कांग्रेसको प्रदेश २ सभापतिमा रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी

नेपालभ्युज

कांग्रेसको प्रदेश २ सभापतिमा रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ताको लागि यतिखेर विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधिहरु अधिवेशनस्थल जनकपुृरधामस्थित गोपाल धर्मशालामा पुगेका छन्।

अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् भने नाम दर्ता गराइसकेका उम्मेदवारहरु आफ्ना प्यानल बनाउन जुटेका छन्। पार्टीको क्रियाशिल सदस्यता विवादका कारण केन्द्रीय महाधिवेशनपछि मात्रै प्रदेश २ मा अधिवेशन हुन लागेको हो।

यहाँ मंगलबार मनोनयन दर्ता र बुधबार नेतृत्वका लागि मतदान तय भएको छ। यस अधिवेशबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरु चयन हुन्छन्।

सभापतिका प्रत्यासी रामसरोज विमलेन्द्र निधि निकट र कृष्णा शेरबहादुर देउवा निकट मानिन्छन्।  रामसरोजलाई कांग्रेसको शेखर कोइराला पक्षले पनि समर्थन गरेको बताइएको छ।

उम्मेदवारी दर्तापछि रामसरोजले आफुलाई सबैको समर्थन रहेको दाबी गरे। उनले भने, ‘‘मलाई सबैको समर्थन रहेकोले मेरो जित सुनिश्चित छ । कांग्रेसभित्र गुट उपगुट समाप्त पारेर पार्टीलाई मजबुत बनाउनकै लागि मैले उम्मेदवारी दर्ता गराएको हुँ ।’’

त्यसैगरी संस्थापन खेमाका कृष्ण यादवले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्यानलबाट प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराएपछि कृष्णले आफू निर्वाचित भए पार्टीलाई झनै शशक्त बनाउने बताए। उनले कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश अधिवेशनमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाँण सोमबार राति जनकपुर आइपुगेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापति उम्मेदवार कृष्णा यादवको उम्मेदवारी दर्ता र चुनावी रणनीति बनाउन गृहमन्त्री खाँणसहित उदयशमशेर राणा, रामहरि खतिवडा, चित्रलेखा यादवलगायत देउवा पक्षका केन्द्रीय नेताहरु जनकपुर पुगेका हुन्।

त्यस्तै, शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरधाममा खटाएका छन्।

आठवटै जिल्लामा अधिवेशन बाँकी
प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता सहभागी छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ। कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो।

क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन हुन नसके पनि केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भने चयन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved