सम्झनामा कृष्णप्रसाद भट्टराई

सन्त नेताको कांग्रेस बहिर्गमन

उनले गरेका काम भन्दा पनि उनको सादगी जीवन नै चर्चा गरिन्छ। राजनीतिलाई पेशा बनाएर विकृत हुँदै गएकाले होला, भट्टराईको सादगी जीवन मानिसले चर्चा गरेका, सम्झेका।

सन्त नेताको कांग्रेस बहिर्गमन

हँसिलो मुुहार, ठट्यौलो पारा, पानको शौखीन र हँसिमजाक गर्ने एउटा बूढो मानिस! जोसँग कहिल्यै छुटेन, एक थान छाता र सुराही। त्यो बूढो मानिस २००७ सालको क्रान्तिमा होमियो। २०४७ को संविधान बनायो। पहिलो सभामुख ऊ दुईपालि प्रधानमन्त्री बन्यो। तर, छाता र सुराही बोकेर बालुवाटारबाट डेरा फर्क्यो।

हो, त्यही बूढो मानिसलाई नजिककाले किसुनजी भने। सन्त नेता भने। जसले जिन्दगीको आखिरीतिर आफ्नाबाट नै बिरक्तिएर आफैले बनाएको पार्टी त्याग्यो। गणेशमान सिंहकै नियति बाँच्यो।

हँसिमजाक गर्ने र बेलाबेला विवादमा आउने उनै कांग्रेस सभापति, पूर्वप्रधामन्त्री थिए, कृष्णप्रसाद भट्टराई।


९७ बर्षअघि बनारसमा जन्मेका कृष्णप्रसाद भट्टराईको बाल्यकाल, शिक्षा र राजनीतिसमेत बनारसबाटै शुरु भयो। उनका पुर्खा राजपुरोहित थिए। पृथ्वीनारायण शाहसँग काठमाडौं आएका। रमाइलो त के भने, उनका चार दाजुभाइ नै राणाविरोधी आन्दोलनमा लागे। बनारसमा अध्ययन गर्दागर्दै गान्धीले चलाएको ‘भारत छोडो’ आन्दोलनमा दाजु गोपाल र बटुकसँगै उनी पनि सहभागी भए(सञ्जय पन्थी, राजनीतिमा अध्यात्म: किसुनजी र गान्धी, पोष्ट, २३ फागुन २०७४)।

किशोरावस्थादेखि नै भट्टराई सक्रिय राजनीतिमा लागे। भारतीय स्वतन्त्रता संग्राममा भाग लिए।

अंग्रेज शासकले एक महीना जेल हाल्यो। आन्दोलन मलजलले उनको दिलदिमागमा राजनीतिक चेत बढ्यो ।

उनी काशी हिन्दू विश्वविद्यालयमा एमए अध्ययनरत रहँदा आन्दोलनमा लागेका थिए। नेपाली छात्र संघको उपाध्यक्ष बने। प्राध्यापकलाई नै अध्यक्ष राख्ने भएकाले विश्वनाथ मिश्र अध्यक्ष भए (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारुप, भाग १, पेज ७४)।

भारतमै भट्टराईसँग बीपी कोइरालासँग भेट भयो।

२००३ मा नेपाली राष्ट्रिय कांग्रेस बन्यो। उक्त पहिलो सम्मेलनले सभापति टंकप्रसाद आचार्य (१९९७ सालदेखि भद्रगोल जेलमा), कार्यवाहक सभापति विश्वेश्वरप्रसाद कोइराला र संगठन मन्त्री कृष्णप्रसाद भट्टराईलाई चुन्यो (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस– भाग १, पेज ६२)।

२००६ सालमा नेपाली कांग्रेस बन्यो। २००६ भदौ २६ र २७ गते भारतको विहारमा विशेष अधिवेशनबाट प्रजातन्त्र स्थापनाका लागि नेपालमा सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो। भट्टराईले मुक्ति सेनाको कमाण्ड सम्हाले। उदयपुरगढी, जनकपुर, महोत्तरी क्षेत्र पनि कब्जा भयो।

२००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्र आयो। १०४ वर्षे जहानियाँ राणा शासन ढल्यो। ३५ सदस्यीय विधान सल्लाहकारसभा बन्यो। भट्टराई त्यसको अध्यक्ष बने।

२०१५ को संसदीय चुनावपछि उनी सभामुख बने। नेपालको पहिलो सभामुख। २०१७ पुस १ गते बीपी कोइरालासँगै पक्राउ परे। कोइरालाले जेलबाट निस्कन तत्कालीन शासकसँग कागज गरे पनि भट्टराईले कागज गर्न मानेनन् बरु थप दुई वर्ष जेल बसे।

२०१२ देखि २०१४ मा भएको सत्याग्रहमा उनले नै नेतृत्व दिए। राजनीतिज्ञ, समाजवादी चिन्तक, विधायक, पत्रकारको रूपमा समेत भट्टराईले परिचय बनाए। नेपाल पत्रकार महासंघको पहिलो सभापति बने। ‘युगवाणी’ साप्ताहिक र ‘नेपाल पुकार’का सम्पादक थिए।

२०४६ मा नेपालमा बहुदल आयो। २०४७ बैशाख ३ गते राजासँग गणेशमान सिंहको भेट भयो। सिंहले आफू प्रजातन्त्रको वाचडग हुने र कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गरे। सोहीअनुसार राजाले भट्टराईलाई राजाले प्रधानमन्त्री बनाए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ८ पेज ७३)। भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री बने। उनकै पालामा २०४७ को संविधान बन्यो। त्यसपछि २०४८ को संसदीय चुनाव। २०५६ सालको आमनिर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट चुनाव जिते। कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेको थियो। कांग्रेसले बहुमत ल्यायो। उनी दोस्रो पटक प्रधानमन्त्री भए। तर, एक वर्ष नपुग्दै गिरिजाप्रसाद कोइरालाले उनलाई पद त्याग्न बाध्य पारे।

सभापति कृष्णप्रसाद

२०३४ सालमा भट्टराई नेपाली कांग्रेस कार्यवाहक सभापति भए। बीपीको निधनपछि २०३९ को सम्मेलनबाट उनी पुनः कार्यवाहक सभापति भए। कार्यवाहक सभापतिकै रूपमा भट्टराईले लामो समय कांग्रेस नेतृत्व सम्हाले।

२०१७ सालको राजा महेन्द्रको शाही ‘कू’पछि कांग्रेसको आठौं महाधिवेशन एकैचोटी २०४८ साल फागुन पहिलो साता झापाको कलबलगुडीमा भएको थियो। २०१७ सालको पार्टी विधान (संशोधित) अनुसार महाधिवेशनमा २०५ निर्वाचन क्षेत्रबाट ७ जनाका दरले महाधिवेशन प्रतिनिधिहरू सहभागी थिए।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सर्वोच्च नेता गणेशमान सिंहबीच विवाद निकै चर्केका बेला त्यो महाधिवेशन भएको थियो। त्यसैले पनि हुनुपर्छ गिरिजाप्रसाद पनि सभापतिमा कृष्णप्रसाद भट्टराईको विरुद्वमा देखिएनन्। अनि भट्टराई सर्वसम्मत सभापतिमा निर्वाचित भए (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।

भट्टराई २०५३ सम्म कांग्रेस सभापति पदमै रहे।

भट्टराईकै कार्यवाहक सभापतित्वकालमा २०४२ को देशव्यापी सत्याग्रह भएको थियो। सत्याग्रह गान्धीले अपनाएको अहिंसात्मक आन्दोलनको महत्वपूर्ण हतियार हो। किसुनजीले अप्ठ्यारो परिस्थितिमा सत्याग्रह अपनाएको पाइन्छ (सञ्जय पन्थी, राजनीतिमा अध्यात्म: किसुनजी र गान्धी, पोष्ट, २३ फागुन २०७४)।

उनी मुलुकभित्रै बसेर पंचायतविरोधी आन्दोलन गर्ने भन्थे। निर्वाशन जाने कुरामा सहमति थिएन। लेखक जगत भन्छन्, “बीपी कोइराला र गणेशमान सिंहले सुवर्ण शमशेरकोमा सही गरी रिहा भए। भट्टराईले सही गर्न मानेनन्। सभामुखको हैसियतमा थुनेको हो भनेर भने। उनलाई राति कुपण्डोल बाटामा ल्याएर छाडियो। उनले राजासँग पनि कुनै सम्झौता गरेनन्।” यही प्रसंग विजयकुमारले उप्काउँदै लेखेका छन्, “कांग्रेसका अनेकौं महामानव र वामपन्थका कैयौं क्रान्तिकारी वीरहरू पञ्चायती दरबारसँग बिन्तीपत्र हाली कागज गरेर जेलमुक्त भए। तर कृष्णप्रसाद भट्टराईले त्यस्तो कुनै कागजमा सही गर्नुभन्दा देशभित्रै जेलमा बस्न रोजे (विजय कुमार, देखिने किसुनजी, नदेखिने किसुनजी, नागरिक, ४ पुस २०६६)।

भट्टराईले कांग्रेस कार्यबाहक सभापति सम्हालेकै बेला २०४६ सालको जनआन्दोलन भयो। वाममोर्चासँग गठबन्धन गरी भएको उक्त आन्दोलने पंचायती व्यवस्था फाल्यो। नेपालमा बहुदल आयो। २०४७ को संविधान बन्यो। जो उनकै नेतृत्वको अन्तरिम सरकारले जारी गर्‍यो।

भट्टराई–कोइराला टकराव

भट्टराई बीपी कोइराला नजिकका हुन्। कांग्रेसभित्रको पुराना गुट बीपी र मातृकाका गुट सम्झने हो भने भट्टराई बीपी गुटका हुन्। बीपी मरेपछि उनीसहित गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले कांग्रेस हाँकेका थिए।

लेखक जगत नेपालका अनुसार कांग्रेसमा दुईवटा स्कुल अफ थट छ। एक, २००७ सालको क्रान्तिपछि भारतमा निर्वासनमा बसेको समूह। दुई, नेपालमै बसेको समूह। लेखक नेपालका अनुसार काठमाडौंमा बसेको तर निर्वासनको अनुभव नभएको भट्टराईहरुको समूह थियो।

निर्वासनबाट आएको तर लडाकु जमात गिरिजाप्रसाद कोइराला गुट थियो। तिनका बुझाइमा फरक थिए। पृष्ठभूमिका कारणले पनि ती समूहमा मतान्तर थियो।

यसैलाई अर्को तरीकाले पनि भन्न सकिन्छ। एक, काठमाडौंभित्रकोे इन्साइडर। दुई, काठमाडौं बाहिरको आउटसाइडर। इन्साइडरको नेतृत्व गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले गरे भने आउटसाइडरको नेतृत्व गिरिजाप्रसाद कोइरालाले।

नेपालको भनाइ छ, “२०४६ सम्म ४६ सम्म मतभेद सतहमा देखिन्न।”

यही मतभेदलाई अर्को तरीकाले पनि हेर्न सकिन्छ। बीपी कोइरालाको राष्टिय मेलमिलापको मर्मअनुसार राजासँग नजिकिएर जानुपर्छ भन्थे गिरिजाप्रसाद कोइरालाले। नेपाल कथन थियो भने, “राजदरवार छेवैबाट जुलुस निकालेर राजालाई देखाइदिनुपर्छ भन्ने भट्टराई थिए।”

यसरी भट्टराईको गिरिजाप्रसाद कोइरालासँग टकराव काठमाडौं ५ को उपचुनावमा पुगेपछि भने बिस्फोट भयो।

मदन भण्डारी दासढुंगामा मारिए। रिक्त काठमाडौं ५ को उपचुनावमा भण्डारीपत्नी विद्या भण्डारीलाई एमालेले उठायो। २०४८ को चुनावमा भण्डारीले काठमाडौं १ र ५ बाट जितेका थिए। उनले १ छाडेपछि एमालेबाट नारायण ढकालले जितेका थिए। काठमाडौं ५ को उपचुनावमा भट्टराईको उम्मेदवारीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पार्टी सभापति भट्टराईबीच असमझदारी बढायो। यसका कारण थिए।

एक, कोइराला गुटलाई लाग्यो कि, भट्टराई चुनाव जितेर प्रधानमन्त्री हुन चाहन्छन्। त्यसैले उनलाई हराउन पर्छ। कुनै हालतमा जिताउन हुन्न।
भट्टराई पक्षधरले कोइरालाले कांग्रेसलाई बदनाम गराएको, राम्रा काम गर्न नसकेको भन्दै राजिनामा माग्दैथिए।

गणेशमान सिंह, महेन्द्रनारायण निधि, जगन्नाथ आचार्यलगायतका नेताले चुनाव प्रचारमा भाषण गरे, “भट्टराईले चुनाव जितेमा उनी नै प्रधानमन्त्री हुनेछन् (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ९, पेज १८४)। त्यसको बदलामा गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई किन जिताउने भनेर विज्ञप्ति नै जारी गरे। त्यसपछि भट्टराई र कोइरालाको झगडा अक्कासियो। अन्तमा सिंह, कोइराला र भट्टराई तीन नेताबीच सम्झौता भयो। विज्ञप्ति पनि जारी गरे। तर सम्झौता कामयावी भएन। भट्टराईले चुनाव हारे। भ्ट्टराई पक्षले कोइरालाको अन्तर्घात भन्यो। यसले विकराल रुप लियो।

कांग्रेसमा छत्तीसे र चौहत्तरेको विवाद चर्केकै थियो। छत्तीसे भट्टराईलाई समर्थन गर्थे।

त्यसबेला चुलिएको भट्टराई र कोइरालाबीचको टकराव नसेलाई भट्टराई सक्रिय राजनीतिबाट अलग भए। अन्तमा कांग्रेस नै छाडे।

नेपाली राजनीतिमा ‘किसुनजी’ र सन्त नेताले चिनिने कृष्णप्रसाद भट्टराई। राणाकालदेखि नै राजनीतिमा सक्रिय रहे। नेपालको पहिलो सभामुख बने। उनले गरेका काम भन्दा पनि उनको सादगी जीवन नै चर्चा गरिन्छ। राजनीतिलाई पेशा बनाएर विकृत हुँदै गएकाले होला, भट्टराईको सादगी जीवन मानिसले चर्चा गरेका, सम्झेका।

२०४६ सालमा पञ्चायत ढलेर बहुदल आयो। अन्तरिम सरकारका प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले। २०४७ सालको संविधान आयो। त्यही संविधानले शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्यायो।

धेरैले सम्झने अर्को पनि छ, त्यो हो, दुई पटक प्रधानमन्त्री बनेपनि बालुवाटारबाट छाता र सुराहीसँग डेरा फर्कनु। अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै चुनाव हारे। मानिसले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले सम्झन्छन्।

“भट्टराईले लोकतान्त्रिक मूल्यमा सम्झौता गरेनन्। आफ्ना मान्छेका लागि केही गरेनन्। अर्थात् सत्ता र शक्तिको दुरुपयोग गरेनन्। सादगी रहे,” लेखक नेपालले भने।

२००७ सालपछि शान्तिपूर्ण आन्दोलनको वकालत गरे। जेलनेल भोगे पनि स्वदेशमै बसेर लड्न रुचाए। सक्रिय राजतन्त्रको पञ्चायत कालमा १४ वर्षसम्म जेल बसे। माफी मागेनन्। पार्टीले संवैधानिक राजतन्त्रको पक्षधरता छाडेपछि भने उनले आफैले स्थापना गरेको कांग्रेस नै त्यागे।

कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

कांग्रेसका सभापति-४: कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

कांग्रेसका सभापति-३: बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved