मेक्सिकोमा ट्रक पल्टिँदा कम्तीमा ५४ जनाको निधन

अमेरिका जाँदै गरेका होन्डुरस र ग्वाटेमालाका डेढ सयभन्दा बढी आप्रवासी दुर्घटनामा परेका हुन्।

नेपालभ्युज

मेक्सिकोमा ट्रक पल्टिँदा कम्तीमा ५४ जनाको निधन

काठमाडौं। मेक्सिकोको दक्षिणी प्रान्त चिआपसमा ट्रक पल्टिँदा कम्तिमा ५४ जनाको निधन भएको र अन्य घाइते भएको अधिकारीहरूले बताएका छन्।

ट्रकमा मध्य अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाँदै गरेका डेढ सयभन्दा बढी आप्रवासी सवार थिए।

ट्रक पल्टिँदा घाइते र मृतकहरू बाटोभरी छरिएको तस्वीरहरू सावर्जनिक भएका छन्।

दुर्घटनास्थल नजिकै बस्ने सबिना लोपेजले अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई आफूले बाटोभरी दर्जनौं मानिस पल्टिएको देखेको बताएकी छिन्।

“मानिसहरू पीडाले छटपटाइरहेका थिए, कोही कोही बेहोस थिए”, १८ वर्षे लोपेजले एएफपीलाई बताएकी छिन्।

स्थानीयवासीले दुर्घटनाबाट बाँचेकाहरूलाई पानी पिलाएका थिए र आफन्तसँग मोबाइल सम्पर्क गराएका थिए। उनीहरूले ड्राइभर र उनीसँगैका मानिस पनि घाइते भएको तर भागेको बताएका छन्।

चिआपसका गभर्नर रूटिलिओ स्क्यान्डनले ४९ जना घटनास्थलमै र पाँच जना अस्पतालमा परेको पुष्टि गरेका छन्।

“८३ जना पुरूष र २२ जना महिला गरी एक सय पाँचजना जति घाइते भएका छन्”, उनले भने।

अधिकारीहरूले पुरूष, महिला र बच्चाहरू घाइते भएको बताएका छन्। उनीहरूको राष्ट्रियता निश्चित नभए पनि स्थानीय अधिकारीहरूले उनीहरू होन्डुरस र ग्वाटेमालाबाट आएको अनुमान गरेका छन्।

ग्वाटेमालाको छिमेकी चिआपस कागजातबिनाका आप्रवासीहरू हिँड्ने मुख्य नाका हो।

तीव्र गतिमा गुडिरहेको ट्रक मोडमा उछिट्टिएर पैदल यात्रु हिँड्ने पुलमा ठोक्किएर उल्टिएको थियो।

मेक्सिकोमा हुने डरलाग्दा दुर्घटनामध्ये यो एक हो।

मध्य अमेरिकाको गरिबी र हिंसाकारण वर्षेनी लाखौं आप्रवासी मेक्सिको हुँदै अमेरिका जाने गर्छन्। तीमध्ये अधिकांशले तस्करहरूलाई अवैध यात्राका लागि पैसा दिएका हुन्छन् जसले उनीहरूलाई ठेलमठेल भीडमा ट्रकबाट यात्रा गराउँछन्।

इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)का अनुसार अमेरिका-मेक्सिको सीमा संसारकै सबैभन्दा खतरनाक नाका हो। संस्थाको तथ्यांक अनुसार यो वर्षमात्रै उक्त नाका पार गर्ने क्रममा कम्तिमा ६ सय ५० जनाको निधन भएको छ।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved