कांग्रेसका सभापति-३

बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेस अहिले पनि बीपीले त्यसबेला व्याख्या गरेको समाजवाद, प्रजातन्त्रले बाँचेको छ। उनै बीपीको फोटो देखाएरै राजनीतिक खेती गरिरहेको छ।

बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

राणा जुगको कुनै एक दिनको कुरो हो।

ठेकेदारका आँखा ढाक्रे हुलमा अल्झियो। ती ढाक्रेका टोपीको घेरामात्र थिए। इष्टकोटको भित्री भागमात्र बचेका थिए। तिनका गोडा खाली थिए। ती दुब्लापातला मानिसको हुल काम र मामको खोजीमा भौतारिँदै थियो।

ठेकेदारले तीमध्ये एकजनाको लुगा फुकाल्न लगाए। बदलामा नयाँ लुगा दिए।

जुम्रासहितको लुगा र पत्र पार्सल गरी तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर महाराजलाई पठाए। चिठीमा लेखे, “नेपालका ९५ प्रतिशतभन्दा अधिक जनता यस्तै निरपेक्ष गरिबीको अति दयनीय हालतमा बाँचेका छन्। तिनीहरू पेटभर खान पाउँदैनन्। तिनीहरूले लाउन पाएको वस्त्र यै हो। तर, तिनीहरूका उत्थानका लागि सरकारबाट कुनै कार्य थालनी भएको छैन। शासक वर्ग केवल आफ्नै धन थुपार्ने होडमा छ। यो शोभनीय कुरा होइन। श्री ३ महाराजले जनताको यो अति दारुण अवस्थाको निराकरण गर्न अविलम्ब उचित कदम चाल्न आवश्यक छ (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पृष्ठ २८)।”

पार्सल श्री ३ महाराजको दरबारमा पुग्यो। पार्सलले दरबारमा हल्लीखल्ली मच्चायो। किन यस्तो पार्सल? पार्सलबारे फरकफरक व्याख्या भए। कतिले सकारात्मक भनेर अथ्र्याए त धेरैले नकारात्मक।

लेखक एवं अनुसन्धाता कृष्ण धराबासी भन्छन्, “एकथरीले त ‘यो सल्लाह होइन, व्यंग्य हो’ भने। चन्द्र शमशेरले त्यही व्यंग्य हो भन्ने तर्कलाई पत्याए।”

पार्सल पठाउने मित्रप्रति चन्द्र शमशेर महाराज आगो भए। उनले बडाहाकिम जीतबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिए। पक्राउ गर्न आएको सुइँको पाएर १९७४ साल असोजको एक साँझ ती ठेकेदार बनारस भागे। त्यसपछि परिवारसहित बनारसमा उनले शरणार्थी जीवन बाँचे।

झुत्रे लुगा राणा सरकारलाई पार्सल पठाएर शरणार्थी बन्ने राणामित्र थिए, कृष्णप्रसाद कोइराला। राणामित्र भएकैले न कोइरालाले दक्षिण सीमान्त क्षेत्रका धेरै भन्सार ठेक्का हात पारेका थिए। तीमध्ये एउटा कार्यालय चन्द्रगन्ज (माडर, सिरहा)मा थियो। जहाँ सुदूर पहाडी भागबाट अभावैअभावले थला पारेका मानिस हुलका हुल माम र कामको खोजमा ओर्लन्थे (पुरुषोत्तम बस्नेत, उही, पृष्ठ २८)

सिरहा, माडर ओर्लेका तिनै ढाक्रेको लुगा थियो, कोइरालाले चन्द्र शमशेर राणा श्री ३ सरकारलाई पार्सल गरेको।

शरणार्थी शिविरमै कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाले जन्माइन्, बीपी कोइराला। बीपी हुर्कंदै गए। बीपी तन्नेरी हुँदा भारतमा अंग्रेजविरोधी आन्दोलन चुलियो। आन्दोलनमा बीपी पनि सामेलिए। आन्दोलनकै क्रममा थुनामा परे। भारतलाई अंग्रेजबाट स्वतन्त्र बनाउने आन्दोलनमा होमिएका ख्यातीप्राप्त भारतीय नेताहरूका संगतले बीपीको दिलदिमागमा ‘राजनीतिक चेत’ भरियो।

जनताको आन्दोलनसामु अंग्रेजले घुँडा टेक्यो। भारतलाई गुलाम बनाएको अंग्रेज भाग्यो।

भारतबाट अंग्रेज खेदिएजसरी नेपालबाट राणा खेद्न सकिएला? नेपालबाट राणा खेद्ने बीपी कोइरालाको मनमा ‘जङ’ चल्यो। तर, खेद्ने पो कसरी? संगठन थिएन। संगठन भए पनि बलिया थिएनन्। कहाँ र कसरी के गर्ने होला? कुनै मेलोमेसो थिएन। उनले भारतमा छरिएका नेपाली सम्झिए। तिनलाई संगठित गर्न पाए कसो होला भनेर गमे।

त्यसपछि पत्रिकामार्फत् भारतमा रहेका नेपालीलाई बीपीले आह्वान गर्ने जुक्ति निकाले। राणा खेद्ने मन भएकाहरू संगठित हुनका लागि भेला हुन आग्रह गरे। बीपीको आह्वान पटनाबाट प्रकाशित हुने सर्चलाइट पत्रिकाले १६ असोज २००३ मा छाप्यो। त्यो पत्र सम्पादकलाई चिठी स्तम्भमा छापिएको थियो। सोही आह्वानलाई पछि कलकत्ताको अमृत बजार पत्रिकाले पनि छाप्यो (डा.राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग १, पृष्ठ ३९)

भारतमा छरिएर बसेका नेपालीलाई आह्वान गरिएको बीपीको ‘नेपाल आह्वान’मा ‘कोशी नुक, ब्याण्डरोड, पटना’मा सम्पर्क राख्न भनिएको थियो।

पत्रिकामार्फत आह्वान गर्ने बीपीको जुक्तिले काम गर्‍यो। आह्वानमा दिइएको ठेगाना खोज्दै नेपाली जुट्न थाले। भेला हुन थाले। भारत पसेका गणेशमान सिंहसँग पनि भेट भयो। सुवर्ण शमशेर त भारतमै थिए। त्यो भेटघाटले जन्मायो, अखिल नेपाल भारतीय नेपाली राष्ट्रिय कांग्रेस।

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले १२–१३ माघ २००३ मा कलकत्ताको भवानीपुर खाल्सा हाइस्कुलमा सम्मेलन गर्‍यो (पुरुषोत्तम बस्नेत, उही, पृष्ठ ८०)। सम्मेलनमा पार्टीको नामबारे बहस भयो। गणेशमान सिंहले ‘नेपाल स्वतन्त्र राष्ट्र हो’ भनेर अखिल भारतीय राष्ट्रिय कांग्रेस नाममा आपत्ति जनाए। उनले ‘अखिल भारतीय’ भन्ने शब्दप्रति विरोध जनाए। प्रस्तावित नाम नेपाल नेसनल कन्फ्रेन्स र नेपाल नेसनल कांग्रेस पनि थिए। लामो छलफलपछि नेपाली राष्ट्रिय कांग्रेस नाम सर्बसम्मत भयो (पुरुषोत्तम बस्नेत, उही, पृष्ठ ८१)

सम्मेलनका सहभागी बीपी कोइरालालाई पार्टी सभापति बनाउन चाहन्थे। डिल्लीरमण रेग्मी सभापति हुन चाहन्थे। तर, रेग्मीको नाउँ कसैले सिफारिस गरेनन्। बरु गणेशमान सिंहले काराबासरत टंकप्रसाद आचार्यलाई प्रस्ताव गरे। आचार्य सर्वसम्मत सभापति भए भने बीपी कोइराला कार्यवाहक सभापति (राजेश गौतम, उही, पृष्ठ ६२)

बीपी गान्धीवादी थिए। गान्धीले अंग्रेज खेदेजसरी नै अहिंसात्मक आन्दोलनले राणा ढाल्ने भन्थे। सुवर्ण शमशेर भने भारत छोडो आन्दोलनमा सामेलिएका नेपालीलाई ल्याएर गुरिल्ला तालिम गराउन थालिसकेका थिए। बीपी पनि सुवर्णको विचारमा सहमत भए। सुवर्ण शमशेरको सशस्त्र संघर्षको लाइन लिएर राणा हटाउने आन्दोलन थाले। आन्दोलनको कमाण्डरको रूपमा पार्टी सभापति मातृकाप्रसाद कोइराला भए पनि राणाविरोधी आन्दोलनको योजना बनाउने र हाँक्ने बीपी कोइराला नै थिए।

राणा शासन ढल्यो। २००९ सालमा बल्ल बीपी नेपाली कांग्रेस सभापति भए। २०१७ मा फेरि सभापति भए। जुन बेला कांग्रेस दुईतिहाइ मतसहित सरकारमा थियो। कांग्रेसको सातौं महाधिवेशन काठमाडौंको बालुवाटारस्थित लक्ष्मीनिवास(सुवर्ण शम्शेरको दरबार)मा भएको थियो। २५–३१ वैशाख २०१७ मा सम्पन्न उक्त महाधिवेशनले बीपी कोइरालालाई सभापति चुन्यो।

बीपी पाँच हजार नौ सय ७३ मत ल्याएर सभापतिमा विजय भए भने उनका प्रतिद्वन्द्वी डा. भूदेव राईले आठ सय ६५ मत ल्याएका थिए। कांग्रेस विरोधी र बीपीलाई नचाहनेहरूले त्यसबेला राईलाई निकै महत्व दिएर समाचारहरू प्रकाशित गरेका थिए।

१ पुस २०१७ मा राजा महेन्द्रले जननिर्वाचित बीपी सरकार अपदस्थ गरे। एकदलीय पञ्चायती व्यवस्था लादे। बीपी जेल परे। बीपीले २०३३ सम्म सुवर्ण शमशेरलाई कांग्रेस कार्यवाहक सभापति दिए। २०३४ पछि कृष्णप्रसाद भट्टराईलाई।

दुई भाइको टक्कर

२७ चैत २००६ मा नेपाली कांग्रेस बन्यो। २००६ सालमा सम्पन्न नेपाली कांग्रेसको पहिलो महाधिवेशन थियो। पाँचौं महाधिवेशन १३ जेठ २००९ मा जनकपुरमा भयो। उक्त महाधिवेशनमा बीपी र एमपी (बीपी कोइराला र मातृकाप्रसाद कोइराला) दुई भाइबीच सभापतिका लागि विवाद र छिनाझपटी भयो (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसीर १७, २०७८)

सिम्खडा लेख्छन्, ‘मातृकाले बीपीलाई छाडिदिने भद्र सहमति भयो। तर महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, यातायात तथा वनमन्त्री भद्रकाली मिश्रले एकाएक ६ महीनाको लागि महाधिवेशन रोकिनुपर्ने भन्दै हिन्दीमा लेखिएको नेपाली कांग्रेसको विधान प्रस्ताव गरे। बन्द सत्रमा नेता/कार्यकर्ताबीच हात हालाहाल भयो।’

मातृकाले बीपीलाई सभापति बनाउने पूर्व सहमति तोडेर उम्मेदवारी दिए। लेखक कृष्ण धराबासीका अनुसार त मातृका बीपीलाई अध्यक्ष मान्न कहिल्यै तयार देखिएनन्।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि दुई भाइको विवाद झन चुलिएको थियो।  बीपी र उनको समूह मातृका सरकार बनेकोमा सन्तुष्ट नै थिएन। आलोचना गर्दै आएका थिए। उनीहरू भारत सरकारको दबाबले राजाले मातृकालाई प्रधानमन्त्री बनाएका हुन् भन्नेमा विश्वस्त थिए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग २, पृष्ठ १४१)

बीपीले ‘एक व्यक्ति एक पदको नीति’ अघि सारे। जुनेबला मातृकाप्रसाद कोइराला पार्टी अध्यक्ष र प्रधानमन्त्री थिए। यो नीतिअनुसार मातृकाले कि प्रधानमन्त्री छाड्नुपथ्र्यो कि पार्टी अध्यक्ष। बीपीले त ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुनुहुँदैन’ भनेर लेख नै लेखे (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग २, पृष्ठ १४४)। दुई भाइको झगडा चर्केपछि मिलाउन भारतीय समाजवादी नेता जयप्रकाश नारायणलाई गुहारे (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग २, पृष्ठ १४५)। नारायणले सम्झाएपछि झगडा केही समय साम्य भयो। तर, फेरि बल्झियो।

दुई भाइबीचको झगडाको आगोमा घिउ थप्ने काम भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले पनि गरे। पत्रकार सुधीर शर्माले लेखेका छन्, ‘मातृका र बीपीबीच राजनीतिक प्रतिद्वन्द्विता त थियो नै, त्यो आगोमा घिउ थप्ने धेरथोर भूमिका नेहरूले खेलिरहे।’ विदेश मन्त्रालयका महानिर्देशकलाई नेहरूको नोट (अक्टोबर २८, १९५१) भनेर उद्धृत गदै शर्माले त्यसैमा थपेका छन्, ‘मलाई लाग्दैन प्रधानमन्त्रीका लागि बीपी कोइराला ठीक छनोट हुनेछन्। त्यस्तो नियुक्तिले सरकारलाई दह्रो बनाउनुको साटो कमजोर बनाउनेछ। आफ्नो हातमा अधिकार केन्द्रित गर्ने बीपीको बानीले अरू प्रोत्साहन पाउनेछ र उनी अझै बढी अधिनायकवादी हुनेतिर जानेछन्। मैले देखेको एकमात्र उपर्युक्त प्रधानमन्त्री भनेका मातृकाप्रसाद कोइराला हुन् (सुधीर शर्मा, अन्नपूर्ण पोष्ट, ८ मंसीर २०७५)।’ नेहरू र त्रिभुवनकै कारण बीपीले पाउने पार्टी सभापति र प्रधानमन्त्री मातृकाले हात पारे।

मातृका र बीपीबीचको द्वन्द्व खासमा के हो? पद हो कि व्यक्तित्व हो कि? सैद्धान्तिक पो हो कि? कसरी कोइराला बन्धुबीच टक्कर चुलियो होला? जानकारहरूका बुझाइ र व्याख्या फरकफरक छन्।

द्वन्द्वलाई सैद्धान्तिक हो भनेर व्याख्या गर्नेका अनुसार बीपी बढ्ता सैद्धान्तिक थिए भने मातृका बढ्ता व्यवहारवादी। बीपीले स्वतन्त्रता र लोकतन्त्रमा सम्झौता गर्न हुन्न भन्थे। मातृका व्यवहारवादी थिए। उनले नेपालको परिवर्तनमा राजा र भारतको पनि शेयर छ, उनीहरूलाई बेवास्ता गरेर जान सकिन्न भन्थे। बीपी, मातृका र गिरिजाप्रसाद कोइरालाबारे अध्ययन गरेका अध्यता एवं पत्रकार जगत नेपालका अनुसार “दाइभाइको झगडा भन्दा पनि सैद्धान्तिक हो।”

उनका अनुसार मातृकाले भारत र नेपाल बुझेका थिए। भारतसँग जुधेर जान सकिन्न भन्ने मातृका बुझाइ थियो। राजनीतिक विश्लेषक गोेविन्द अधिकारी त बीपी र मातृकाको टकरावमा ‘लभ एण्ड हेट देखिन्छ’ भन्छन्। लेखक कृष्ण धराबासीका अनुसार त मातृका र बीपीमा ‘सौतेनी छोरा हुनाले ‘बच्चैदेखि यस्तो मनोविज्ञान हुँदो हो, जसले टकराव बढायो’।

पार्टी नै अलग भएपछिमात्र दुई भाइबीचको टकराव टुंगियो। टकराव त सशस्त्र क्रान्तिसम्म रफ्तारमा सँगसँगै गुडेका बीपी र सुवर्ण शमशेरमा सर्‍यो।

बीपी जेलबाट रिहा भए। त्यसपछि बीपी भारत गए। बीपीले ‘अब राजाले बन्दुकको आवाजमात्र सुन्छ’ भन्ने तर्क गर्दै सशस्त्र क्रान्ति गर्नुपर्छ भन्न थाले। बीपीले लण्डनबाट सशस्त्र क्रान्तिको घोषणा गरे। २०१८ सालमा सुवर्ण शमशेरले गरेको सशस्त्र क्रान्तिको हतियारबारे पनि बीपी र सुवर्णबीच कुरा बाझियो। बीपी तिनै हतियारले फेरि राजाविरोधी आन्दोलन चर्काउन चाहन्थे। अन्त्यमा बीपीले फेरि पनि हतियार उठाए। तर, बीपी असफल भए। लेखक कृष्ण धराबासी भन्छन्, “२०३३ सालमा मेलमिलापको नीति लिएर बीपी नेपाल फर्के। बीपी त सुवर्णकै लाइनमा आए। मेलमिलापको नीति सुवर्णकै हो।”

बीपीको योगदान

बीपीको लामो समय जेलमै बित्यो। जेलबाट राजनीति सम्भव थिएन। त्यसैले उनले अर्को माध्यम रोजे। उनले आख्यान र गैरआख्यानका दर्जनौं किताब लेखे। ती पुस्तकले नेपाली साहित्यमा विशिष्ट स्थान बनाए। उपन्यास र कथा विधामा कोइराला अग्रणी मानिए।

साहित्यमा पनि विलक्षण प्रतिभा देखाएका कोइरालाको नेपाली राजनीतिमा त विशिष्ट योगदान हुने नै भयो। उनको योगदान हेर्न सबभन्दा पहिले प्रजा परिषद्मा फर्कनुपर्छ। नेपालबाट राणा शासन ढाल्न प्रजा परिषद्ले मुख खोल्यो। राणाविरुद्ध मुख खोल्नु नै ठूलो आन्दोलन थियो।

आफ्नो विरोध गरेका कारण राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दलाई मृत्युदण्ड दियो। बाहुन भएकाले टंकप्रसाद आचार्य र रामहरि शर्मा मृत्युदण्डबाट जोगिए। सर्वश्वहरणसहित आजीवन काराबासको सजाय पाए। यसरी जुद्ध शमशेरले प्रजा परिषद्ले बालेको राणा विरोधी आन्दोलनको आगो निभाइसकेका थिए। त्यस्तो बेला बीपीले नै राणाविरोधी आन्दोलनकाे आगो ब्यूँझाए। त्यसमा घ्यू थपे। ती मध्ये मजदुर आन्दोलन मुख्य थियो। जुन आन्दोलनले राणाविरोधी भावना जनमानसमा फैलाउनेमात्र होइन, जनजागरण नै फैलायो। क्रान्ति गर्ने कांग्रेस हो भनेर जनतासम्म पुग्न मद्दत गर्‍यो।

बर्माबाट हतियार ल्याएर २००७ को क्रान्ति सफल बनाउन पनि बीपीको योगदान रह्यो। राणाविरुद्धको आन्दोलनमा बीपी दुई पटक जेल परे। उनले नै अन्तर्राष्ट्रियरूपमा जनमत बनाएका थिए। फलस्वरूप उनी जेल पर्दा जवाहरलाल नेहरू, महात्मा गान्धीको दबाब र चिठीले रिहा भए।

सोसलिष्ट इन्टरनेशनलको उपाध्यक्ष भए। नेपाललाई अन्तर्राष्टिय मञ्चमा बीपीले नै चिनाए। जिम्मी कार्टर, माओ, नेहरूसँग संवाद गर्ने उनै हुन्। कांग्रेस नेता कार्यकर्ताले बीपीलाई देवत्वकरण गर्दै महामानवकै संज्ञा दिएका छन्। बीपीले नेपालमा लोकतन्त्रको मूल्यमा सम्झौता नगर्ने व्यक्तित्व बनाए। उनले लोकतन्त्र र राष्ट्रियताबारे सम्झौता गरेनन्।

कांग्रेस अहिले पनि बीपीले त्यसबेला व्याख्या गरेको समाजवाद, प्रजातन्त्रले बाँचेको छ। उनै बीपीको फोटो देखाएरै राजनीतिक खेती गरिरहेको छ। लेखक धराबासी भन्छन्, “कांग्रेसको जति नीति, विधि र सिद्धान्तका कुरा छन्, ती सबै बीपीले बनाएका थिए। कांग्रेसले अहिले पनि बीपीकै अनुहार देखाएर राजनीति गरिरहेको छ।”

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved