स्मृतिमा नारायणगोपाल

नारायणगोपालका गीत नयाँ प्रेम गीतका जग हुन्

शोषित र पददलित आम जनताको जनवादी मुक्ति आन्दोलन र उच्च गति र प्रगतितर्फ लम्कने क्रममा नयाँ प्रकारका प्रेम गीतहरूको सिर्जना हुँदै जानेछ। नारायणगोपालका गीतहरू त्यस्ता प्रेम गीत सिर्जना हुने सबल तत्त्वका जगका ढुंगा हुन्।

नारायणगोपालका गीत नयाँ प्रेम गीतका जग हुन्

विषयलाई सरल बनाउन म यहाँ नारायणगोपाल वरिपरि मात्र यस चर्चालाई सीमित गर्छु। नारायणगोपाललाई कतिपयले स्वर-सम्राट भनेका छन् र अरू कतिपयले चाहिँ स्वरका जादुगर भनेका छन। मलाई के भन्न मन लाग्छ भने, नारायणगोपाल आफ्नो जमानाका आफ्नो क्षेत्रका ‘आतंक’ हुन्। आफ्नो संगीत साधनाको खास खास कालखण्डमा खास खास नेपाली संगीतकार र गायक चर्चा र लोकप्रियताको शिखरमा पुगेका देखिएका छन्।

तर ती सबैका हकमा ती कुराको निरन्तरता पाइँदैन। तर नारायणगोपाल गायनको क्षेत्रमा प्रवेश गरेदेखि मृत्युपर्यन्त र मृत्युपछि आजसम्म पनि निरन्तर चर्चा र लोकप्रियताको शिखरमा रहेका छन्। नारायणगोपालको व्यक्तित्व, उनले गाएका गीतहरूको अन्तर्वस्तु, उनको साधना, संगीत र स्वरमा के त्यस्ता गुणहरू छन्र, जसले उनलाई यति लामो समयभरि नेपाली गायनको संसारमा चर्चा र लोकप्रियताको क्षेत्रमा झण्डैजसो एकाधिकार कायम गर्न समर्थ तुल्याए?

मार्क्सवादी सौन्दर्यशास्त्रका दृष्टिले नारायणगोपालको समग्र व्यक्तित्व र कृतित्वको मूल्यांकन कसरी गरिंदो हो? यस छोटो टिप्पणीमा यी विषयको चर्चाको थालनी मात्र गर्नेछु।

नारायणगोपालका धेरैजसो गीतहरूलाई मूल अन्तर्वस्तुमा तीनवटा तत्त्व छन्ः यौन-प्रेम, मदिरा र वैराग्य। यस बाहेक, राष्ट्रियताको महिमा प्रकट गर्ने केही गीत पनि उनले गाएका छन्।

नारायणगोपालको सार्वजनिक जीवन र संगीत साधनाको ज्यादाजसो समय पञ्चायती हुकुमशाही अन्तर्गत पर्दछ। पञ्चायत पतन भएको केही वर्षपछि नारायणगोपालको देहान्त भइहाल्यो। सापेक्षरूपले खुला वातावरणमा उनको प्रतिभा र साधनाले चलखेल गर्ने लामो समय पाएन।

तसर्थ के भन्न सकिन्छ भने, नारायणगोपालको संगीत पञ्चायतकालीन निरंकुश परिवेशको उपज हो र सोहि परिवेशप्रतिको उनको वर्गीय प्रतिक्रियाको प्रतिफल पनि हो। अन्तर्वस्तुको दृष्टिबाट नारायणगोपालका गीतहरूलाई मोटामोटी दुई कोटीमा बाँडेर बुझ्न सकिन्छ भन्ने मलाई लाग्छ। त्यसैगरी सांस्कृतिक मूल्यका दृष्टिले पनि तिनलाई सापेक्ष रूपले स्वस्थ र अस्वस्थ गरी दुई कोटिमा बाँडेर हेर्न सकिन्छ।

नारायणगोपालका धेरैजसो गीतहरूलाई मूल अन्तर्वस्तुमा तीनवटा तत्त्व छन्ः यौन-प्रेम, मदिरा र वैराग्य। यस बाहेक, राष्ट्रियताको महिमा प्रकट गर्ने केही गीत पनि उनले गाएका छन्। मुल अन्तर्वस्तु यौन-प्रेम भएका उनका गीतहरू दुई खालका छन्- सापेक्ष रूपले स्वस्थ र सुन्दरको हाम्रो मूल्यगत मापदण्ड वर्गीय हित नै हो।

अर्थात् नारायणगोपालका जुन गीतले भावनात्मक दृष्टिले आम शोषित-पीडित जनताको अहित गर्दैनन्, तिनलाई हामी सापेक्ष रूपले स्वस्थ र सुन्दर मान्छौं। जुन गीतले आम जनताको अहित र शोषक ठालूहरूको हित गर्छन्, तिनलाई हामी अस्वस्थ र कुरूप मान्छौं। ‘ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’, ‘अल्झेछ क्यार पछ्यौरी तिम्रो चियाको बुटामा’, ‘दुईटा फूल देउरालीमा’देखि लिएर ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ जस्ता थुप्रै गीतहरूको शृंखला प्रेम गीतको यस कोटीमा पर्दछ। मेरा विचारमा यस कोटीका गीतहरमा प्रतिबिम्बित यौन-प्रेम त्याज्य र निन्दनीय विषय होइन। यो त मानवको स्वाभाविक गुण र जीवनको अनिवार्यक तत्त्व पनि हो। यस प्रकारको प्रेमले जीवनलाई सरस र सुन्दर बनाउन सघाउँछ। यसमा मानव जातिको वंश परम्परालाई निरन्तरता दिने सिर्जनशील आग्रह हुन्छ। तसर्थ, यौन-प्रेममा प्रतिबिम्बित हुने सौन्दर्य आनन्दको मुहान हुने गर्छ। अधिकांश सुन्दर लोकगीतहरूको प्रस्थान बिन्दु यौन-प्रेम भएको र प्रेमका भावनाहरूभित्रै तत्कालीन जीवनका अन्य विविध पक्षहरू घोलिएर प्रकट हुने गरेको तथ्य हामीलाई थाहा छ।

नारायणगोपाल प्रभृत्तिका यस कोटीका प्रेम गीतहरूलाई हातको एउटै हल्का इशाराले नकार्ने र तिनमाथि ठूल्ठूला सैद्धान्तिक आरोप लगाउँदै थोक-फैसला अघि सार्ने प्रवृत्ति पनि हाम्रो प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कहिलेकाहीँ देख्न पाइन्छ। यस्ता सोचाइमार्फत नयाँ संस्कृति र सभ्यताको महल उभ्याउने जगको ढुंगोलाई नकारेको जस्तो लाग्छ।

शोषित र पददलित आम जनताको जनवादी मुक्ति आन्दोलन र उच्च गति र प्रगतितर्फ लम्कने क्रममा नयाँ प्रकारका प्रेम गीतहरूको सिर्जना हुँदै जानेछ। त्यस्ता गीतहरूमा प्रतिबिम्बित हुने यौन-प्रेममा युवक-युवतीबीचको आकर्षणको केन्द्र बाहिरी रूप-लावण्य, सिंगार-पटार, तडक-भडक र सामन्ती-सोख नभई जीवनको उच्च आदर्श तथा एकअर्काका नैतिक-चारित्रिक गुण हुनेछन्।

यी समाजको क्रान्तिकारी रूपान्तरणकारी प्रक्रियाको आवश्यकता र सोही प्रक्रियाको प्रभावबाट सिर्जित हुने श्रमिक वर्गीय प्रेम गीतका विषयगत विशेषता हुन्। त्यस्ता प्रणय गीतका केन्द्रमा श्रम र सिर्जनाप्रतिका आस्था एक सबल तत्त्व हुनेछ। तर हामीले बिर्सन नहुने तथ्य के हो भने, उच्च स्तरका त्यस्ता प्रेम गीतहरू आफ्नो पृष्ठभूमिमा रहेको परम्पराका स्वस्थ र सबल तत्त्वहरूका जगमाथि नै खडा हुन्छन्, कतै निराकार शून्यमा होइन।

मेरा विचारमा नारायणगोपालका यी भावुक प्रेम गीतहरू त्यस जगको ढुंगोमा पर्दछन्। नारायणगोपाल प्रभृत्तिका यस कोटीका प्रेम गीतहरूलाई हातको एउटै हल्का इशाराले नकार्ने र तिनमाथि ठूल्ठूला सैद्धान्तिक आरोप लगाउँदै थोक-फैसला अघि सार्ने प्रवृत्ति पनि हाम्रो प्रगतिवादी सांस्कृतिक आन्दोलनमा कहिलेकाहीँ देख्न पाइन्छ।

यस्ता सोचाइमार्फत नयाँ संस्कृति र सभ्यताको महल उभ्याउने जगको ढुंगोलाई नकारेको जस्तो लाग्छ। के यो जगको ढुंगोलाई तिरष्कारपूर्वक उखेलेर मिल्काउन खोज्नु र जगबिना नै नयाँ भवन निर्माण गर्ने आकांक्षा राख्नु जस्तो अयथार्थवादी, तसर्थ, इतिहासविरोधी दृष्टिकोण होइन?

देशप्रेमको भावना झल्काउने नारायणगोपालका गीतहरू संख्यामा थोरै छन्। र, कथ्य र शिल्प दुवै दृष्टिले ती सुन्दर छन्। अन्तरवस्तु मदिरा र वैराग्य भएका उनका पछिल्लो चरणका अधिकांश गीतहरू, मेरा विचारमा, बाहिरबाट सुमधुर स्वर र परिष्कृत संगीतको मह लेपिउका विषका प्राणघातक पुरिया हुन्।

हेक्का राख्नुपर्ने कुरा के हो भने, सैद्धान्तिक स्तरमा नारायणगोपाल प्रभृत्तिको हामीले जतिसुकै विरोध गरे पनि व्यावहारिक प्रचलनमा मानिसहरूले उनीहरूकै गीत सुनिरहने छन् र गुनगुनाइरहने छन्।

‘पिउँदा पिउँदै जिन्दगी यो रित्याउन चाहन्छु म’, ‘एक्लै तिमी नआऊ म मात्तिएको बेला’, ‘आजभोली जिन्दगानी मात्तिन थालेछ’, ‘म मुर्दा भएको तिमी आज हेर’ आदि दर्जनौं गीतहरूलाई यसै कोटीमा राखन सकिन्छ। यी र यस्ता गीतहरूले श्रोताहरूलाई, खास गरेर युवा समूहलाई, दुर्व्यसन, हताशा र सामाजिक-नैतिक उत्तरदायित्वदेखि पलायनको दिशातर्फ लाग्न प्रेरित र प्रोत्साहित गर्दछन्।

गीतको माध्यमबाट श्रोता गणमा उब्जाइने यस्ता हताशा, पलायन र गैरजिम्मेदारीका अनुभूतिहरूले श्रोताहरूलाई असमानता र अत्याचारमा टिकेको सडेगलेको समाजलाई समानता र न्याययुक्त समाजमा रूपान्तरण गर्ने प्रगतिशील संघर्षबाट विमुख तुल्याउनमा सघाऊ पुर्‍याउँछन्। यसरी यस्ता गीतहरूले थोत्रो समाजलाई मलजल प्रदान गर्दछन्। तसर्थ, सतहमा आकर्षक र सम्मोहक जस्ता लाग्ने यी गीतहरू सारमा विषका पुरिया नै हुन्।

नारायणगोपालको ‘आतंक’स्तरको लोकप्रियताका पछिल्तिर कारणहरू के-के होलान्? सरल तरिकाले उनलाई समग्र रूपमा नकार्न खोज्नेहरूले भन्न सक्लान्- यसको मूल कारण उनका गीतहरूले सरकारी सञ्चारमाध्यमबाट प्रसार हुने अवसर पाउनु नै हो। तर अर्को रहस्यबारे हामी लगत्तै अर्को प्रश्न सोध्न सक्नेछौं- नारायणगोपालको समग्र संगीत प्रवाहको कठोर आलोचना गर्नेहरू स्वंय उनको आलोचना गर्दागर्दैको क्षणमा किन नारायणगोपालकै गीत गुनगुनाउने गर्दा हुन्? यो विरोध र यो सम्मोहनका पछिल्तिर रहेको वर्गीय तथा मनोवैज्ञानिक कारण के होला? यस विषयमा लामो छलफल गर्नु चाखलाग्दो र उपयोगी होला भन्ने मलाई लाग्छ। तर यस छोटो टिपोटमा त्यो काम गर्न सम्भव छैन।

यहाँ अर्को प्रश्न गर्नु पनि असान्दर्भिक नहोला भन्ने मलाई लाग्छ। के आकर्षण र लोकप्रियताको सवालमा हाम्रा जनवादी गीतहरू नारायणगोपालका गीतसँग प्रतिस्पर्धा गर्न समर्थ भएका छन्? विनम्रतासाथ सोच्ने हो भने यसको उत्तर सके नकारात्मक होला। यसो हुनाका विविध कारण होलान्। यहाँ म एउटा कारणको मात्र चर्चा गर्छु। जनवादी सांगितिक आन्दोलनका धेरैजसो गीतहरू ‘उठ, जाग, ठोक’ जस्ता कोरा नारा र स्थूल उपदेशको भारले थिचिएका छन्।

कठोर व्यवहारले हामीलाइ के शिक्षाा दिएको छ भने, हाम्रो जनवादी संगीत आन्दोलनमा राजनैतिक आदर्श र क्रान्तिकारी सन्देशहरू सूक्ष्म र तीक्ष्ण अनुभूतिको स्तरबाट अभिव्यक्त गर्ने वैचारिक चेत र सिर्जनशील सीपको राम्रो विकास भइसकेको छैन। उच्च आदर्श र उदात्त सन्देश भरिएका धेरैजसो जनवादी गीतहरू कथ्य र शिल्प दुवै स्तरमा परिष्कृत हुन नसक्नाको कारणले पनि नारायणगोपालका गीतहरूसँग प्रतिस्पर्धा गर्नमा ती पछि परेका हुन् भन्ने मलाई लाग्छ।

हेक्का राख्नुपर्ने कुरा के हो भने, सैद्धान्तिक स्तरमा नारायणगोपाल प्रभृत्तिको हामीले जतिसुकै विरोध गरे पनि व्यावहारिक प्रचलनमा मानिसहरूले उनीहरूकै गीत सुनिरहने छन् र गुनगुनाइरहने छन्। तसर्थ, अस्वस्थ र कुरूप गीत-संगीतको कुप्रभावप्रति श्रोता गणलाई सजग गराउन नारायणगोपालहरूको कोरा विरोध मात्र पर्याप्त छैन। अन्तर्वस्तुका दृष्टिले समृद्ध र शिल्पका दृष्टिले उनका गीतहरू जत्तिकै र अझ त्योभन्दा बढी सजिएका गीतहरू विकल्पका रूपमा अघि सार्नुपर्दछ। झट्ट हेर्दा खुबै क्रान्तिकारी जस्तो लागे पनि सिर्जनात्मक विकल्पबिनाको विरोध शून्यवाद नै हो।

नारायणगोपालबाट हाम्रो संगीत आन्दोलनले विनम्रतासाथ सिक्नुपर्ने अरू केही कुरा पनि छन्।

पहिलो कुरा, नारायणगोपालका गीतमा सजाइएको संगीतमा शास्त्रीय संगीत, लोक संगीत र आधुनिक संगीतको सुन्दर सम्मिश्रण पाइन्छ। उनका गीतहरूमा रहेको सम्मोहनकारी आकर्षणका पछिल्तिर उनको सुमधुर स्वर बाहेक एक प्रबल कारण यो पनि हो। यो उनको कठीन तपस्या सरहको साधनाको नतिजा हो।

दोस्रो कुरा, गीतैपिच्छे संगीतको नौलोपना र पुनरावृत्तिको कमी उनका गीतको अर्को आकर्षणकारी विशेषता हो।

तेस्रो कुरा, नारायणगोपाल आफ्नो वर्गका आफ्नो पुस्ताका औधी स्वाभिमानी गायक हुन्। जानिफकारहरू भन्छन्, उनले निजी स्वार्थ, सुविधा र बजारू लोकप्रियताका निम्ति रेडियो नेपाल र नेपाल टेलिभिजनछेउ हम्मेसी चाकरी गरेनन्। तैपनि ती प्रसार संस्थाहरूले उनलाई कहिल्यै तिरष्कार गर्न सकेनन्।

यसो हुनुका पछिल्तिर उनको प्रतिभा, आफ्नो विधामा उनको कष्टसाध्य साधना र दक्षता तथा उनको स्वाभिमानको शक्ति नै रहेको छ भन्ने मलाई लाग्छ। नारायणगोपालले पञ्चायतकालीन निरंकुशताको मुखर रूपले विरोध र प्रतिकार त गर्न सकेनन्, तैपनि निरंकुश सत्ताको चाकरी र जयगान गर्न अस्वीकार गरी उनले त्यस सत्तालाई धेरथोर असहयोग अवश्य गरे। यो उनको सबल पक्ष हो।

सारांशमा, नारायणगोपाल प्रभृत्तिका गायक-संगीतकारहरूलाई मार्क्सवादी सौन्दर्यशास्त्रले ऐतिहासिक सन्दर्भमा र समग्रतामा हेर्न हामीलाई अह्राउँछ। समग्रमा अध्ययन नगरी थोक विरोध वा थोक समर्थन गर्नु अद्वन्द्ववादी र इतिहास विरोधी सोचाइ ठहरिन्छ।

(‘नारायणगोपालका गीतहरूलाई दुई कोटीमा राखेर बुझ्न सकिन्छ’ शीर्षकमा मूल्यांकन मासिकको २०५३ असोजको अंकमा प्रकाशित संग्रौलाको यो लेख नारायणगोपाललाई हेर्ने प्रगतिवादी दृष्टिकोणबारे जानकारी होस् भन्ने उद्धेश्यले साभार गरिएको हो।)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved