रोजगारीको राम्रो विकल्प बन्दै पानीपुरी व्यवसाय

रोजगारीको राम्रो विकल्प बन्दै पानीपुरी व्यवसाय

काठमाडौं। काठमाडौं देशको राजधानी मात्रै होइन, लाखौं मानिसको सपना देख्ने थलो पनि हो। हरेक दिन देशभरबाट हजारौं मान्छे आफ्ना सपना पूरा गर्न काठमाडौं छिर्छन्। १५ वर्षअघि सोलुखुम्बुका दावा शेर्पा (वर्ष ६२) पनि सपरिवार काठमाडौं पसे। श्रीमतीसहित एक छोरासँग काठमाडौं आइपुग्दा उनीसँग खुशी जीवनयापनका खुद्ना- मसिना सपनासिवाय अरू केही थिएन।

उनको खल्ती खालि थियो। सबैभन्दा पहिले त उनलाई जहान बालबच्चाको शिर ढाक्न डेरा चाहिएको थियो। बौद्धमा डेरा खोजे। त्यसपछि, डेरा भाडा तिरेर सन्तानको लालनपालन गर्न जागिर चाहियो। जागिरका लागि भौतारिए। सपना त सानै थिए, डेरा भाडा तिरेर सन्तानलाई पढाउनु। तर अहँ उनका सपना पूरा गरिदिने कोही ‘फरिस्ता’ भेटिएन यो शहरमा।

जागिर नभेटेर हैरान भएपछि उनले योजना बनाए, अब आफै केही गर्नुपर्छ। ठूलो व्यवसाय गर्न सक्ने अवस्था थिएन। श्रीमतीसँग सल्लाह गरे, पुग-नपुग ५ हजार रुपैयाँ मात्र थियो उनीहरूसँग। केही नगरे भोकै पर्नुपर्थ्यो, अनि आँट गरेर त्यही पैसाले किने एउटा पुरानो ठेला र चुच्चेपाटीमा पानीपुरी व्यवसाय थाले। “पैसा धेरै थिएन, कम लगानीमा के गर्ने भन्दा श्रीमतीले पानीपुरी र चटपटे पसल थापौं भनिन्। ५ हजार लगानी गरेर पुरानो ठेलागाडा किन्यौं चुच्चेपाटीमा पानीपुरी व्यवसाय शुरु गर्‍यौँ,” उनले भने।

व्यवसाय त शुरु गरे, तर ग्राहक नआएपछि उनीहरूले हरेश खाइसकेका थिए। अनि केही सस्तोमा पानीपुरी र चटपटे बेच्न थाले। भन्छन्, “ग्राहक बढाउन अलि सस्तोमा दिन थाल्यौं र बिस्तारै ठेलाको अगाडि ग्राहकको भीड लाग्न थाल्यो।”

पानीपुरी बेचेरै जीविकोपार्जन गरिरहेको र छोरालाई पढाइरहेको बताउँछन् उनी। “हाम्रो जिविकोपार्जनको माध्यम नै यही हो, अहिले छोराले १२ पास गरेको छ अब उच्च शिक्षाका लागि विदेश पठाउने सपना देखेकाछौं,” उनले भने।

यस्तै शाँखुकी उमा श्रेष्ठ (वर्ष २३) को जीविकोपार्जनको माध्यम पनि पानीपुरी व्यवसाय हो। ३ वर्षअघि पाटनढोकामा पानीपुरी व्यवसाय गरिरहेकी उनी बिहानै खाना खाएर निस्किन्छिन्, दिनभरि पानीपुरी बेच्छिन् र झिसमिसे साँझमा डेरा फर्किन्छिन्। उनको दैनिकी यसैगरी चलिरहेको छ।

“स्कुल पढ्दा फेसबुकबाट मायाँ बस्यो, भागेर विवाह गर्‍यौँ,” उनी भन्छिन्, “विवाहपछि के गरेर जीवन धान्ने भनेर सताइरहेको थियो।” पानीपुरी व्यवसाय गरिरहेकी दिदी आफूलाई पनि त्यही व्यवसाय गर्न सुझाएपछि शुरु गरेको व्यवसायबाट अहिले घरको खर्च धानिरहेको उनी बताउँछिन्।

१० कक्षा पास गरेकी उनलाई जागिर गर्न मन थिएन। त्यसैले आफ्नै व्यवसाय भएकाले यसैमा खुशी रहेको उनी बताउँछिन्।

यस्तै टुँडीखेलको ठीक विपरितको सानो ढोकाबाट ओर्लदा भृकुटीमण्डपमा पानीपुरी बेचिरहेकी भेटिन्छिन् ढलकुमारी कार्की (वर्ष ५४)। उनी पनि जीवन सुन्दर बनाउने स-साना सपना देखेर २८ वर्षअघि संखुवासभाबाट काठमाडौं आएकी थिइन्। शुरुमा उनले भृकुटीमण्डपमै चप्पल व्यवसाय गरिन्, तर त्यसमा लगानी डुबेपछि पानीपुरी व्यवसायतर्फ आकर्षित भएको बताउँछिन् उनी। “श्रीमान चप्पल पसलमा बस्नुहुन्थ्यो, म काक्रो बेच्थेँ तर बाहिर बसेर काक्रो बेच्दा महानगरका कर्मचारीले दु:ख दिन थालेपछि पानीपुरी व्यवसाय शुरु गरेँ,” उनले बताइन्।

नियतिलाई स्वीकार गरिसकेकी उनी भन्छिन्,“परिस्थितिले जता लैजान्छ उतै ढल्किनु पर्ने रहेछ, गुजारा चलाउनैपर्यो, अहिले यसैले बाँचिएको छ।”

उनले पानीपुरी व्यवासय शुरु गरेको १२ वर्ष पुग्यो। यही व्यवसायबाट दुई छोरीलाई हुर्काएर बिहे गरेको र छोरालाई दुई साताअघि मात्रै विदेश पठाएको बताउँछिन् उनी। “छोराछोरी पढाउन, बढाउन काठमाडौं छिरेका बुढाबुढी एक्लै छौं, छोराछोरी लाखापाखा लागे,” लामो सुस्केरा तान्दै उनी भन्छिन्, “अब त उमेरले पनि नेटो काटिसक्यो, हात पाखुरा बजार्न सकिँदैन यो व्यवसाय गर्न त्यति गाह्रो छैन, गुजारा भइरहेको छ।”

हात-पाखुरा चलुन्जेल यही व्यवसाय गर्ने बताउँछिन् उनी, “यो व्यवसाय गर्न सजिलो छ, खर्च पनि कम लाग्छ र ग्राहक पनि आइराख्ने भएकाले घाटा पनि हुँदैन।”

भारतीय परिकार पानीपुरी भारत र नेपाललगायतका देशमा व्यवसायको माध्यम बनेको छ। काठमाडौं उपत्यकामा छोटो समयमा व्यवसायको उत्तम विकल्पका रूपमा स्थापित पानीपुरी व्यवसाय अहिले धेरैको रोजाइ बन्न थालेको छ। कम लगानीमा मनग्य आमदानी गर्न सकिने भएकाले यो व्यवसाय जीविकोपार्जनको राम्रो विकल्प बन्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved