसेको बैठकमा प्रधानमन्त्रीले पुस मसान्तसम्म थप ७५ लाख खोप लगाइसक्नु पर्ने, बालबालिकालाई लगाइरहेको मोर्डना खोप पनि पुससम्म लगाइसक्नु पर्ने, मेडिकल कलेज र निजी अस्पतालबाट पनि खोप अभियान सञ्चालन गर्ने र सक्दो चाँडो सबैलाई खोपको दायरासम्म पु¥याउन निर्देशन दिनु भएको छ। अब खोप अभियान तिव्र रुपमा अघि बढ्छ,” प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार डा.आरपी विच्छाले भने।

छिमेकी राष्ट्र भारतमा ओमिक्रोनको त्रासले रात्रीकालीन कफ्र्यू नै लगाउनुपर्ने अवस्था सिर्जना भइसकेको छ। नेपालमा पनि चुनौति थपिएका कारण खोप अभियानलाई तिव्रता दिन लागिएको उनले बताए।

“भारतमा ओमिक्रोन तिव्र गतिमा फैलिरहेकाले नेपालमा थप समस्या पारेको छ”,उनले भने, “इन्डियामा आईसकेको भाइरस नेपालमा तिव्र गतिमा फैलिनु भन्दा पहिले नै ६६ प्रतिशतलाई खोप दिन सकियो भने ठुलो उपलब्धी हुन्थ्यो र जनतालाई केही हदसम्म भएपनि सुरक्षित राख्न सकिन्थ्यो, संक्रमणबाट बच्ने एक मात्र प्रमुख उपाय भनेको खोप नै हो।”

लक्षित समूहको ६६ प्रतिशतलाई खोप लगाइसकेपछि माघ महिनामा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउने सरकारको तयारी छ।

‘अहिले फाइजर खोप आइसकेको छैन। लक्षित जनसंख्याको ६६ प्रतिशतलाई पुस मसान्तमै खोप लगाउने र माघ लागेपछि फाइजर खोप ल्याउने, अनि माघभित्रै ५ देखि ११ वर्षका बालबालिकालाई यो खोप लगाउने तयारी छ,’’डा विच्छाले भने।

सरकारले बुस्टर डोजका विषयमा पनि छलफल गरिरहेको उनले बताए।

‘‘बुस्टर डोज दिनेबारे केही समय पहिलेदेखि नै छलफल चलिरहेको छ,”उनले भने, “६६ प्रतिशतलाई खोप लगाइसकेपछि दिने कि भन्ने कुरा छ तर कुन समुहलाई पहिलो प्रथामिकतामा राख्ने भन्नेबारे अझै निर्णय भइसकेको छैन।”

नेपालमा हालसम्म ३ करोड ९२ लाख ३ हजार ९२७ डोज खोप भित्रिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कुन प्रदेशमा कतिले लगाए खोप?

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार हालसम्म सबैभन्दा बढी खोप गण्डकी प्रदेशमा लगाइएको छ। जहाँ ८९ प्रतिशतले पहिलो डोज लगाएका छन् भने ७२ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन्।

त्यसपछि सबैभन्दा बढी खोप बाग्मती प्रदेशमा लगाइएको छ। यहाँ,७९ प्रतिशतले पहिलो डोज र ७२ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन्।

तेस्रो नम्बरमा लुम्बिनी प्रदेश छ। जहाँ, ७८ प्रतिशतले पहिलो डोज र ४३ प्रतिशतले दोस्रो डोज लगाएका छन्।

सुदरपश्चिम प्रदेशमा ६७ प्रतिशतले पहिलो डोज र ४५ प्रतिशतले दोस्रो डोज लगाएका छन्। प्रदेश १ मा ६२ प्रतिशतले पहिलो डोज र ४८ प्रतिशतले दोस्रो डोज लगाएका छन्।

कर्णाली प्रदेशमा ५६ प्रतिशतले पहिलो डोज र ३९ प्रतिशतले दोस्रो डोज लगाएका छन्।
सबैभन्दा कम खोप प्रदेश २ मा लगाइएको छ । यहाँ ४९ प्रतिशतले पहिलो डोज र ३६ प्रतिशतले दोस्रो डोज लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved