स्मृतिमा नारायणगोपाल

नारायणगोपाल भर्सेस नारायणगोपाल

‘चौतारीमा राजा भेट भयो’ बोलको गीत उनको हातमा आएपछि उनले गीतकारलाई सिधै थर्काइदिए, ‘भोकै मर्नुपरे पनि म यस्तो गीत गाउँदिनँ’ भनेर च्यातिदिए। पछि अर्को कुनै गायकले यो गीत गाएर तक्मा पनि पाए, पञ्चायतकालमा।

नारायणगोपाल भर्सेस नारायणगोपाल

नारायणगोपाल गुरुवाचार्य, गुरु वा आचार्य ?

यो सहजै अनुमान गर्न सकिने विषय हो, नारायणगोपाल यदि गायक नभइदिएको भए के हुन्थे, धेरैले भन्न सक्दैनन्। तर जसले नारायणगोपाललाई साक्षात् देखेका वा भेटेका छन्, उनको अजङगको शरीरलाई आँखा वा हातले नजिकबाट छोएका छन्, तिनले अवश्य भन्ने छन् उनी पहलमान हुन्थे वा पहलमानका गुरु। तर आज उनी गुरु भए संगीतका, संगीतको इतिहासका अनि गायन कलाका।

उनले कुनै संगीत विद्यालयबाट गायनमा आचार्य वा विद्यावारिधि पाएनन् तर उनको गायकीमै आचार्यपन छ, जुन शाश्वत सत्य हो।

धेरै गायक उनलाई पछ्याउँदै दीक्षित भए, आचार्य भए तर उनी सदैव नेपाली सुगम संगीतका आचार्य नै रहे।

दोस्रो कुरा नारायणगोपाल गायक नभएको भए उनी इतिहासका प्राध्यापक हुन्थे। र, कुनै विद्यालय वा महाविद्यालयमा इतिहास पढाइरहेका हुन्थे।

भनिन्छ, नेपाली सुगम संगीतको इतिहास सही मानेमा नारायणगोपालको जन्मअघि र जन्मपछिसँग जोडिएर लेखिनेछ। आज त्यस्तै भएको छ।

नारायणगोपालको नाउँबाट नेपाली संगीतको स्वर्णिम युग शुरु भएको छ, विक्रमाब्द २०१८ सालपछि। यसअघिको गायन रेडियोको शैली गायन अनि तिनलाई पछयाउँदै ३ मिनेट ग्रामोफोन गायनमा केन्द्रित थियो।

नारायणगोपालले रेडियो नेपालमा स्वरपरीक्षा दिन हिन्दी गीत गाउन मानेनन्। त्यो बेला हिन्दी गीत गाउने चलन थियो। प्रेमध्वज प्रधानले तलत महमूदको ‘दिल ए नादाँ’ को ‘जिन्दगी देने वाले’ गाएका थिए भने बच्चु कैलाशले हेमन्तकुमारको हिन्दी गीतको स्वरपरीक्षा दिएर प्रवेश गरेका नारायणगोपालले राममान तपितको रचना प्रेम माणिकको संगीतमा ‘प‌ख…’ गीत गाएर रेडियोमा प्रवेश गरेका थिए। यो नै नारायणगोपालको पहिलो गीत थियो रेडियोमा। तर मञ्च नारायणगोपालका लागि लोकप्रिय भइसकेको थियो, उनले नेवार भाषामा ‘झिगु म्ये’ गीत गाएर मञ्चमा चढिसकेका थिए।

नारायणगोपालको युग भन्ने बित्तिकै नेपाली संगीत युगमा उनको गायनको युगलाई मानिन्छ, उनको गायनको पहिलो युग प्रेम मणिकसँग शुरु भयो।

पहिलो युग :

जतिबेला नारायणगोपालको गायनको युग शुरु भयो त्यति बेला उनीसित प्रेमध्वज प्रधान, माणिकरत्न स्थापित, भृगुराम श्रेष्ठ, दुर्गालाल श्रेष्ठ, राममान तृषित आदि सहभागी थिए।

गीतकारको रूपमा रत्नशमशेर थापा पनि यही बेला जोडिए र उनकै छ गीत कोलकत्तामा रेकर्ड गराएर नारायणगोपाल नेपाली स‌गीतमा प्रवेश गरे, स्वर्गकी रानी, आँखाको भाका आँखैले, भो भो मलाई नछेक, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो आदि त्यस बेला रेकर्ड थिए।

नारायणगोपालको जीवनमा ५ क :

नारायणगोपालको जीवनमा पाँचवटा ‘क’ले फरकफरक अर्थ राख्छ, कलकत्ता, काठमाण्डू, कोमलध्वज, किलागल र कान्छा। किलागल जहाँ उनको जन्म भयो, यो जन्मस्थानले उनको जीवन सही अर्थ ल्यायो नेपाली आधुनिक स‌गीतमा नारायणगोपालको गायनले किला नै गाड्यो र उनको अगाडि स्रोतादर्शक गले नै।

उनका पिता उस्ताद आशागोपाल गुरुवाचार्य जो राणाकालमै मकवानपुरका ठेकेदार थिए, अग्ला र खाइलाग्दा आशागोपालको खुट्टाको साइजको जुत्ता नेपालमा नपाइने भएर आफ्ना साथी उस्ताद रामप्रसाद रायको सल्लाह र सहयोगमा कोलकत्तामा जुत्ता सिलाउन जान्थे जहाँ पछि नारायणगोपाल आफ्नो जीवनका सर्वाधिक लोकप्रिय गीत रेकर्ड गराउन गए।

कोलकत्तामै उनको चलचित्रको पहिलो गीत ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा’ रेकर्ड गराए भने त्यसपछि ‘कान्छी’का अजर अमर गीत पनि त्यही रेकर्ड गराए। ‘बिछोडको पीडा नसकी खप्न दसैंको बेलामा’ गीत रेकर्ड गराउन दिलमाया खातीलाई लिएर पनि उनी कोलकत्ता नै गए।

काठमान्डू जहाँ उनको जीवनको सर्वाधिक महत्त्वपूर्ण समय बित्यो, बाल्यकाल, युवाकाल र अन्तबेला।

यी तीनै समय नारायणगोपालका वरिपरि शुभेच्छुक, साथीभाइ र सारथीको भीड नै रह्यो, यही भीडले उनको महायात्रालाई नै जनसमाजमा एतिहासिक बिदाई दियो, २०४७ मंसीर १९ गते।

उनको जीवनको सर्वाधिक सफल एकल साँझ पनि काठमान्डू कमलादीस्थित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमै भयो जेठ ९, २०४६ सालमा। यो कुनै नेपाली कलाकारको आजसम्म भएको पहिलो यतिविघ्न सफल कार्यक्रम मानिन्छ, र यो राष्ट्रिय घटना मानिन्छ।

कोमलध्वज अधिकारी नामक व्यक्ति उनका बस्न आएको घरछेउमा डेरा गरेर बस्न आएका कारण नारायणगोपाल गुरुवाचार्यको घरमा सितारले प्रवेश गर्‍यो र उनको घरमा व्यापारिक कुराको हिसाबकिताबका बदला सांगीतिक झंकार गुन्जियो। कोमलध्वजकै प्रेरणाले उनका पिता आशागोपाल गुरुवाचार्य पछि सितारवादनमा लागे। त्यसपछि पहिलो नेपाली महिला गायिका मेलवादेवी मानन्धरका पति भगतकृष्ण मानन्धर र उनको सांगीतिक ताल शुरु भयो। भगतकृष्ण, उस्ताद उजीर तण्डुकार, उस्ताद साइँला अर्थात अष्टमान श्रेष्ठको आगमनपछि कानमा ‘हिज मास्टर्स भ्वाइस’का रेकर्ड गुञ्जिन थाले।

उस्ताज साइँलाको ख्याति र व्यक्तित्वले नारायणगोपालभित्रको गायकलाई खिँच्यो मात्र भन्न मिलेन जसरी साइँलाकाजी ‘चन्दनी उकाली’मा गाएर उस्ताद साइँला साँच्चै नामले र कामले साइँला भएका थिए त्यसरी नै ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ गाएर घर माइलो छोरो नारायणगोपाल नेपाली संगीत समाजमा कान्छा गायकको उपनामले प्रसिद्ध भए भने पछि यिनै गायक रेडियो नेपालमा ‘क’ श्रेणीका गायक भए ३ मिनेट ३६ सेकेण्डको गीतमा सात मिनेट लामो फर्मायसको सूची पाएपछि।

किलागलबाट शुरु भएको उनको सांगीतिक जीवनमा कोलकत्ताले गायकीको जीवन जोड्यो भने रेडियो नेपालले ‘क’ श्रेणीको पहिचान दियो। २०४१ मा ‘कान्छी’ फिल्मका निम्ति पाएको पहिलो सर्वश्रेष्ठ पार्श्वगायकको पुरस्कार उनले बहिष्कार नै गरिदिए। यो उनको व्यक्तित्वको
साहसिक परिचय थियो।

नारायणगोपाल राजनीतिमा गएका भए कम्युनिष्ट नै हुन्थे किनकि उनको जीवनमा पहिलो राजनीतिक यात्रा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठबाट शुरु भएको थियो जुन उनले तत्कालै त्यागिदिए र उनी राजनीतिक छविबाट अलग भए।

मञ्चमा गीत गाउनुअघि नारायणगोपालले आफ्नो सांगीतिक जीवन लहरीमा गीत गाएर शुरु गरेका थिए। त्यो लहरी थियो पुष्पलाल श्रेष्ठको चुनाव अभियान ‘जनताकै सरकार, हाम्रो नेता पुष्पलाल’ भन्ने गीतमार्फत। खुल्लामञ्चबाट शुरु भएको त्यो उनको गायनयात्रा त्यति खुल्ला माहौलमा आउन नपाउँदै सेलायो तर उनका अर्का सहयात्री कवि गीतकार दुर्गालाल श्रेष्ठलाई कमरेड पुष्पलालले पार्टी कार्यालयमा बोलाएर जनकविको पदवी त्यही बेला दिए तर नारायणगोपालले आफ्नो जीवनको अर्को कलाई जीवनको कलर बन्न दिएनन्।

लहरीमा गीत गाएर शुरु गरेको उनको गायन लहडमा सकिएन जुन कुरामा उनका पिता सदैव चिन्तित थिए।

विवाहपछिको चक्र

नारायणगोपालको गायनको दोस्रो युगमा उनीसित जोडिन आए, दुई गीतकार कवि ईश्वरवल्लभ र दार्जीलिङ पढ्दै गरेका गीतकार नगेन्द्र थापा। नगेन्द्र थापामार्फत उनको दार्जीलिङमा जन्मे हुर्केका स‌गीतकार गायक गोपाल योञ्जनसित परिचय भयो र उनका फ्यान ईश्वरवल्लभमार्फत उनले गोपालसित मीत लगाए, सन् १९६५ मार्चमा दार्जीलिङको महा‌काल डाँडामा मकलमा आगो बालेर। यसका साक्षी थिए, कर्म योञ्जन।

कर्म योञ्जन र नगेन्द्र थापाकै पहलमा पछि नारायणगोपालले भारत दार्जीलिङको सिमानाकी पेमला लामासित विवाह गरे, जुन विवाहले नारायणगोपाललाई काठमान्डूबाट दार्जीलिङ, दार्जीलिङबाट पोखरा दौडायो।

पोखरामा विवाहित नवदम्पती केही समय कवि भूपी शेरचनको घरमा पाहुना भएर बसेपछि पोखराकै एक उद्योगी श्याम कक्षपतिको घरमा डेरा लिएर दुवै पतिपत्नीले व्यावसायिक जीवन शुरु गरे, गुरुको रूपमा।

नारायणगोपाल अमरसिंह स्कूलमा इतिहासका गुरु भए, पेमला अर्कै स्कुलमा अ‌ग्रेजीको। नयाँ बेहुलाको रूपमा जीवन शुरु गरेपछि नारायणगोपालले पोखरामा किनेको पहिलो चीज थियो, भुसे चुल्हो र साइकल।

साइकल चढेर अमरसिंह बोर्डिङ स्कुलमा इतिहास पढाउन शुरु गरेका गुरुबा नारायाणगोपाल गुरुवाचार्यको जीवनको साइकल उल्टा घुम्न थालेपछि काठमाण्डूमा रहेका दुई साथी मणिकरत्न र अर्का गीतकार नारायणगोपाललाई काठमाण्डू ल्याउने चक्कर मिलाउन थाले।

एक नारायणगोपाललाई जागिरको खोजी र अर्को उनका पिता उस्ताद आशागोपालसित शान्तिवार्ता।

यी दुवै काम सफल भएपछि नारायणगोपाल काठमाण्डू आए पोखराबाट।

होटल पारसमा गायक माणिकरत्नको सौजन्यमा रेडियो नेपालका पूर्व निर्देशक जनार्दन शमसित नारायणगोपालको सांस्कृतिक संस्थानको जीवन बन्यो। उनले वाद्यवादकका रूपमा सांस्कृतिक संस्थानमा प्रवेश गरे। नारायणगोपाल वाद्यवादकका रूपमा प्रवेश गरेको घटनाले नै चिन्तित त्यहाँका अन्य कर्मचारी नारायणगोपाल कामु महाप्रबन्धक भएपछि झन् तर्सिए।

नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा त्यहाँ उनका सहायकका रूपमा इन्द्रनाथ तिमिल्सेना, मदन लामा आदि थिए भने कलाकारका रूपमा भुवन चन्द, सुभद्रा अधिकारी, रवि शाह, कृष्णा प्रधान, विमला श्रेष्ठ, हरिप्रसाद रिमाल, हरिवंश आचार्य, वसुन्धरा भुसाल आदि कार्यरत थिए।

नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा नै नाटक देखाएर उठाएको पैसाले कार किनेका थिए, त्यो नाटकको नाम थियो, ‘
क्रशमा टाँगिएको जिन्दगी’। त्यतिबेला नारायणगोपालको महाप्रबन्धकको पद नै क्रशमा झुण्डिसकेको थियो। नारायणगोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा उनको जीवनमा ठूलो धक्का त्यतिबेला लाग्यो जतिबेला उनले दशैंको मुखमा चालीस जना कलाकारको जागिर खोस्नुपर्यो। यो घटनालाई लिएर काठमान्डूको भित्तामा ‘नारायणगोपाल मुर्दावाद!’ भन्ने पोस्टर पनि टाँसियो र भित्ता र‌गियो पनि। तर नारायणगोपालको डग हल्लिएन। यो उनको जीवनको मात्र होइन, सांस्कृतिक संस्थानका निम्ति ठूलो चनौती थियो र उनले सार्थक बनाएर छोडे। नारायणगोपाल महाप्रबन्धक हुनेबित्तिकै भूमिगतको हात भनेर दुष्प्रचार शुरु भयो। नारायणगोपालले एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिएर भने, ‘भूमिगत भनेको को हो? ज्ञानेन्द्र शाह हो ? म चिन्दिनँ।’

यो अन्तर्वार्तापछि नारायणगोपाल दरबारको आँखामा झन खतरनाक देखिए भने चौतरिया र दरबारियाको हालीमुहाली भएको कला जगतमा उनी एक्ला भए, टापूमा। तर उनले आफ्नो व्यक्तित्वको वैभवले अघि बढाए नाचघरलाई। उनैले सांस्कृतिक संस्थानको मञ्चमा ‘मसानु’, देवकोटाको ‘मुनामदन’, वासु शशीको ‘सबथोक गर्नुपर्छ’ पी अर्जुनको ‘हाँस्दै जल्नुपर्छ’ मञ्चन गरे भने दार्जीलिङबाट नयाँ कलाकारलाई बोलाएर ‘स्मृतिका कोसेली हाम्रा गीतहरू’ आयोजन गरे, यही कार्यक्रममार्फत कुन्ती मोक्तान नेपाल आइन् र यहीं भासिइन् भने यही कार्यक्रममा डैजी बराइली, शंकर गुरुङ, पेमा लामा, रिमला मोक्तान, चलन लम्जेल आदिले मञ्चमा प्रस्तुति दिए।

दार्जीलिङसित नेपाली संगीतलाई जोड्नमा धर्मराज थापा, ईश्वरवल्लभपछि नारायणगोपालको अतुलनीय योगदान छ, चाहे त्यो गोपाल योञ्जनसित मित लगाएर होस् वा कर्म योञ्जन, अरूणा लामालाई नेपाल बोलाएर कार्यक्रम गर्न लगाएर होस्।

स्मरणीय रहोस्, दार्जीलिङमै उनको पहिलो एकल गायनको कार्यक्रम भएको थियो, ‘ब्ल्यू नोट्स् विथ नारायणगोपाल’ भनेर। यसका आयोजक थिए दिव्य खालिङ। दार्जीलिङका प्रायः कलाकारसित उनको सहकार्य रह्यो, विशेषतः स‌गीतमा अम्बर गुरुङ, शान्ति ठटाल, रञ्जित गजमेर, कर्म गोपाल, चन्दन लम्जेलसित। गायनमा दिलमाया खाती, अरूणा लामा, गोपाल योञ्जनसित। रचनामा नोर्दैन रूम्बा, मनबहादुर मुखिया आदिसित।

कोल्ड वार

नारायणगोपालको जीवनमा अर्को जोडिने महत्त्वपूर्ण शब्द कोल्ड वार अर्थात् शीतयुद्ध। शीतयुद्ध उनको प्रेमध्वज प्रधान, माणिकरत्न, रत्नशमशेर थापासित खूब चल्यो, कसैकसैको गीत त पछि मञ्चमा उनले गाउँदै गाएनन्।

आफूलाई सैन्डो पहलवान ठान्ने अम्बर गुरुङ र टार्जन ठान्ने नारायणगोपालका बीच नाचघरको आँगनमा झन्डै कुस्ती नै परेको थियो, ‘अरूणा लामा सहयोग साँझ’पछि। ‘अरूणा लामा सहयोग साँझ’ गरेर अम्बरले पैसा खायो भनेर नारायणगोपालले भनेको भनेर केही उनका दुश्मनले अम्बरको कान भरेपछि दुई पहलमान रिङबिनाको मञ्चमा उत्रिनुपरेको थियो। पछि यसलाई राष्ट्रकवि माधव घिमिरेले साम्य बनाइदिए, ‘मालती म‌गले’को रेकर्डिङपछि।

उनका मितज्यू गोपाल योञ्जनसित विश्वास फिल्मको ‘अंग अंगमा तरंग ल्याइ’ गीतको प्राभ्यासका बेला धेरै निर्देशन दिन थालेपछि ‘मितज्यू, यो गीत तपाईले नै गाउनुस्’ भनेर बिदा लिए। नारायणगोपालले गोपाल योञ्जनका पछिल्ला चलचित्र ‘विश्वास’, ‘भुँवरी’, ‘पहिलो प्रेम’, ‘राँको’ कुनैमा पनि गीत गाएनन्।

नारायणगोपालको सबभन्दा ठूलो लडाइँ चलेको थियो, उपन्यासकार पारिजातसित। तिनले नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यू नाइटलाई  गाली गरेर बुर्जुवा गीत भनेर समीक्षा गरेपछि नारायणगोपाल कलम लिएर मैदानमा उत्रिएका थिए, आफूलाई तथापकथित बुद्धिजिवि भनिने एक महिला लेखिका भनेर उनले गोरखापत्रमा हमला नै गरे।

यो घटनापछि पारिजात मौन नै रहिन् र राल्फालीले उनलाई गाउन नदिएको युगकवि सिद्धिचरण श्रेष्ठको गीत मेरो प्यारो ओखलढु‌गा पनि खुल्ला भयो।

अन्त्यमा नारायणगोपाले गाउन चाहेका र गाउन नचाहेका केही गीतबारे।

नारायणगोपालले नेपाली भाषाको पहिलो चलचित्र ‘माइतीघर’मा पृष्ठगायनमा मौका पाएका थिए तर उनले त्यो गीत गाउन सकेनन्, त्यो गीत थियो किरण खरेलको शब्दमा ‘जिन्दगीलाई जीतले होइन, हारले स्वागत गरी…’

त्यसपछि सरकारी लगानीमा बनेको दोस्रो चलचित्र ‘परिवर्तनमा’ ‘बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’ गीत अफर आयो। कोलकत्ता पुगेर उनले म यो गीत गाउँदिनँ भनेर अस्वीकार गरिदिएपछि निर्माता निर्देशकको सातो पुत्लो उडेपछि नारायणगोपालको निम्ति तत्कालै अर्को गीत जन्मियो, ‘बुझ्नै सकिनौ तिमीले मेरो आँखाको भाका मेरो…।’

निर्देशक हीरासिंह खत्रीले उनको आँखाको भाका बुझ, चेतन कार्कीले लेखे तर चेतन कार्कीकै पहिलो चलचित्र ‘विश्वास’मा उनले गीत गाउँदिन भनेर रिजेक्ट गरिदिएपछि दुई मीतज्यको सम्बन्ध स‌कटमाआइपुग्यो।

‘चौतारीमा राजा भेट भयो’ भन्ने बोलको गीत उनको हातमा आएपछि उनले गीतकारलाई सीधै थर्काइदिए, ‘भोकै मर्नुपरे पनि म यस्तो गीत गाउँदिनँ” भनेर च्यातिदिए। पछि अर्को कुनै गायकले यो गीत गाएर तक्मा पनि पाए, पञ्चायतकालमा।

नारायणगोपालले जीवनको एक समयमा आफ्नो मातृभाषा नेवार भाषामा केही गीत रेकर्ड गराउन अपार इच्छा गरेका थिए र त्यसका निम्ति पत्रिकामा विज्ञापन दिएर गीत पनि मागेका थिए, केही गीत आफूले संगीत गरेका थिए भने केही गीत द्वारिकालाल जोशीले संगीत थालिसकेका थिए। साँखुका कवि गिरिजाप्रसाद जोशी र दुर्गाला श्रेष्ठको शब्दमा चारवटा गीतको तर्ज तर्जुमा भइसक्दा पनि ती गीत अस्वस्थताका कारणले रेकर्ड हुन सकेनन्। तर, कोठामा गरिएको अभ्यासमै ती गीत सुरक्षित रहे।

नारायणगोपालको एउटा अपुरो सपना थियो, ‘गीतग‌गा’ नामको एउटा संगीतको विद्यालय खोल्ने वा चलाउने तर त्यो उनी बितेको २४ वर्ष हुँदा पनि पूरा हुन सकेको छैन।

नारायणगोपालको गायनको युग नेपाली स‌गीतको अद्वितीय इतिहास हो तर धेरैलाई थाहा छैन, नारायणगोपालले १६ वर्षको उमेरमा त्याग नामक नाटकमा अन्धाको भूमिका निभाएर मञ्चमा प्रवेश गरेका थिए तर उनैले पछि नेपाली स‌गीतको आँखा खोले ‘बागीना’ पत्रिकामार्फत, जसका उनी पहिलो सम्पादक थिए।

सम्पादक नारायणगोपाल पहलमान हुन् टार्जन नामका, उनका साथी तूफान सिंहसँग उनको सधैं वार चलिरह्यो किलागल भर्सेस् जनबहाल। उनी मोटरका मिस्त्री पनि हुन् हेटौंडाका। उनी जीएम भए, अध्यापक भए तर थिए उनी सच्चा गुरु, सच्चा आचार्य नेपाली सुगम
संगीतका।

‘काठमाण्डू सेल्फी’बाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved