कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

प्रजा परिषद्‍‌बाट राजनीतिक जीवनको शुरुवात गरेका गणेशमान सिंहले नेपाली कांग्रेस नामाकरणमा उल्लेख्य भूमिका खेलेका थिए। सात साल र ०४६ सालको आन्दोलनका नेता उनी न प्रधानमन्त्री भए, न त पार्टी सभापति नै तर अविस्मरणीय योगदान गरे।

कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

“यस्तो बेला नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो। त्यसरी मर्नु भनेको आत्महत्या गरेसरह हुन्छ। त्यसैले यो निर्णय फिर्ता लिनोस्। त्यसरी जानुपर्ने हो भने म चाहिँ जान्नँ। आजसम्म तपाईंका हरेक निर्णय मान्दैआएको छु। यो चाहिँ मान्दिनँ।”

“इण्डियामा बस्यो भने स्लो डेथ भयो, नेपाल गयो भने आत्महत्या। आत्महत्या र स्लो डेथमा हामीले कुनै त रोज्नै पर्‍यो नि। तपाईंलाई स्लो डेथ मनपर्ला। मलाई चाहिँ आत्महत्या मनपर्ला। आखिरमा दुवैमा त मर्नुपर्ने छँदै छ। मन्द विष खाएर मर्नुभन्दा त आफ्नै देशमा फाँसीमा झुण्डिनु बेस। यो विदेशी भूमिमा एकछिन पनि टिक्न सक्दिनँ।” (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ५, पेज ११)।

यो कुराकानी ककसको बीचमा भएको हुँदो हो? तपाईंले अनुमान लगाइसक्नुभयो होला। हो, यो कुराकानी बीपी कोइराला र गणेशमान सिंहबीच भएको थियो। बनारसमा। २०३३ सालको कुनै दिन।

कोइराला र सिंह दुवै निर्वासनमा थिए। नेपालमा भने पञ्चायतको जगजगी थियो। बीपी त्यही जगजगीमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कने साइत गर्दै थिए। सिंहलाई मनाउन कोशिस गर्दैथिए। नेपाल फर्कने विषयमा कोइराला र सिंहको मत बाझिएको थियो।

बीपीको तर्क सुनेपछि सिंहले धेरै जनासँग विचार विमर्श गरे। मन्थन गरे। अन्त्यमा कोइरालाकै शब्दमा ‘स्लो डेथ’ होइन, ‘आत्महत्या’ रोजे। बीपीको मेलमिलापको नीतिअनुसार नेपाल फर्कन सहमत भए।

बीपी र सिंह २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए। त्यसबेला भारत निर्वासनको सात वर्ष एघार महीना बितिसकेको थियो। नेपाल फर्कंदा साथमा थिए, शैलजा आचार्य, जगन्नाथ आचार्य, निलाम्बर पन्थी, रामबाबु प्रसाईं र खुमबहादुर खड्का(राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ५, पेज ११)

गणेशमानमा गान्धीगिरी

सिंहका जेठाबाजे सरदार थिए। उनी अड्डाबाट छुटेपछि राणाकहाँ चाकरी गर्न जान्थे र अबेर फर्कन्थे। घरमा आउँदा मीरसुब्बा र त्यसभन्दा मुनिका मानिस उनको चाकरीमा आउँथे। जेठा बाजे नआउञ्जेल ती मानिस अनेक गफ गरेर समय बिताउँथे।

त्यस्तै गफका प्रसङ्गमा एकदिन महात्मा गान्धीका कुरा गरेको गणेशमानले सुने। कसैले हिन्दुस्तानको ठूलो नेता मान्थे भने कोही चाहिँ देउताजस्तै हुन् भन्थे। तिनले भन्थे, ‘गान्धी जनताको जुन जीवनस्तर छ, त्यसैमा आफूलाई ढाल्थे र सन्तुष्ट हुन्थे’(हरि गौतम, नेपाली क्रान्ति र गणेशमान सिंह)

गान्धीको ‘गान्धीगिरी’ सिंहको बालमनमै बास बस्यो। फलस्वरूप सिंहको मन कहिल्यै पनि राणाकहाँ चाकरी गर्न जाने आफ्नै बाजे बडाकाजीतिर लागेन। लेखक जगत नेपालका अनुसार सिंहका बाजे त राणाका चारजना बडाकाजीमध्येकै एक थिए।

बालकैमा सिंहमनमा बसेको गान्धी प्रभावले होला, उनी १९९७ सालमा स्थापना भएको नेपालकै जेठो पार्टी प्रजा परिषद्मा लागे। राणा शासन ढाल्ने आन्दोलनमा होमिए। राणाको जेलबासी बने। भद्रगोल जेल ताडेर निक्ले। भारत पसे।

भारतमै बीपी कोइरालासँग भेट भयो। अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको १२-१३ माघ २००३ मा कलकत्ता भवानीपुर खाल्सा हाइस्कुलमा सम्मेलनमा भाग लिए (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज ८०)। सम्मेलनमा पार्टी नामबारे बहस भयो। सिंहले ‘नेपाल स्वतन्त्र राष्ट्र हो’ भनेर नाममा रहेको ‘अखिल भारतीय’ शब्दप्रति विरोध जनाए। प्रस्तावित नाम नेपाल नेसनल कन्फ्रेन्स र नेपाल नेसनल कांग्रेस पनि थिए। लामो छलफलपछि नेपाली राष्ट्रिय कांग्रेस नाम सर्वसम्मत भयो (पुरुषोत्तम बस्नेत, नेपाली कांग्रेसको इतिहासको प्रारूप, पेज ८१)

सम्मेलनमा सहभागी चाहिँ बीपीलाई पार्टी सभापति बनाउन चाहन्थे। डिल्लीरमण रेग्मी सभापति हुन चाहन्थे। तर, रेग्मीको नाउँ कसैले लिएनन्। सिंहले आफ्नो पार्टी सभापति (जो काराबासमा थिए), टंकप्रसाद आचार्यलाई प्रस्ताव गरे। आचार्य सर्वसम्मत सभापति भए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस-भाग १, पेज ६२)

सिंह जेल तोडेर भारत पसेपछि कृष्णबहादुर प्रधान बनेका थिए। भारत पुग्दासम्म सिंह राणाको मनमा भयंकर भिलेनको रूपमा ‘मिथ’ बनेका थिए भने राणा विरोधीको मनमा हिरो।

राणा शासन ढाल्न बन्दुक नै बोक्नुपर्छ भन्ने सुवर्ण शमशेरहरूको नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्टिय कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेस बन्यो। कांग्रेसले राणा शासन ढाल्न सशस्त्र क्रान्ति गर्ने निधो गर्‍यो। एक अगुवा भएर सिंहले क्रान्तिको मोर्चा सम्हाले।

क्रान्ति सफल भयो। एक सय चार वर्षे राणा शासन ढल्यो।

२०१२ सालमा वीरगन्जमा कांग्रेस महाधिवेशन भयो। सुवर्ण शमशेरविरुद्ध सिंह सभापति पदमा भिडे। सुवर्णलाई सभापति बनाउन बीपी नै लागिपरे। भलै बीपीले नै सिंहलाई सम्मानजनक भोट दिलाउन र सुवर्णलाई जिताउन देशैभरका कार्यकर्तालाई भनेका भनिन्छ।

ध्रुव सिम्खडा लेख्छन्, ‘२०१२ माघ ९-१३ गतेसम्म वीरगञ्जमा छैटौँ महाधिवेशन सम्पन्न भएको थियो। उक्त महाधिवेशनमा सुवर्ण शम्शेर र गणेशमान सिंहबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो। सुवर्ण शम्शेर दुई सय ३६ मत ल्याएर विजयी भए भने गणेशमान एक सय ७२ मत पाएर पराजित। महाधिवेशनमा ६ सय प्रतिनिधिहरू मतदाताका रूपमा सहभागी थिए। बीपीलगायत शीर्षनेताहरू सुवर्णको पक्षमा लागेका थिए भने गणेशमानलाई गिरिजाप्रसादले खुलेरै साथ दिएका थिए। यद्यपि, पार्टी पंक्तिमा डा. तुलसी गिरिले गणेशमानलाई भित्रभित्रै उक्साएको आरोप पनि लगाएका थिए। यसै महाधिवेशनबाट कांग्रेसले प्रजातान्त्रिक समाजवादी धारणा पारित गरेको थियो (ध्रुव सिम्खडा, सभापति बन्न इतिहासदेखि अहिलेसम्म उस्तै होडबाजी, कान्तिपुर, मंसिर १७, २०७८)।”

राणा र सिंहको सभापति भिडन्तलाई यसरी पनि व्याख्या गरिएको छ-

वीरगन्जमा पार्टीका दुई बलिया समूह थिए। एक समूह राजासँग सम्झौताको नीति अपनाएर अन्तरिम समयको सरकारमा सहभागी हुन चाहन्थ्यो। यो समूह सुवर्णलाई सभापति बनाउन चाहन्थ्यो। किनभने उनी उदारवादी सोचाइका थिए। अर्को समूह जुन सिंहको नेतृत्वमा थियो, जसको विचार निर्वाचन नभएसम्म संघर्षको नीतिलाई नै जारी राख्नुपर्छ भन्ने थियो। सुवर्णले जिते। सुवर्णले दुई सय ३६ मत पाए भने सिंहले एक सय ७२। त्यतिखेर कांग्रेसमा सम्झौतावादी बढी रहेको पुष्टि हुन्छ (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग २, पेज २९३)

सिंह कांग्रेस सभापतिमा भिडेको त्यो नै पहिलो र अन्तिम थियो।

गणेशमान सिंह कहिल्यै कांग्रेसको सभापति भएनन् तर कांग्रेसमा उनको भूमिका र स्थान कुनै पनि सभापतिको भन्दा विशिष्ट र उच्च रह्यो । पार्टीमा गणेशमान सिंहको कुनै गुट थिएन, सायद त्यसैले होला सभापति भएनन्। बिनापद, बिनागुट पनि पार्टीमा शीर्ष स्थान पाउन र सर्वमान्य नेता बन्न सकिन्छ भन्ने उदाहरण हुन्, गणेशमान सिंह (कृष्ण खनाल, गणेशमान सिंह र आजको कांग्रेस, कान्तिपुर, आश्विन ९, २०७८)

२०१५ सालको संसदीय चुनावबाट कांग्रेसले दुईतिहाइ बहुमत ल्यायो। बीपी कोइराला नेतृत्वको सरकार बन्यो। १ पुस २०१७ मा राजा महेन्द्रले बीपीको सरकार अपदस्तमात्र गरेनन्, संसदीय व्यवस्था नै ढाले। पञ्चायत व्यवस्था लागू गरे। सिंह जेल परे। बीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भए। भारतमा राजनीतिक संगठन विस्तार गरे। २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे।

बीपीको निधनपछि कांग्रेस

सिंहले २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे। २०४६ को आन्दोलनको त सर्वोच्च कमाण्डर नै भए। कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर बने। जनआन्दोलन सफल भयो।

२०४७ वैशाख ३ गते राजासँग सिंहको भेट भयो। राजा वीरेन्द्रले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे। आफू प्रजातन्त्रको वाचडग हुने भन्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सिफारिस गरे। त्यही अनुसार राजाले भट्टराईलाई प्रम बनाए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ८ पेज ७३)

राजालाई यसो भनेर एकैपाली सिंहले दुई सन्देश दिएका थिए। एक, प्रधानमन्त्री राजाले छान्ने होइन। दुई, सिंह पदलोलुप होइनन्। उसो त पञ्चायत कालमा पनि सिंहले राजाको प्रधानमन्त्री अफर अस्वीकार गरेका थिए। जोगमेहर श्रेष्ठले २०३३ तिर प्रधानमन्त्री बन्न राजाको आग्रहलाई सिंहले नमानेको उल्लेख गरेका छन् (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ६, पेज १११)

बीपी-जीपीसँग सिंहको मतभेद

बीपीको मेलमिलाप नीतिप्रति सिंहको असहमति थियो भन्ने त शुरुमै चर्चा भइसकेको छ। अन्त्यमा मात्र सहमत भएर सिंह बीपीसँगै नेपाल फर्केका थिए।

२०३५ को कुरा थियो। सिंह पनि तारिखमा छुटे। फेरि बीपीसँग राजाको विषयमा मतभेद भयो। खासमा संगठन विस्तार कसरी गर्ने भन्ने माध्यम र राजाप्रतिको मत मिलेन।

सिंह आन्दोलनलाई संगठन बिस्तारको माध्यम बनाउने र राजाले नै पञ्चायतको प्रारम्भ गरी टिकाउने काम गरेकाले पञ्चायतको मात्र विरोध नगरी राजाकै विरोध गर्नुपर्ने अडानमा थिए। बीपी भने तुरुन्तै संघर्ष र आन्दोलन गर्न नहुने एवं राजालाई पञ्चायतसँग गाँस्न नहुने सोचअनुरूप राजासँग मेलमिलाप गर्ने पक्षमा थिए (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग ५, पेज ९७)

सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भन्ने विषयमा भएको २०३६ को जनमतसंग्रहको विषयमा पनि बीपीसँग सिंहको मत मिलेन।

त्यो मतभेदले कांग्रेसीजन प्रभावित भए। कांग्रेस कार्यकर्तामाझ अन्योल छायो। सिंह र कृष्णप्रसाद भट्टराईको त ‘जनमत संग्रह घोषणामै शंका’ थियो। बीपी भने यसैको माध्यमबाट जनता जागृत गर्न सकिने तर्क गर्थे।

सिंहको तर्क थियो- ‘पञ्चायती व्यवस्थाभित्र उनीहरूकै कमिसारहरूका (अंचलाधीस, आईजीपी, सीडीओ) निगरानीमा जनमत संग्रह सम्पन्न गराइन्छ भने तिनीहरूले कुनै पनि हालतमा बहुदललाई जित्न दिँदैनन्। यसमा भाग लिनुको कुनै अर्थ छैन।’

बीपी भन्थे- ‘यदि तिनीहरूले त्यसरी हराएछन् भने यसैको निम्ति जनतामा जान पाउँछौँ। बोल्न पाउँछौँ। अहिले त हामीले केही गर्न पाएका छैनौँ। यदि हामी यसमा गएनौँ भने फेरि हामीले संघर्षको उही पुरानो बाटोमा जानुपर्छ। यसकारण यसलाई जनतामाझ जाने अवसरको रूपमा प्रयोग गर्नुपर्छ (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रस भाग ५, पेज १५२)।’

दाजु कोइराला(बीपी)सँगको मतभेदले त त्यस्तो भयानक रूप लिएन। तर, भाइ कोइराला(गिरिजाप्रसाद)सँगको मतभेदले भने उग्ररूप लियो। सिंहले कांग्रेस नै त्यागे।

राजनीतिक विश्लेषक कृष्ण खनाल लेख्छन्, “२०४८ सालको चुनावपछि गणेशमान र नेपाली कांग्रेसको अवस्था पनि त्यस्तै रह्यो। उनको असन्तुष्टि र विवाद गिरिजासँग मात्र थिएन, पार्टी सभापति किसुनजीसँग पनि थियो। त्यो विवादको अन्तर्य केलाउन नसक्दा नेपालको संसदीय प्रणालीको विकास अवरुद्ध भयो, राजनीति दुर्घटनाग्रस्त भयो। त्यसको निरन्तरता आज पनि कायम छ (कृष्ण खनाल, गणेशमान सिंह र आजको कांग्रेस, कान्तिपुर, आश्विन ९, २०७८)।”

गिरिजाप्रसादसँगको मतभेद २०५० को अन्त्यतिर यति चुलियो, सिंहले जनजागरण अभियान नै थाले। अभियानको उद्देश्य थियो, नेपाली कांग्रेसको संस्थागत विकास गर्नु, कार्यकर्ताका सेवा र त्यागको कदर गर्नु, आन्दोलनकारीको मूल्य कायम गर्नु र निष्ठावान कार्यकर्तालाई प्रोत्साहित गर्नु (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ९, पेज २४०)

त्यसअघि कांग्रेसमा देखिएको छत्तीसे र चौहत्तरे समूहमा सिंहको सहानुभूति कृष्णप्रसाद भट्टराईहरू रहेको छत्तीसेतिर थियो। तर, अन्त्यतिर भट्टराईसँग पनि कुरा मिलेन। सिंहले आफूलाई साथ नदिएको गुनासो गरे। भट्टराईको भूमिका चोरसँग मिलेको नोकरको जस्तो छ भनेर आलोचना गरे (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ९, पेज ३१४)

पहिले नै गिरिजाप्रसाद कोइरालासँग विरक्तिएका सिंह भट्टराईसँग पनि रहेनन्।

उनले अडान राखे- म किन पार्टीमा बस्ने? पार्टीमा मेरो कुनै महत्त्व छैन। कुनै कदर छैन। अपमान, अपमान, त्यसपछि फेरि पनि अपमान। मलाई पार्टीको सर्वोच्च नेता भन्छन्। अपजस मैले भोग्नुपर्ने तर काम चाहिँ मनपरी हुने। म किन बसूँ पार्टीमा? पार्टीमै नबसेपछि अपसजको भागी त हुनुु पर्दैन। अपमान त सहन पर्दैन। प्रजातन्त्र मासिएको म कसरी हेरूँ? आफू बसेको पार्टी प्रजातन्त्र हत्यामा सहभागी भएको म कसरी हेरिरहूँ? बरु आफू अलग हुन्छु (राजेश गौतम, भाग ९, पेज ३०४)

३१ भदौ २०५१ मा सिंहले कांग्रेस त्यागे।

सिंह ट्रेजेडी

त्याग र संघर्षको पर्याय हुन् सिंह। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार कांग्रेस नेताले पदमा नभएकै बेला राम्रा काम गरेका छन्। उनका अनुसार कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिएकै बेला बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल पस्ने राम्रो काम गरेका छन्। त्यसैगरी, सिंहले पनि कुनै पनि पदमा नरहेको बेला वामपन्थीका साथ लिएर जनआन्दोलन पनि गरे। त्यसको कमाण्ड गरे र सफल पनि पारे। २०४६ को जनआन्दोलनको सर्वोच्च कमाण्डर नै सिंह थिए।

सिंहकै कारण वाममोर्चासँग सहकार्य भयो। उनले पहिलेदेखि नै एक हुनुपर्ने भन्दै आएका थिए। नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलाल पनि त्यसै भन्थे।

२००७ सालपछि जति राजनीतिक उपलब्धी छन्, ती कांग्रेस र वाम मिलेरै भएका छन्। सिंहले वाम सहयोग लिएर पञ्चायतविरुद्धको लडाइँ जिते। कांग्रेस कम्युनिष्टको झगडाबाट पञ्चायतले फाइदा उठाउँदै आएको थियो। नेपालमा गणतन्त्र ल्याउने आन्दोलन पनि त्यसरी नै सफल भएको देखिन्छ। जहाँ कांग्रेस र बाम एक ठाम भएर आन्दोलन गरेका थिए।

हेर्दाहेर्दै गणेशमानले चाहेजस्तो पार्टी रहेन। कांग्रेस कांग्रेस भएन। उनकै सहकर्मी गिरिजाप्रसाद कोइरालाले उनको बोलीको मान राखेनन्। आफूले कुनै बेला नजिक ठानेका कृष्णप्रसाद भट्टराईले पनि सिंहलाई टेरेनन्। आफ्ना सहकर्मीबाट नै धोका पाए। प्रजातन्त्र आएको एक वर्षपछि नै गणेशमान र गिरिजाका बीच भएको मतभेद चुलियो। कांग्रेस सुधार्न नसकिने भासमा फसेको हुनाले पार्टीमा बस्नु उचित ठानेनन्। अन्तत: उनले कांग्रेस छाडे।

कांग्रेसका सभापति-४: कांग्रेसलाई सफल बनाउने गुमनाम सुवर्ण

कांग्रेसका सभापति-३: बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

कांग्रेसका सभापति-२: मातृकाप्रसाद कोइरालाः संयोगले सभापति, क्रान्तिको कमाण्डर र प्रधानमन्त्री

कांग्रेसका सभापति-१: टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved