हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच अघि बढ्यो मर्जर प्रक्रिया

नेपालभ्युज

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच अघि बढ्यो मर्जर प्रक्रिया

काठमाडौं। मर्जरमा जाने चर्चा चलेको करीब दुई वर्षपछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। इन्भेष्टमेन्ट बैंकले यसअघि नै निर्णय गरिसकेकोमा आइतबार बसेको हिमालयन बैंकको बैठकले सर्वसम्मतिमा मर्जर प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

बैंकले यसै साताभित्र साधारणसभा बोलाउने निर्णय गर्नेछ, जसको मूल एजेण्डा लाभांशसहित इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुनेछ।

मर्जरमा गएपछि संयुक्त बैंकको नाम ‘हिमाल नेपाल इन्भेष्टमेन्ट बैंक’ हुनेछ, जसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हालका हिमालयन बैंकका सीईओ अशोक शमशेर राणा हुनेछन्। इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे डेपुटी सीईओ हुनेछन्। मर्जरपछि बैंकको अध्यक्षमा हाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष रहेका पृथ्वीबहादुर पाण्डेको नाम चर्चामा छ।

तर पाण्डे स्वयं भने अध्यक्षमा बस्न इच्छुक नभएको बताउँछन्। ‘‘अध्यक्षका लागि प्रस्ताव आइरहेको छ, तर मलाई अध्यक्षमा बस्न रहर भने छैन,नयाँ आओस् भन्ने हो,” नेपालभ्यूजसँग उनले भने, ‘‘अध्यक्ष कसलाई बनाउने भनेर बोर्ड बैठकले निर्णय गर्छ, त्यसकारण अहिल्यै भन्न सकिन्न।”

मर्जरपछि कर्मचारी पनि समायोजन गरेर जाने तयारी बैंकहरूले गरेका छन्।

२०७६ देखि नै मर्जरका लागि छलफल भइरहे पनि आन्तरिक सहमति नजुट्दा यी दुई बैंक मर्जरमा जान सकेका थिएनन्। यसअघि दुवै बैंकका अधिकारीहरूले २०७७/७८ को नयाँ आर्थिक वर्षसँगै संयुक्त कारोबार गर्ने तयारी भइरहेको बताएका थिए। तर अन्तिम समयमा आएर आन्तरिक सहमति जुटेको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved