कांग्रेस प्रदेश २ अधिवेशन : निधिको गढमा देउवाको दोस्रो प्रहार

प्रदेश-२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ। यसलाई धेरैले कांग्रेसमा बन्ने सक्ने नयाँ समीकरणको रूपमा हेर्न थालेका छन्।

कांग्रेस प्रदेश २ अधिवेशन : निधिको गढमा देउवाको दोस्रो प्रहार

काठमाडौं। प्रदेश २ मा आज (बुधबार) नेपाली कांग्रेसले प्रदेश अधिवेशनमार्फत नेतृत्व चयन गर्दै छ।

७२ सदस्यीय कांग्रेसको प्रदेश समितिका लागि १ सय ८० जनाले उम्मेदवारी दिएका छन्। बुधबार एक बजेदेखि ५ बजेसम्म हुने मतदानले यी उम्मेदवारहरूको भाग्य परीक्षा हुँदैछ।

१४ औं महाधिवेशन हालै सम्पन्न भइसकेकाले धेरैले यसलाई महाधिवेशनपछि कांग्रेसमा बन्ने सक्ने नयाँ समीकरणको रूपमा हेर्न थालेका छन्।

केन्द्रीय महाधिवेशनमा सभापतिको दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाएका नेता विमलेन्द्र निधिले प्रदेश २ मा शेखर कोइरालासँग गठजोड गरेपछि यसले चासो गथपिएको छ।

प्रदेश २ निधिको गृहप्रदेश पनि भएकाले यसलाई धेरैले निधिको शक्ति प्रभावसँग जोडिएर हेर्ने गरेका छन्। केन्द्रीय महाधिवेशनमा सभापति उम्मेदवार बन्दा निधिले जम्मा २ सय ४९ मत ल्याएका थिए। उनको प्रभाव आफ्नै प्रदेशमा पनि कमजोर रहेको देखिएको थियो। प्रदेश २ बाट ८ सय मत महाधिवेशनमा थियो।

पहिलो चरणमा कमजोर प्रदर्शनपछि दोस्रो चरणमा दउवालाई सघाउन पुगेका निधिबारे धेरैको आकलन थियो- प्रदेश २ मा अब देउवाले निधिलाई सघाउलान्। तर महाधिवेशनको एक हप्तापछि भइरहेको प्रदेश २ को महाधिवेशनमा त्यस्तो देखिएन।

देउवालाई निःशर्त समर्थन गरेको भनेका निधि पुनः आफ्नै बाटो मात्रै लागेनन्। बरु उनलाई पार्टीभित्र कडा टक्कर दिइरहेको कोइराला समूहसँग नयाँ गठबन्धन बनाए। कोइराला समूहका नेता तथा प्रदेश २ को अधिवेशनका लागि जनकपुर पुगेका नेता चन्द्र भण्डारीले भइरहेको प्रदेश २ अधिवेशनलाई पार्टीभित्रको ‘चेक एन्ड ब्यालेन्स’ गेमको संज्ञा दिए। नेपालभ्यूजसँग कुरा गर्दै भण्डारीले जसले जिते पनि कांग्रेसकै साथीहरू नै जित्ने भएकाले आन्तरिक प्रतिस्पर्धालाई आफूहरूले सहज रूप लिएको बताए।

शक्ति संघर्ष

नेता भण्डारीले प्रदेश २ को अधिवेशनलाई समान्य रूपमै लिएको प्रतिक्रिया दिए पनि यो अधिवेशनलाई तीनै पक्षले महत्वका साथ लिएको देखिन्छ। पूर्वउपसभापति निधि यही अधिवेशनका लागि जनकपुर पुगेका छन् भने कोइराला पक्षबाट नेता भण्डारीसहित गुरु घिमिरेलगायत केन्द्रीय नेता पनि जनकपुर पुगेका छन्।

यसैगरी प्रधानमन्त्री तथा सभापति देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य उदयशम्शेर राणासहित महेन्द्र यादव, आनान्द ढुंगाना, रमेश रिजाललगायत नेताहरू जनकपुर पुगेर प्रदेश २ को अधिवेशनमा खटिरहेका छन्।

सार्वजनिक रूपमा नेताहरूले जे भने पनि प्रदेश २ को अधिवेशनमा सबै पक्षको केन्द्रीय तहबाटै देखिएको चासो र रणनीतिले यहाँ शक्ति संघर्ष चलिरहेको प्रस्ट देखिन्छ।

यद्यपि अहिलेसम्मको अवस्थामा देउवा पक्ष प्रदेश २ मा पनि निधि-शेखर समूहभन्दा बलियो देखिएको छ। नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रदेश अधिवेशनका लागि जनकपुरमा दुवै पक्षका केन्द्रीय नेताहरू बैठकदेखि समीकरण बनाउन व्यस्त रहेको बताए।

निधिको गढमा देउवाको दोस्रो प्रहार

लामो सहकार्य तोडर आफूविरुद्ध निधि उत्रिएपछि महाधिवेशन शुरुदेखि नै देउवा पक्षले प्रदेश २ सहित तराई मधेशमा विशेष नजर राखेको थियो। तराई मधेशका जिल्लाबाट कांग्रेसमा राम्रो संख्यामा महाधिवेशन प्रतिनिधि छानिएर आउने भएकाले होला देउवा शुरुदेखि नै निधिलाई काउन्टर दिने रणनीतिमा थिए। र प्रदेश २ मै महाधिवेशन प्रतिनिधि छान्ने क्रममा निधिलाई अल्पमतमा राखिदिएका थिए। गृहमन्त्री खाँड क्षेत्रीय अधिवेशनअघि नै प्रदेश २ पुगेर देउवाको पक्षमा माहोल बनाएका थिए।

१३ औं महाधिवेशन क्रममा देउवासँगै रहेका निधिले प्रदेश २ का आठै जिल्लामा आफूनिकट नेताहरूलाई जिल्ला सभापति बनाएका थिए। तर १४ औं महाधिवेशनमा आउँदा ती सबै जिल्ला सभापतिहरू तिनै निधिविरुद्ध उभिए। प्रदेश २ मा धनुषाबाहेक जिल्ला सभापति महाधिवेशन प्रतिनिधि छान्ने बेलादेखि नै देउवातिर लागेका थिए।

र त्यसकै दृश्य प्रदेश अधिवेशनमा पनि देखिएको छ। निधिनिकट कहलिएका प्रदेश २ का सासंदीय दलका नेता तथा प्रदेश मन्त्री रामसरोज यादवलाई रौतहट जिल्ला सभापति कृष्णा यादवले प्रदेश २ को सभापतिमा टक्कर दिइरहेका छन्।

त्यही भएर होला जानकारहरू देउवाले निधिको क्षेत्रमा लागातार काउन्टर दिन थालेको विश्लेषण गरिरहेका छन्। महाधिवेशन प्रतिनिधि छान्ने क्रममा निधिलाई कमजोर बनाएका देउवा पक्ष प्रदेश अधिवेशनमार्फत थप कमजोर बनाउने रणनीतिमा देखिन्छ।

देउवा पक्षका केन्द्रीय सदस्य उदय शम्शेर राणाले यसलाई अस्वीकार गर्छन्। प्रदेश २ अधिवेशनका लागि जनकपुर पुगेका राणा भन्छन्, “प्रदेश २ को अधिवेशनलाई त्यसरी विश्लेषण गर्न हुँदैन, यो पार्टीको प्रदेश अधिवेशन हो, जुन सामान्य र प्रजातान्त्रिक माध्यमबाट सम्पन्न भइरहेको छ।”

निधि-कोइराला गठजोडको स्वार्थ

निधिसँगै नेता कोइरालालाई प्रदेश २ मा सहकार्य गराउने भूमिकामा देखिएका थिए चन्द्र भण्डारी र नवनिर्वाचित महामन्त्री गगन थापा। यी दुवै नेता जनकपुर जाने कार्यक्रम सार्वजनिक भए पनि महामन्त्री थापा जनकपुर पुग्न सकेनन्।

यो समूहबाट प्रदेश समीकरणको टुंगो लगाउने काममा नेता गुरुराज घिमिरे र केन्द्रसँगको समन्वयको काम गर्ने गरी नेता भण्डारी जनकपुर पुगेका छन्। यसका साथै यी नेताहरूलाइ सघाउने रामकृष्ण यादव, तेजुलाल चौधरीदेखि युवा पुुस्ताका अजयबाबु शिवाकोटी, भुपेन्द्रजंग शाही सम्मका नेता जनकपुर पुगेका छन्।

महाधिवेशन प्रतिनिधि छान्ने क्रममा प्रदेश २ मा सबैभन्दा बलियो देउवा पक्ष देखिएको थियो भने दोस्रोमा कमजोरै भए पनि निधिको उपस्थिति थियो। कोइराला पक्षको प्रदेश २ मा अत्यन्तै कमजोर उपस्थित देखिएको थियो। त्यही भएर होला केन्द्रीय महामधिवेशनको दोस्रो चरणमा धोखा दिए पनि कोइराला पक्ष निधिसँग जोडिन पुग्यो।

निधि भन्ने देउवाले आफूलाई नसघाउने देखेपछि शेखरतिर लागे। तर शेखर निधिको गठजोड अहिलेको प्रदेश अधिवेशनमा विजय हासिल नगरे पनि यसले पछि राम्रो प्रभाव जमाउने सक्ने आकलन स्थानीय कांग्रेसका जानकारहरू दाबी गर्छन्। उनीहरू भन्छन्, “अहिले देउवा पक्षको सत्ताको प्रभाव र तुरुन्त महाधिवेशनमा सफल भएको घटनाले पनि असर पार्ने नै भयो तर विस्तारै यो उल्टिन सक्छ।

यस्तै विश्लेषण कोइराला पक्षका नेता भण्डारीको पनि छ। उनी भन्छन्, “१४ औ महाधिवेशन सकिएपछि अबको रणनीति १५ औं महाधिवेशन केन्द्रित हुन्छ, त्यही भएर तत्काल हारजितभन्दा यसले लामो समयसम्म प्रभाव पार्न सक्छ।”

भण्डारीले पार्टीभित्र एउटै समूह अत्यधिक शक्तिशाली भएर निस्केको खण्डमा पार्टीको आन्तरिक शक्ति सन्तुलन पनि खल्लबलिने खतरा रहेको भन्दै यसलाई शक्ति सन्तुलन गर्न खोजेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved