काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (शुक्रबार) नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ ।
पोखराबाट काठमाडौं आउन हवाइजहाजको टिकट दिउँसो २ः१५ को मात्रै पाइएकाले उनी आजै अदालतमा उपस्थित हुने सम्भावना न्यून बन्दै गएको रास्वपा स्रोतले जनाएको छ । यसले गर्दा पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री लामिछाने आइतबार मात्रै अदालतमा हाजिर हुने सम्भावना बढी देखिएको छ ।
यसअघि उनी पोखराको हवाइजहाजको पहिलो फ्लाइटबाट आज बिहानै काठमाडौं आउने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले नेपालभ्युजलाई जानकारी दिएका थिए ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दा लागेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनी बिहीबार धरौटीमा रिहा भएका थिए ।
लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेको छ । यसले गर्दा उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएको हो ।
लामिछानेलाई कास्की प्रहरीको हिरासतबाट बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाइएको थियो ।
अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको हो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका हुन् ।
उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । बिहीबार नै धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी पछाईँले भने हिरासतमै रहेको अदालतले जनाएको छ ।
अदालतमा १० दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।
लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो ।
Facebook Comment
Comment