कांग्रेसका सभापति-१

टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

आचार्यलाई सभापति बनाउनुका केही कारण सुनाउँछन्, राजनीतिक विश्लेषक पुरन्जन आचार्य। एक, राणाविरोधी आन्दोलन र जेल जोड्न। दुई, प्रदेश र स्वदेशको कांग्रेस भावनात्मकरुपमा जोड्न। तीन, बीपीको देशभित्र राष्ट्रिय पहिचान बनिसकेको थिएन। तर आचार्यको त राष्ट्रिय व्यक्तित्व थियो। उनका साथी चारजना शहीद भइसकेका थिए।

टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

ती दिनहरूमा हाम्रो दिनचर्या धेरैजसो जेलको यात्राबाट शुरु हुन्थे। बिहान उठेर कमला र म तरकारी, दूध र अन्य खाना पुर्‍याउन जेल जान्थ्यौं। भद्रगोल जेलको ढोका बलिया डन्डीले बनेका थिए। डन्डीबाट अलिअलि भित्र देखिन्थ्यो। तर हाम्रा बुवाहरूलाई राखेको गोलघरपट्टि त ढोका पनि मोटो टिनको थियो, बाहिरबाट केही देखिँदैन थियो। हामीलाई बुवासँग भेट्न त परै जाओस्, देख्न पनि दिइँदैन थियो। हामीले १० वर्षसम्म त्यही मोटा ढोकाको पल्लातिर हाम्रा पूज्य पिताजीहरू बस्नुहुन्छ भन्ने सुनेका मात्र थियौं (हामी कैदीका छोरीहरू, अस्मिता, २०५२, साउन)

यो संस्मरण अंश हो। जुन संस्मरण एक भाग्यमानी पिताको एक भाग्यमानी पुत्रीको हो। यस मानेमा भाग्यमानी कि, ती पिताले ‘संरचनागत लाभांश’ नपाउँदा हुन् त जेल जाने ‘मौका’ नै पाउने थिएनन्। संरचनागत लाभांश नहुँदो हो त, उनका सहयात्री धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीजसरी मृत्यु दण्ड पाउँथे।

बाल्यकाल सम्झँदै लेखेको ती भाग्यमानी छोरीको संस्मरण अंश अनुसन्धाता देवेन्द्र उप्रेतीले अन्नपूर्ण पोष्ट दैनिक (२३ चैत २०७५)को ‘राजनीतिक मैदानमा प्राज्ञिक खेलाडी’ लेखमा उद्धृत गरेका छन्। त्यसपछि उनले ‘संरचनागत लाभांश’ले कसरी बचायो भनेर उल्लेख गरेका छन्, “ब्राह्मण भएका कारण टंकप्रसाद र रामहरि शर्माले आजीवन कारावासको सजाय पाए। उनीहरूको सबै श्रीसम्पत्ति, जायजेथा राणा शासकले सर्वस्वहरण गरे।”

हिन्दु वर्णाश्रमवाल जात व्यवस्थाको वरीयतामा बाहुनलाई सबभन्दा माथि राखिएको छ। ‘बाहुन मारे पाप लाग्ने र स्वर्ग जाने बाटो बन्द हुने डर’ यति जब्बर्जस्त कि, बाहुन मार्न त्यसबेलाको राणा शासकसमेत हच्क्यो। ती भाग्यमानी छोरी नारीवादी अर्थशास्त्री मीना आचार्य हुन् भने भाग्यमानी पिता टंकप्रसाद आचार्य।

आचार्य जेल जाँदा मीना करीब तीन वर्षकी थिइन्। जेल परेपछि आचार्यपत्नी रेवन्तकुमारीले सक्रिय राजनीति थालिन्। उप्रेतीले लेखेका छन्, ‘२००४ सालमा रेवन्तकुमारीको नेतृत्वमा जनकपुरमा ‘नेपाल महिला संगठन’ गठन भयो। यो संगठन नेपालमा महिला अधिकारका लागि स्थापित सम्भवतः पहिलो राजनीतिक संस्था हो। नेपालमा महिला आन्दोलनको संस्थागत शुरुवात यसै संगठनले गरेको मानिन्छ।’

मीना जन्मनुभन्दा करीब एक वर्षअघि १४ जुन १९३६ मा आचार्यकाे अगुवाइमा नेपाल प्रजा परिषद् गठन भएको थियो। यो नै नेपालको पहिलो राजनीतिक दल थियो। राणा शासन ढाल्न गठित परिषद्मा थिए- १९९७ मा मृत्युदण्ड दिइएका श्रेष्ठ, चन्द, माथेमा र शास्त्री। परिषद् नेतृत्व गरेका आचार्यसहित रामहरि शर्मा भने बाहुन भएकाले बाँचे। तिनका काराबास र सर्बश्वहरण भयो।

कांग्रेस पहिलो महाधिबेसनः जेलरत आचार्य सभापति

अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसले २००३ माघ १२-१३ गते कलकत्ता भवानीपुर खाल्सा हाइस्कुलमा सम्मेलन गर्‍यो। सम्मेलन उद्घाटन गर्न राममनोहर लोहियालाई ल्याउने प्रयास गरिएको थियो। अन्तमा डा.डिल्लीरण रेग्मीले सम्मेलन उद्घाटन गरे। (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारुप, पेज ८०)

सम्मेलनमा पार्टी नामबारे बहस भयो। गणेशमान सिंहले नेपाल स्वतन्त्र राष्ट्र हो भनेर अखिल भारतीय राष्ट्रिय कांग्रेस नाममा आपत्ति जनाए। उनले ‘अखिल भारतीय’ भन्ने शब्दप्रति विरोध जनाए। पार्टीको नाम नेपाल प्रजा परिषद् राख्न जोड दिए। सिंह कथन थियो, ‘विश्वेश्वरप्रसाद कोइरालाले एक कुनामा लगी मलाई नामसँग केही मतलब छैन, सिर्फ नेपालमा प्रजातन्त्र आउनुपर्छ। तर, भारतीयहरुको मन र विश्वास जित्न यसको नाम ‘कांग्रेस’ भन्ने शब्दसँग जोड्नु नै पर्छ भनी सम्झाए। त्यसमा म पनि सहमत भएँ (राजेश गौतम नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस -भाग १, पेज ५१)।

प्रस्तावित नाम नेपाल नेसनल कन्फ्रेन्स र नेपाल नेसनल कांग्रेस पनि थिए। लामो छलफलपछि नेपाली राष्ट्रिय कांग्रेस नाम सर्बसम्मत भयो(पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारुप, पेज ८१)।

सहभागीहरु बीपी कोइरालालाई पार्टी सभापति बनाउन चाहन्थे। सम्मेलन उद्घाटन गरेका रेग्मी आफू सभापति हुन चाहन्थे। तर, रेग्मीको नाउँ कसैले सिफारिस गरेनन्। गणेशमान सिंहले काराबासरत टंकप्रसाद आचार्यको नाउँ लिएर सभापतिको प्रस्ताव गरे। सभापतिमा आचार्यको प्रस्तावप्रति बीपी सकारात्मक भए। उनलाई लाग्यो, आचार्य जेलमा रहेको बेला सद्भावनाको संकेत पनि हुन्छ। त्यसपछि बीपीले पनि ‘टंकप्रसाद नै अध्यक्ष बनून्’ भने।

अन्ततः आचार्य सर्वसम्मत सभापति भए। नेपाली राष्ट्रिय कांग्रेसको पहिलो सभापति। बीपी कोइराला कार्यवाहक सभापति भए। आचार्य नेपाल प्रजा परिषद्को सभापति हुँदाहुँदै नेपाली राष्ट्रिय कांग्रेसको पनि सभापति भए। (राजेश गोतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग १, पेज ६२)

स्मरणीय त के भने, २००३ मा कांग्रेस सभापति भएका आचार्य नै प्रजा परिषद अध्यक्ष पनि थिए। जो जेलमै थिए। आचार्य जेलमै भएको बेला पार्टी फुट्यो। डिल्लीरमण कार्यबाहक भए। आचार्य जेलमै हुँदा सभापति पद पनि यसै हरायो। जेलमुक्त भएपछि उनी प्रजा परिषद् सभापति भने रहे। एउटै व्यक्ति एउटा दलको सभापति हुँदाहुँदै उसैलाई नै अर्को दलको पनि सभापति बनाइएको नेपालमा यो नै पहिलो र अन्तिम थियो (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग १, पेज ६३)

आचार्यलाई सभापति बनाउनुका केही कारण सुनाउँछन्, राजनीतिक विश्लेषक पुरन्जन आचार्य। एक, राणाविरोधी आन्दोलन र जेल जोड्न। दुई, प्रदेश र स्वदेशको कांग्रेस भावनात्मकरुपमा जोड्न। तीन, बीपीको देशभित्र राष्ट्रिय पहिचान बनिसकेको थिएन। तर आचार्यको त राष्ट्रिय व्यक्तित्व थियो। उनका साथी चारजना शहीद भइसकेका थिए।

पत्रकार एवं अनुसन्धाता एवं पत्रकार गोविन्द अधिकारी भने आचार्यलाई सभापति बनाउनुलाई ‘क्रान्तिकारी ह्विम्’ मान्छन्।

पहिलो सम्मेलनले नेतृत्व यस्तो चुन्योः
सभापति टंकप्रसाद आचार्य (१९९७ सालदेखि भद्रगोल जेलमा), कार्यवाहक सभापति- विश्वेश्वरप्रसाद कोइराला, मन्त्री- बालचन्द्र शर्मा, प्रकाशन विभाग अध्यक्ष- डिल्लीरमण रेग्मी, संगठन मन्त्री- कृष्णप्रसाद भट्टराई थिए। राजेश गौतमले भुवनलाल प्रधानलाई उद्धृत गर्दै
कोषाध्यक्षमा देवशंकर लाल श्रेष्ठ र सदस्यमा डीबी परियारको नाम उल्लेख गरेको जनाएका छन्। गौतमले उल्लेख गरेअनुसार अन्य सदस्यहरुमा गोपालप्रसाद भट्टराई, रुद्रप्रसाद गिरी, डीएन प्रधान, सीबी सिंह, लाक्पा छिरिङ शेर्पा थिए।

कांग्रेस पार्टी सभापतिमात्र भन्दा पनि जेल पर्नुअघि नै प्रजा परिषद् सभापति भएर आचार्यले राणाशाहीविरुद्ध आन्दोलन नेतृत्व गरे। जसको लागि राजनीतिक पार्टी नै खोले, प्रजा परिषद्। विश्लेषक आचार्यका अनुसार लोकतन्त्रलाई संस्थागत गर्न पनि उनको योगदान रह्यो।

हक्की टंकप्रसाद

सशस्त्र क्रान्तिको प्राधिकार प्राप्त मातृकाप्रसाद कोइरालाको अगुवाइमा सम्पन्न २००७ को क्रान्तिले कांग्रेसको दबदबा र रापताप यति थियो कि, कांग्रेस पहिलो सभापति आचार्य जेलमुक्त भएपछि ओझेल परे। प्रजा परिषद् भने चलाए। तर, परिषद् काठमाडौंबाट बाहिर फैलिन सकेन। काठमाडौंमै पनि परिषद् खुम्चियो। बिस्तारै आचार्य पञ्चायततिर ढल्कन थाले। पत्रकार एवं अनुसन्धाता अधिकारीका अनुसार चार नेताले राष्ट्रिय मेलमिलापको नारा लिएर नेपाल फर्केपछि बीपी कोइरालाको विरोधमा विज्ञप्ति नै जारी गरे। ती आचार्यसहित केशरजंग रायमाझी, डिल्लीरमण रेग्मी र सूर्यप्रसाद उपाध्याय थिए।

राजा महेन्द्रले आचार्यलाई २०१२ सालमा प्रधानमन्त्री बनाए। ‘समयमा आम निर्वाचन गर्न नसकेको’ आरोप लगाई दुई वर्षपछि पदमुक्त गरे।
आचार्यलाई दरबारमा बोलाएर राजाले सल्लाह लिन्थे। उनै आचार्यको दरबार सम्बन्ध, उनको स्वभाव र आनीबानी सुनाउन पत्रकार भैरव रिसालले राजा वीरन्द्रको ‘जाँड-किस्सा’ हालेका छन्। किस्सा हाल्नुअघि थपेका छन्, “टंकप्रसाद छक्कापञ्जा केही नजानेका गौप्राणी थिए। देखे/लागेका कुरा सीधै भन्ने (भैरव रिसाल, ‘राजाले ड्रिङ्क नगरे कसले गर्छ’, हिमाल खबर, १४ पुस २०७५)

रिसालका अनुसार बेलाबेलामा राजाले सल्लाह माग्न आचार्यलाई बोलाउँथे। एक साँझको कुरा। राजा वीरेन्द्र जाँडपानमा मस्त थिए। राजाले यसरी जाँड खाएको आचार्यलाई चित्त बुझेन। ठाडै भने रे, ‘राजाले धेरै जाँड खानुहुँदैन। राजाले त देश पो चलाउनुपर्छ।’ रानी ऐश्वर्यले प्रतिवाद गरिन् रे, ‘राजाले ड्रिङ्क नगरे कसले गर्छ त? फेरि यो जाँड होइन, ब्राण्डी हो।’

आचार्य पनि के कम। तत्काल भने रे, ‘ब्राण्डी भने पनि ह्विस्की भने पनि असली नाम त जाँडै हो नि! यसले पनि नसा दिने त हो।’ राजाको जाँड किस्सा हालेपछि रिसालको थप्पन थियो, ‘आफूलाई चित्त नबुझेका कुरा निर्भीकतासाथ प्रस्तुत गर्न पछि पर्दैनथे। … महेन्द्रले बेलाबेलामा उनको राय लिने गर्थे। राजा र टंकप्रसादको सम्बन्ध अनौठो खालको थियो, कहिले नजिक, कहिले टाढा जस्तो।’

(नोट: कांग्रेसीजन महाधिवेशनको चपेटामा छन्। नेतृत्वमा पुग्ने होडबाजी छ। यस्तो बेला नेपालभ्यूजले विगतको नेतृत्वको अभ्यास र अनुभव खोतल्ने प्रयास गरेको छ। हिजो कांग्रेस कसरी संगठित गर्दै बढेको रहेछ ? सभापति र केही चर्चित कांग्रेसका पुराना अनुहारको चरित्र चित्रणमार्फत इतिहास नियाल्ने प्रयास यो विशेष श्रृङ्खलामा गरिनेछ- प्रधानसम्पादक।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved