बिएससी नर्सिङ पढाउन कलेजहरूको आनाकानी, विद्यार्थीको भविष्य अन्योलमा

निकै न्यून संख्यामा प्रवेश परीक्षामा उत्तीर्ण भएपछि चिकित्सा आयोगले कम विद्यार्थी पठाएपछि मेडिकल कलेजहरूले बिएससी नर्सिङ पढाउन आनाकानी गरिरहेछन्, जसले गर्दा त्यहाँ पठाइएका विद्यार्थीको भविष्य अन्योलमा परेको छ।

बिएससी नर्सिङ पढाउन कलेजहरूको आनाकानी, विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं। बिएससी नर्सिङ पढ्नका लागी चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा उत्तिर्णलाई पनि केही मेडिकल कलेजले पढाउन नमानेपछि उनीहरूको भविष्य अन्योलमा परेको छ। आफूले पढाइरहेको संख्या भन्दा निकै कम विद्यार्थी पठाइएको भन्दै उनीहरूले भर्ना लिन आनाकानी गरेका हुन्।

यो समस्याको शुरुआत भने प्रवेश परीक्षाको नतिजाबाट भएको हो।

चिकित्सा शिक्षा क्षेत्रमा भइरहेको बेथिती सुधार गर्न बनेको ‘चिकित्सा शिक्षा आयोग’ले यसे वर्ष पहिलोपटक बिएससी नर्सिङ लगायतका मेडिकल शिक्षाको प्रवेश परीक्षा  पहिलोपटक लिएको थियो।

बिएससी नर्सिङको प्रवेश परीक्षामा तीन हजार चार सय ७८ जना विद्यार्थीले सहभागिता जनाएका थिए जसमध्ये पाँच सय चारजना परीक्षार्थी उत्तीर्ण भएका थिए।

तीमध्ये तीन सय ४१ जना विद्यार्थीलाई भर्ना हुन ४० ओटा कलेजमा पठाउने गरी आयोगले २७ मंसीरमा सूचना जारी गरेको छ।  उत्तीर्ण भएका पाँच सय चारजनामध्ये तीन सय ४१ जना मात्र आयोगको सम्पर्कमा आएको सूचना अधिकारी सेमन्त राज कोइरालाले बताए।

“बाँकी रहेका एक सय ६३ जना विद्यार्थीमध्ये कोही आफू खुशी पढ्न नचाहेको त कोही कलेज पायक नभएकाले भर्ना नभएका छन्”, उनले भने।

प्रवेश परीक्षामा निकै कम पास भएपछि कलेजहरूमा अध्ययन गर्न पठाउने विद्यार्थी संख्या पनि स्वतः कम भएको आयोगका सदस्य सचिव डा.भोजराज शर्मा काफ्लेले बताए।

आयोगले पुनः २७ मंसिरमा समापन म्याचिङको नतिजा निकाल्दै चार जना विद्यार्थी थप गरेको थियो। ती विद्यार्थीहरूलाई ६ पुससम्ममा आयोगले पठाएको कलेजहरूमा भर्ना भइसक्नुपर्ने जनाएको छ।

पढाउन तयार छैनन् कलेज

आयोगले विराटनगरस्थित बिराट मेडिकल कलेजको बिएससी नर्सिङ पढाउने  क्षमता संख्या २० तोकेको छ। यस शैक्षिक सत्रमा पढाउन छात्रवृत्ति कोटामा उसले दुई जना विद्यार्थी पठाएको छ।

छात्रवृत्ति कोटामा पठाइएका ती दुई विद्यार्थीलाई मात्र नपढाउने कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्की बताउँछन्।

“हाम्रो कलेजमा बिएससी नर्सिङ पढाइ हुन लागेको यो पहिलो वर्ष हो, आयोगले पढ्नका लागि दुई जनामात्र पठाएको छ त्यसमाथि पनि छात्रवृत्तिमा मात्र कसरी कलेजले पढाउन शुरु गर्ने ?”, डा. कार्की प्रश्न गर्छन्, “आयोगलाई छात्रबृत्तिमै पढाउन भए पनि २० जना विद्यार्थी दिनुस् म निःशुल्क पढाई दिन्छु होइन भने यी दुई जना विद्यार्थी लैजानुस् भनिदिएको छु।”

“हाम्रो कलेजमा बिएससी नर्सिङ पढाइ हुन लागेको यो पहिलो वर्ष हो, आयोगले पढ्नका लागि दुई जनामात्र पठाएको छ त्यस माथि पनि छात्रवृत्तिमा मात्र कसरी कलेजले पढाउन शुरु गर्ने ?”, डा. कार्की प्रश्न गर्छन् ।

दुई जना विद्यार्थी पढाउन चार जना शिक्षक शिक्षक राख्न नसकिने उनको जिकिर छ।

ती विद्यार्थीलाई अरू कलेजले भर्ना गर्नुपर्ने उनको आग्रह छ। “कम विद्यार्थी भएका कलेजमा  बिराट मेडिकल कलेजका दुई जना विद्यार्थी व्यवस्थापन गर्न सक्ने क्षमता आयोगको छ”, डा. कार्की भन्छन्।

आयोगले डाक्टरको संख्या बढाएर नर्सहरूको संख्या घटाउने चलखेल खेलिरहेको उनको आरोप छ। भन्छन्, “अस्पतालमा बिरामी हेर्ने मुख्य भूमिको नर्सको हुन्छ डाक्टर भनेका त एकछिन आउने अनि जाने मात्र हो, बिरामीको स्याहार गर्ने भनेकै नर्स हुन्, हाम्रो जस्ता शिक्षण अस्पतालाई नर्सको आवश्यकता छ तर उत्पादनै कम हुने भएपछि के गर्ने ?”

त्यस्तै नेपालञ्जस्थित नेपालञ्ज मेडिकल कलेजको सिट संख्या २० छ तर आयोगले दुई जना विद्यार्थी मात्र पढ्न पठाएकाले कलेजले नपढाउने निर्णय गरेकोे एमडी डा.सुरेश कुमार कन्डीयाले बताउँछन्।

“आयोगले छात्रवृत्तिमा पढाउनका लागि दुई जना  विद्यार्थीमात्र पठाएको छ, दुई जना विद्यार्थी पढाउनका लागि खर्च कति लाग्छ यसको जिम्मा कसले लिने ? यो खर्च नेपाल सरकारले व्यहोर्छ ?”, डा. कन्डीया प्रश्न गर्छन्, “यसरी आयोगले निकालेको नजिताले के निजी क्षेत्रका कलेज सञ्चालकलाई मार्न लागेको हो ? यस्तै हो भने म बिएससी नर्सिङ पढाउँन नै बन्द गरिदिन्छु।”

भक्तपुरको मध्यपुर ठिमीस्थित नागरिक कलेज अफ हेल्थ साइन्सको अवस्था पनि उस्तै छ। २० जनालाई बिएससी नर्सिङ पढाउन सक्ने क्षमता भए पनि आयोगले दुई जना विद्यार्थी पठाएपछि नपढाउने पक्षमा छन्।

भक्तपुरको मध्यपुर ठिमीस्थित नागरिक कलेज अफ हेल्थ साइन्सको अवस्था पनि उस्तै छ। २० जनालाई बिएससी नर्सिङ पढाउन सक्ने क्षमता भए पनि आयोगले दुई जना विद्यार्थी पठाएपछि नपढाउने पक्षमा छन्। छात्रवृत्तिमा पढाउनुपर्ने दुई जना विद्यार्थी भएको कलेज सञ्चालक गंगा प्रजापती बताउँछिन्।

“बिएससी नर्सिङका लागी प्रयोगात्मक अभ्यास बढी हुने भएकाले खर्च र शिक्षक पनि बढि लाग्छ”, उनी भन्छिन्, “दुई जना विद्यार्थीलाई हाम्रै कलेजमा पढाउन नसक्ने भएकाले, पुर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई पठाएका विद्यार्थी एउटै कलेजमा पढाउने विषयमा छलफल भइरहेको छ। हामी विद्यार्थीको भविष्य अन्योलमा पार्दैनौं।”

छात्रवृत्तिमा पढ्नका लागी आयोगले पठाएका विद्यार्थीलाई अर्को कलेजमा पढाए पनि विद्यार्थीको पढाइ शुल्क कलेजले नै भुक्तानी गरिदिने उनले बताइन।

कान्तिपुर कलेज अफ हेल्थ साइन्सलाई पनि आयोगले दुई जना विद्यार्थी पठाएको छ। दुई जना विद्यार्थीलाई पढाउने कि के गर्ने भन्ने बिषयमा छलफल भइरहेको कलेज प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार आयोगसँग विद्यार्थी थप गर्ने माग राखिए तापनि कुनै प्रतिकृया नआएकाले अब अर्को कुनै कलेजसँग मर्ज गरेर पढाउने कि भन्ने छलफल भइरहेको छ।

जानकी मेडिकल कलेजले भने आयोगले जति विद्यार्थी पठाउँछ त्यतिलाई नै पढाउने भएको छ। उक्त कलेजलाई पनि आयोगले दुईजना विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा पढाउनका लागी पठाएको कलेजका सचिव रमेश खनियाले जानकारी दिए। उनका अनुसार दुई जनालाई मात्र भएपनि कक्षा संचालन गर्ने निर्णय कलेजले गरेको छ।

काठमाडौंकै एभरेष्ट नर्सिङ कलेजलाई पनि आयोगले दुईजना विद्यार्थी पठाएको छ। उक्त कलेजमा २८ मंसिरबाट पढाउन लागेको कलेज प्रशासनले जनाएको छ।

महाराजगञ्ज नर्सिङ क्याम्पसलाई भने आयोगले तोकेको क्षमता जति नै विद्यार्थी पठाएको छ। ४० जना विद्यार्थी क्षमता तोकेकोमा त्यति नै पठाइएकाले दुई अघिबाट पढाई शुरु भइसकेको सह–प्राध्यापक देवका आचार्यले बताइन्।

आयोगले लिएको परीक्षामा आधा भन्दा कम विद्यार्थी पास भएकाले भर्ना हुने दरमा समेत कमी आएको आयोगले जनाएको छ।

देशभर बिएससी नर्सिङ ४० ओटा मेडिकल कलेजमा पढाई हुन्छ। ति विद्यालयको सिट संख्या १ हजार २८० रहेको छ।

के भन्छ आयोग ?

आयोगले सिट संख्या एक हजार दुई सय ८० तोके पनि परीक्षामा निकै कम विद्यार्थी मात्र उत्तीर्ण  भएको आयोगका सदस्य सचिव डा.भोजराज शर्मा काफ्लेले स्विकार गरे।

यो पटक आयोगले लिएको परीक्षामा विद्यार्थी किन कम पास भए भनेर तीन वटा पक्षलाई लिएर अनुसन्धान भइरहेको उनले बताए।

“कम विद्यार्थी भए पनि कलेजहरूले पढाउनैपर्ने हुन्छ नत्र आयोगले कलेज नै खारेज गर्न सक्छ तर कलेजहरूलाई  पनि थोरै विद्यार्थी भएकाले पढाउन समस्या त हुन्छ नै।”- डा.भोजराज शर्मा काफ्ले, सदस्य सचिव, चिकित्सा शिक्षा आयोग 

उनी भन्छन्, “हामीले लिएको परीक्षामा निकै कम विद्यार्थी पास भए पछि उनीहरूले पठनपाठन गरेको नर्सिङ कलेजमा राम्रो भएन कि, हाम्रो पाठ्यक्रम कस्तो थियो, हामीले निकालेका प्रश्नहरू नै कडा थिए कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ, अनुसन्धानको नतिजाले नै किन कम पास भए भनेर बताउँने छ।”

विद्यार्थी पास नहुनुमा कसको  के, कति कमजोरी हो भनेर अनुसन्धानपछि प्रस्ट हुने उनको तर्क छ।

उनले भने, “पढाउने शैलीकै कारण विद्यार्थी कम पास भएका हुन् कि हामीले पहिलो पटक परीक्षा लिएका कारण हतारमा गल्ती पो भयो कि भन्ने कुरा केहि समयपछि प्रस्ट हुने छ।”

तर कम विद्यार्थी भए पनि मेडिकल कलेजहरूले पढाउनै पर्ने उनको तर्क छ। भन्छन्, “कम विद्यार्थी भए पनि कलेजहरूले पढाउनैपर्ने हुन्छ नत्र आयोगले कलेज नै खारेज गर्न सक्छ तर कलेजहरूलाई  पनि थोरै विद्यार्थी भएकाले पढाउन समस्या त हुन्छ नै।”

देशभर बिएससी नर्सिङ पढाउने कलेजको क्षमता, आयोगले कलेजलाई पठाएको विद्यार्थी संख्या र रिक्त सिट संख्याको विवरणः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved