साथीको प्रेम वियोगमा लेखिएको थियो ‘तिम्ले बाटो फेर्‍यौ अरे’

काठमाडौंस्थित अनामनगरको एमएमएस इन्टरटेनमेन्ट स्टुडियोमा मेलिना लिपसिङ दिँदै थिइन्। अन्तरामा लिपसिङ दिने बेला मेलिनाका ओठ काँपे, आँखा आँसुले भरिए, अचानक भावुक बनेकी मेलिनाले लिपसिङ दिन सकिनन्।

नेपालभ्युज

साथीको प्रेम वियोगमा लेखिएको थियो ‘तिम्ले बाटो फेर्‍यौ अरे’

काठमाडौं। पहिलो र दोस्रो संस्करणको सफलतापछि ‘तिम्ले बाटो फेर्‍यौ अरे’को तेस्रो संस्करण सार्वजनिक भएको छ।

६ वर्षअघि पहिलोपटक सार्वजनिक गीत आधिकारिक युट्युब च्यानलमार्फत मात्रै करीब २ करोड पटक हेरिएको छ भने ३ वर्षअघि सार्वजनिक दोस्रो संस्करणको भ्युज पनि करीब डेढ करोड पुग्नै लागेको छ। अहिले सार्वजनिक तेस्रो संस्करण दुई सातामा चार लाख ५७ हजार पटक हेरिएको छ।

साथीको प्रेम वियोगमा दर्पण राईले लेखेको यो गीतको तेस्रो संस्करणमा पनि मेलिना राईले नै स्वर दिएकी छन् भने संगीत भरेका छन् विक्रम राईले। मार्मिक वियोगात्मक शब्दका कारण पनि होला यो गीतलाई स्रोताले पनि उत्तिकै प्रेम गरेका छन्। यो गीत जति सर्वसाधारणबीच लोकप्रिय छ, त्यति नै मार्मिक छ यसको लेखन पृष्ठभूमि।

त्यतिबेला दर्पणका एक जना साथी सिंगापुर प्रहरीमा कार्यरत थिए। जागिरमै हुँदा उनको नेपालमा एक युवतीसँग प्रेम सम्बन्ध चल्यो। प्रेममा परेपछि प्रेमिकालाई भेट्ने उत्कट चाहनाले उनी छटपटीमा घर फर्किने दिन गन्दै औँला भाँच्न थाले। अन्तत: त्यो दिन पनि आयो,  उनी नेपाल आए। नेपाल आएपछि उनीहरूको त्यो प्रेम वैवाहिक सम्बन्धमा बदलियो। प्रेम गरेकै मान्छेलाई जीवनसाथीका रूपमा पाउँदा मख्ख थिए उनी। बिहेपछि लामो समय सँगै बस्न मिल्ने अवस्था थिएन, बिदा सकियो उनी डिउटीमा हाजिर हुन पुन: सिंगापुर हानिए।

जीवनसाथीसँग भविष्यका सपना देखिरहेका थिए उनी, तर अकस्मात उनको जीवनमा पहिरो खस्यो, केही महीनापछि उनले खबर सुने ‘श्रीमतीले अर्कैसँग बिहे गरिन्।’ यो खबरले विछिप्त उनी अन्तत: डिप्रेशनमा गए।

साथीको दु:ख नजिकबाट नियालिरहेका दर्पणको मन भारी थियो, त्यो भारी बिसाउन उनले लेखे,

‘तिमीले बाटो फेर्‍यौ अरे, अर्कैलाई हेर्‍यौ अरे

यो हल्ला छ तिमीले मेरो विश्वास तोड्यौ अरे’

गीत रेकर्ड भयो। टंक बुढाथोकीको संगीतमा मेलिना राई र राजेशपायल राईको आवाजमा मेल र फिमेल दुवै भर्जनमा गीत बजारमा आयो। त्यो समय यो गीतलाई यति रुचाइयो कि युवापुस्ताको मोबाइलमा मात्रै होइन सार्वजनिक बस र पसलहरूमा पनि बजिरहेको सुनिन्थ्यो। युट्युबमा सर्वाधिक हेरिएको आधुनिक गीतको सूचीमा पर्‍यो गीत। त्यसपछि सार्वजनिक दोस्रो संस्करण पनि उत्तिकै रुचाइयो।

तर दर्पणलाई साथीको कथा भनेर पुगेको छैन। उनी भन्छन्,‘‘यो नाम मात्रैको सिक्वेल होइन, यसको हरेक भर्सनको अघिल्लो भर्सनसँग सम्बन्ध छ। मलाई साथीको कथा भनेर पुगेकै छैन।” हरेक पटक साथीको त्यो अवस्थाले पिरोलेपछि शब्द लेखेको उनी बताउँछन्। भावुक हुँदै उनले भने, ‘‘मैले त साथीको कथा महशुस गरेर लेखेको थिएँ, तर यो कथा धेरैको जीवनसँग नजिक हुने रहेछ।”

यो गीतको एउटा अर्को पनि प्रसंग छ। घटना तीन वर्षअघि ‘तिमीले बाटो फेर्‍यौ अरे २’ को भिडियो सुटिङको बेलाको हो। काठमाडौंस्थित अनामनगरको एमएमएस इन्टरटेनमेन्ट स्टुडियोमा मेलिना लिपसिङ दिँदै थिइन्। अन्तरामा लिपसिङ दिने बेला मेलिनाका ओठ काँपे, आँखा आँसुले भरिए, अचानक भावुक बनेकी मेलिनाले लिपसिङ दिन सकिनन्।

‘‘किन रुनु भयो कुन्नि! गीतले छोएर हो कि! करीब आधा घण्टा सुटिङ रोकिएपछि त्यसपछि फेरि सुटिङ शुरु गरिएको थियो,” दर्पणले सम्झिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved