कांग्रेसका सभापति-२

मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

उनी त सरकारी जागिरे हुन चाहन्थे तर संयोगले राजनीतिमा आए, संयोगवश नै प्रधानमन्त्री बने।

मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

“विज्ञान छुटेपछि म त्रिचन्द्रमा आर्ट्स पढ्न थालेँ। निषेधाज्ञाको बेला थियो। जुलुस निकाल्ने ठाउँमा निर्मल लामासँग भेट भयो। म बनारसमा हुँदा नै चिन्थें उहाँलाई। नेपाल प्रजातन्त्र कांग्रेसको तर्फबाट अफिस सेक्रेटरी भएर बनारसमा उहाँ बस्नुभएको थियो पहिले। ‘लौ–लौ कमल, तिमी पनि आइपुगेछौ। कहाँबाट आयौ? जुलुसमा जान लाग्यौ कि के हँ? लौ आज त तिमी पनि जानुपर्छ।’ उहाँले जिस्केर भन्नुभयो या साँच्चै भनेको हो? मैले भेउ पाइनँ। अरूहरूले पनि जान्छौ त? भनेर सोधे। लौ न त जाउँ भनेर जुलुसतिर लागियो। म लहडमै जुलुसमा निस्किएँ। मलाई प्रहरीले पक्राउ गर्‍यो। ‘पिताजीले नै अर्डर गर्‍या हो भनेर कुनै प्रहरी अफिसरले भन्यो।’ फोनमार्फत हामीलाई पक्रन आदेश दिनुभएछ क्यार उहाँले। एकछिनपछि डिल्लीरमण रेग्मीका छोरा मदन रेग्मी पनि मलाई भेट्न हनुमानढोका आइपुगे। उनी मित्रताको नाताले केवल मलाई भेट्न आएका थिए। त्यतिखेर मदनका बा डिल्लीरमण रेग्मी गृहमन्त्री थिए भने मेरा बा प्रधानमन्त्री। प्रधानमन्त्री र गृहमन्त्रीका दुवै छोरा जेलमा आइपुग्यौं। हामी पक्राउ परेको खबर अखबारभरि छायो। प्रधानमन्त्री र गृहमन्त्रीका छोरा त कम्युनिष्ट पो रहेछन् भन्ने सन्देश फिँजियो। त्यही घटनापछि म कम्युनिष्ट राजनीतिमा लागें। मदनचाहिँ उति सक्रिय राजनीतिमा लागेनन्।”

मातृकाप्रसाद कोइरालापुत्र कमल कोइरालाले कम्युनिष्ट बन्नुको कारण खुलाउन सुनाएको प्रसंग हो यो। कोइराला परिवारबाट कमल कम्युनिष्ट नै भए। उनका पिता मातृका भने २००७ को राणा शासनविरोधी सशस्त्र क्रान्तिको प्राधिकारप्राप्त कमाण्डर थिए। प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री पनि।

मातृकाप्रसाद कोइराला १७ पुस १९६८ मा जन्मिए, कृष्णप्रसाद कोइरालाको जेठा छोराको रूपमा। कृष्णप्रसादका दुई श्रीमतीमध्ये जेठी मोहनकुमारी कोइरालाबाट मातृकाप्रसाद मात्र जन्मे। कान्छी श्रीमती दिव्या कोइरालाबाट भने बीपी, गिरिजाप्रसाद, केशवप्रसाद र तारिणीप्रसाद।

संयोगले सभापति

मातृकाप्रसादको राजनीतिक जीवन भारतीय स्वतन्त्रता संग्रामबाट सुरू भयो। जहाँ थिए, डा. राजेन्द्र्रसाद, डा. मनोहर लोहिया र लालबहादुर शास्त्री। तिनै नेतासँगै आन्दोलनमा लागे। त्यसैक्रममा भारतको बिहारस्थित मोतीहारी जेलमा पनि बसे।

गान्धीवादी दर्शनबाट प्रभावित मातृकाप्रसादले भारतमा उच्च शिक्षा लिए। नेपाल फर्के। सरकारी जागिरे भए।

कमलका अनुसार मातृकालाई राजनीति गर्न मन थिएन। जागिर खाने सोचमा थिए उनी। त्यसैबेला रामशमशेरले मातृकालाई भने, “एउटा अमेरिकन हिमाल अवलोकन गर्नका लागि आउँदैछ। पहिले पनि तपाईंले अंग्रेजको साथमा दोभासे र अनुवादकको काम गरिसक्नुभएको छ। यो पटक पनि तपाईंले विदेशीलाई घुमाउनुपर्‍यो।”

त्यतिखेरसम्म मातृकाले सरकारी जागिर खाइसकेका थिए। ‘वन (विभाग)को सल्लाहकार भएर आएका अंग्रेज स्मिथिजसँग काम गर्न अंग्रेजी भाषा राम्ररी जान्ने व्यक्ति चाहिएकाले उनी नै छानिएका भन्ने एकथरी छन् भने अर्काथरीले भने मातृकाप्रसादलाई राजनीतिबाट अलग गराउन नोकरीमा भुलाउने उद्देश्य रहेको भन्नेहरू पनि छन्’ (भैरव रिसाल, मातृकाप्रसादः नायव सुब्बादेखि प्रधानमन्त्रीसम्म, हिमालखबर, १३ मंसिर, २०७७)।

पत्रकार भैरव रिसालका अनुसार त्यसबेला वन विभाग (तत्कालीन वन गोश्वारा) थियो भने राणा प्रधानमन्त्री थिए, जुद्धशमशेर। भारतको उत्तरप्रदेशमा कञ्जरभेटर भएर काम गरिसकेका एकजना अंग्रेज (स्मिथिज)लाई सरकारले नेपालको वनको सल्लाहकार बनायो। उनी नेपाल आए। त्यो जमानामा नेपालको राजश्व आम्दानीको ठूलो स्रोतमा जंगल पनि पथ्र्यो। राजश्व आम्दानीको हिसाबले मालपोत पहिलो, भन्सार दोस्रो, टक्सार तेस्रो र वन चौथो थियो।

मातृकापुत्र कमल कोइरालाले भनेका छन्–

बीपी कोइरालाले जेलमा रहेको टंकप्रसाद आचार्यलाई सभापति बनाएर र आफू कार्यकारी सभापति भएर नेपाली राष्ट्रिय कांग्रेसको गठन गर्नुभयो। २००३ साल फागुनमा विराटनगरमा भएको मजदूर आन्दोलनमा बीपी कोइराला पक्राउ पर्नुभयो। त्यही दिन एउटा सभा हुँदै थियो मजदुरहरूको। म र मेरो आमा पनि जोगबनी गएका थियौं जुलुसका साथमा। पिता पनि कुन सन्दर्भमा त्यहाँ आउनुभयो। जुलुसमा थुप्रै मजदुरहरू थिए। त्यतिखेरका नेपाली कांग्रेसका महामन्त्री बालचन्द्र शर्माले त्यसैबीचमा तुरून्त उठेर, ‘आज हम सब लोगका नेता पक्राउ हो गया है, लेकिन खुशी है, उनके बडे भाई, बीपी कोइरालाके बडे भाइ मातृकाप्रसाद कोइराला आप लोगोंके बीचमे है। हम उनसे अनुरोध करते हैं कि इस नेपाली राष्ट्रिय कंग्रेसको नेतृत्व प्रदान करें और सत्याग्रहको भी नेतृत्व प्रदान करें’ भन्नुभयो। त्यतिखेर हिन्दीमा बोल्ने प्रचलन थियो। यसरी मन नहुँदानहुँदै पनि मातृकाप्रसाद कोइराला राजनीतिमा हेलिन पुग्नुभयो। इतिहासले कसैकसैलाई ठेलेर कहाँसम्म पुर्‍याउँदो रहेछ। जागिर खाने र खरदार–सरदार के हुने यस्तै सपना थियो उहाँको। बाले पछि आफ्नो आत्मकथामा पनि ‘आफूलाई राजनीति गर्ने रहर थिएन’ भनेर लेख्नुभएको छ ( प्रकाश अजातले कमल कोइरालासँग नेपाल रिडर्समा गरेको कुराकानी)।

बीपी कोइरालाहरू पक्राउ परेपछि २३–२७ चैत २००३ सालमा जोगबनीमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भयो। सम्मेलनले बीपी कोइराला रिहा नहुँदासम्म मातृकाप्रसाद कोइरालालाई नेपाली राष्ट्रिय कांग्रेस कार्यवाहक सभापति छान्यो (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पृष्ठ ९६)।

२००४ सालको विराटनगर जुट मिलको श्रमिक आन्दोलन नेतृत्व पनि मातृकाले नै गरे। त्यो नै राजनीतिमा सक्रिय भूमिकाको उनको पहिलो कदम थियो। १८–२० फागुन २००५ सालमा सम्पन्न कांग्रेसको तेस्रो महाधिवेशनले उनलाई नेपाली राष्ट्रिय कांग्रेसको सभापति चुन्यो। (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज १३९)।

२००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) र नेपाली प्रजातन्त्र कांग्रेसबीच एकता भएर नेपाली कांग्रेस गठन हुँदा उनी सभापति भए।

२००७ सालको क्रान्तिपछि गठित राणा–कांग्रेस सरकार विघटन भए लगत्तै मातृकाप्रसाद कोइरालाको नेतृत्वमा २००८ सालमा पहिलो नागरिक सरकार बन्यो। तर नेपाली कांग्रेसमित्र मातृका–बीपी कलहले सरकार भने एक वर्ष पनि टिकेन। मातृकाप्रसादले नेपाली कांग्रेस त्यागे। नेपाल प्रजा पार्टी खोले।  २०१० मा फेरि मातृकाप्रसाद प्रधानमन्त्री बने।

जोगैले प्रधानमन्त्री

जनताको छोरो प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुने सौभाग्य पाए, मातृकाप्रसाद कोइरालाले। इतिहासकार चित्तरञ्जन नेपालीका अनुसार प्रधानमन्त्री दर्जा पाउने पनि उनै कोइराला हुन्। पहिले प्रशासनिक प्रमुखको पदमा नियुक्त गर्दा ‘मुख्तियार’ भन्थे। राजाले माथवरसिंह थापालाई ‘मिनिष्टर’ भने। त्यसपछि ‘प्राइममिनिष्टर’। चौतरिया फत्तेजंग शाहलाई पुनः ‘मुख्तियार’ भनियो। जंगबहादुरलाई पनि शुरुमा ‘मुख्तियार’ दर्जा नै प्रदान गरे। पछि मात्र ‘प्राइममिनिष्टर यान् कम्याण्डर इन्चीफ’। नेपालीका अनुसार राणाशासन अवधिभर प्रशासनिक प्रमुखलाई प्रदान गरिने दर्जा ‘प्राइममिनिष्टर यान् कम्याण्डर इन्चीफ’ नै कायम रह्यो। एकपटक भने कम्याण्डर इन्चीफको स्थानमा ‘मार्शल’ले प्रवेश पायो। पछि मार्शलको ठाउँ ‘सुप्रीम कम्याण्डर इन्चीफ’ ले लियो।

नेपालको इतिहासमा औपचारिकरूपमा एवं शाब्दिक रूपमा नै ‘प्रधानमन्त्री’ दर्जा प्रदान गर्ने कार्य १ मंसीर २००८ सालमा नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा मन्त्रिमण्डल गठन हुँदा गरिएको थियो। जंगबहादुरकालीन समयमा प्रशासनिक प्रमुखको रूपमा शुरुमा ‘मुख्तियार’ र पछि गएर ‘प्राइममिनिष्टर’ शब्दको प्रयोग भै नेपालीमा ‘प्रधानमन्त्री’ शब्दको प्रयोग भएको देखिँदैन। तर त्यसै पदको समानार्थक शब्दको रूपमा ‘वजिर’ शब्दको प्रयोग भने व्यक्तिगत चिठीपत्रका साथै औपचारिक रूपमा जारी भएका लालमोहर पत्रमा समेत उल्लेख भएको देखिन्छ (चित्तरञ्जन नेपाली, राजेन्द्रको राज्यच्युति)।

२००७ सालको क्रान्तिपछि गठित राणा–कांग्रेस सरकार विघटन भए लगत्तै मातृकाप्रसाद कोइरालाको नेतृत्वमा २००८ सालमा पहिलो नागरिक सरकार बन्यो। तर नेपाली कांग्रेसमित्र मातृका–बीपी कलहले सरकार भने एक वर्ष पनि टिकेन। मातृकाप्रसादले नेपाली कांग्रेस त्यागे। नेपाल प्रजा पार्टी खोले।  २०१० मा फेरि मातृकाप्रसाद प्रधानमन्त्री बने।

एमपी–बीपी टकराव

एमपी र बीपी दुई भाइबीच टकराव बढ्यो। तिनको व्यक्तित्व टकरावको असरले कांग्रेस कहिले टुक्रियो त कहिले कचिंगलमा फस्यो। खासमा के के कारण थिए, टकरावका? टकराव पदको कारण थियो कि सैद्धान्तिक?

विद्धानहरूका फरकफरक व्याख्या छन्। एकथरी त, सौताका छोरा भएकाले त्यसको प्रतिबिम्बको रूपमा टकरावमा बाहिरिएको हो पनि भन्छन्।

एमपी र बीपीबीचको टकराव सैद्धान्तिक ठान्नेका अनुसार बीपी सैद्धान्तिक थिए भने एमपी व्यवहारवादी। बीपी स्वतन्त्रता र लोकतन्त्रमा सम्झौता गर्न हुन्न भन्थे। मातृका भने नेपालको भूराजनीतिअनुसार नेपालको परिवर्तनमा राजा र भारतको पनि शेयर छ, तिनलाई नकारेर जान सकिन्न भन्ने मान्यता राख्थे। बीपी, मातृका र गिरिजाप्रसाद कोइरालाबारे अध्ययन गरेका अध्येता जगत नेपालका अनुसार ‘दाइभाइको झगडा भन्दा पनि सैद्धान्तिक हो।’

राजनीतिक विश्लेषक गोेविन्द अधिकारी पनि ‘एमपी र बीपीको सम्बन्ध लभ एण्ड हेट’को ठान्छन्।

मातृका–बीपी टकरावको शुरुआत मातृका प्रधानमन्त्री भएदेखि शुरु भयो। सरकार सञ्चालन र पार्टी सञ्चालनका विषयमा भएको विवादका बीच १३ जेठ २००९ मा कांग्रेसको पाँचौँ महाधिवेशन भयो। उक्त महाधिवेशनमा बीपी र एमपी (बीपी कोइराला र मातृकाप्रसाद कोइराला) दुई भाइबीच सभापतिका लागि विवाद र झिनाझपटी भयो। अन्ततः एक व्यक्ति, एक पदको नीति अंगीकार गर्दै मातृकाले सभापति पद छोडिदिए। तर सरकार र पार्टीबिच विवाद रोकिएन। पार्टीकै निर्देशनमा मातृकाले सरकार त छोडे नै पार्टी पनि विभाजन गरेर नयाँ बनाए, ‘राष्ट्रिय प्रजा पार्टी’।

त्रिभुवन र नेहरूका प्रिय

मोहनशमशेरले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि २००८ सालमा मातृकालाई राजा त्रिभुवनले प्रधानमन्त्री बनाउनुपछाडि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको सल्लाह पनि थियो। उनी नेहरूका प्रिय थिए, बीपी भन्दा पनि। नेहरूले सबभन्दा धेरै पत्र राजा त्रिभुवन र तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई लेखेका छन्।

प्रधानमन्त्रीका रूपमा मातृकाले ६–९ जनवरी १९५२ मा दिल्ली भ्रमणताका भारत र नेपालको रक्षा र विदेश नीतिमा निकट समन्वयन गर्ने समझदारी भएको नेहरूले उल्लेख गरेका छन्। उनले २५ अप्रिल १९५२ मा मातृकाप्रसादलाई त्यही लेखेका छन् (सुधीर शर्मा, अन्नपूर्ण पोष्ट ८ मंसीर २०७५)।

शर्माका अनुसार त्यसै दिन नेहरूले राजा त्रिभुवनलाई पठाएको अर्को पत्रमा चाहिँ सन् १९५० को शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्दा गरिएका पत्राचारहरूको हवाला दिएका छन्। त्रिभुवनलाई नेहरूले लेखेको चिठी उद्धृत गर्दै शर्माले दुई देशले विदेश नीतिमा परामर्श एवम् समन्वय गर्नुपर्ने सहमतिलाई नेपालले बेवास्ता गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्। शर्माका अनुसार अहिले जुन ‘सूक्ष्म व्यवस्थापन’ भन्ने गरिन्छ, २००७ सालपछिको संक्रमणमा त्यसको चरम रूप देखापरेको थियो।

शर्माका अनुसार दाजुभाइ भए पनि मातृका र बीपीबीच राजनीतिक प्रतिद्वन्द्विता त थियो नै, त्यो आगोमा घिउ थप्ने धेरथोर भूमिका नेहरूले निरन्तर खेलिरहे।

मोहनशमशेर नेतृत्वको राणा–कांग्रेस सरकार ढलेपछि कसलाई प्रधानमन्त्री बनाउने भनेर नेहरूले लामै मन्थन गरेको शर्माले उल्लेख गरेका छन्। उनका अनुसार सुवर्णशमशेर, केशरशमशेर, सूर्यप्रसाद उपाध्याय र भद्रकाली मिश्रको नाम लिएका छन्। अन्त्यमा दुईजनाको नाममा अडिन्छन्– बीपी र एमपी(मातृकाप्रसाद) कोइराला। विदेश मन्त्रालयका महानिर्देशकलाई नेहरूको नोट (अक्टोबर २८, १९५१) भनेर उद्धृत गदै शर्माले थपेका छन्, ‘मलाई लाग्दैन प्रधानमन्त्रीका लागि बीपी कोइराला ठीक छनोट हुनेछन्। त्यस्तो नियुक्तिले सरकारलाई दह्रो बनाउनुको साटो कमजोर बनाउनेछ। आफ्नो हातमा अधिकार केन्द्रित गर्ने बीपीको बानीले अरू प्रोत्साहन पाउनेछ र उनी अझै बढी अधिनायकवादी हुनेतिर जानेछन्। मैले देखेको एकमात्र उपयुक्त प्रधानमन्त्री भनेका मातृकाप्रसाद कोइराला हुन्।’

शर्माका अनुसार दाजुभाइ भए पनि मातृका र बीपीबीच राजनीतिक प्रतिद्वन्द्विता त थियो नै, त्यो आगोमा घिउ थप्ने धेरथोर भूमिका नेहरूले निरन्तर खेलिरहे।

मातृकाप्रसाद कोइरालालाई दोस्रोचोटी प्रधानमन्त्री पनि नेहरूले नै भूमिका खेले।

मातृकाको योगदान

पार्टी सभापतिको रूपमा मातृकाको योगदान कांग्रेसजनमा मात्र होइन, नेपालको लोकतान्त्रिक इतिहासमै सम्झनलायक छ। लेखक जगत नेपालका अनुसार मातृकाका निम्न योगदान छन्ः

एक, जुटमिल आन्दोलनलाई नेतृत्व गरे। त्यसैताका कांग्रेसलाई जनमानसमाझ परिचित गराउनेमात्र होइन, जनतामाझ कांग्रेसबारे सकारात्मक सन्देश प्रवाह भयो।

दुई, २००७ को सशस्त्र क्रान्तिको प्राधिकारप्राप्त कमाण्डर मातृकाप्रसाद कोइरालाले उक्त क्रान्तिको बैठान पनि गराए।

तीन, सभापति कोइराला नै पहिलो जनताको छोरा प्रधानमन्त्री भए। यो आफैमा ठूलो सन्देश थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved