सन्दर्भः मार्क्स जयन्ती

मार्क्सवादबारे यस्तो भनेका थिए कार्ल मार्क्स स्वयंले (मार्क्सको चिठ्ठी)

मभन्दा धेरै पहिले नै पूँजीवादी इतिहासकारहरूले वर्गहरूको संघर्षको ऐतिहासिक विकासको र पूँजीवादी अर्थशास्त्रीहरूले आफ्नो आर्थिक संरचनाको वर्णन गरिसकेका छन्।

नेपालभ्युज

मार्क्सवादबारे यस्तो भनेका थिए कार्ल मार्क्स स्वयंले  (मार्क्सको चिठ्ठी)

काठमाडौं। आज कार्ल मार्क्स जन्मिएको दिन। २०४ वर्षअघि ५ मे १८१८ मा जर्मनीमा जन्मिएका ती महामनिषी आज पनि आफूले प्रतिपादन गरेको संसार हेर्ने दृष्टिकोणका कारण जीवित छन्। त्यो दृष्टिकोण हो- मार्क्सवाद। माध्यमिक तह पढ्दै गर्दा मानव जातिको कल्याणका लागि उत्सर्ग गर्ने सपना देख्ने मार्क्सले आफ्नो जीवन काम गरिखाने वर्गको आन्दोलन र मुक्तिका लागि होमिदिए। युरोपमा त्यतिबेला उदाउँदै गरेको मजदूर आन्दोलनमा सहभागी भए। त्यसलाई बाटो देखाए। उनी र उनका परम मित्र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा तयार गरेको ‘कम्युनिष्ट घोषणापत्र’ले काम गरी खाने वर्गलाई मात्र नभई सिंगो मानव समाजलाई नयाँ बाटो देखायो। त्यो बाटोको गन्तव्य हो- समाजवाद हुँदै साम्यवाद।

मार्क्सवाद सारमा संसारलाई हेर्ने द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हो। त्यसको अर्थ हो, संसार मानिसका ईच्छाबाट मुक्त नियमहरूबाट सञ्चालित हुन्छ। र, हरेक थोकमा हुने परस्पर विपरीत तत्वहरूको द्वन्द्वले नयाँ थोक निर्माण हुन्छ।

यही दृष्टिकोणबाट उनले मानव समाजको व्याख्या गरे र पाए- आजसम्मको मानव समाज वर्गहरूको संघर्षबाटै विकास भएको छ। ती वर्ग हुन्- उत्पादनका साधनमाथि स्वामित्व भएका र नभएका। मार्क्सले परिकल्पना गरे, पूँजीवादी समाज त्यो वर्गीय समाजको चरम रूप हो जहाँ हुने वर्गसंघर्षले अन्तत : समाजवादको स्थापना गर्छ। समाजवादले सिंगो मानव जातिलाई वर्गविहीन, राज्यविहीन समाजसम्म पुर्‍याउँछ।

मार्क्सका सबै विचार हुबहु लागू नभए पनि उनले देखाएको मुक्तिको सपना भने संसारैभर फैलियो। उनकै बाटो पछ्याउँदै सन् १९१७ मा लेनिन, ट्राटस्की, स्टालिन आदिको नेतृत्वको भएको क्रान्तिले संसारमै पहिलोपटक समाजवादी राज्य स्थापना गर्‍यो। त्यो लहर संसारभर फैलिँदै चीन, भियतनाम, कम्बोडिया हुँदै क्युबा र कोरियासम्म पुग्यो। एक समय संसारको एकतिहाइ हिस्सामा कम्युनिष्ट शासन थियो। आज त्यस्तो अवस्था छैन। तर, मार्क्सले देखाएको समानतायुक्त, भेदभावविहीन समाजवको परिकल्पना जीवित छ।

कोही कसैले पनि कुनै पनि प्रकारको भेदभावमुक्त समाजको परिकल्पना गर्छ भने त्यसो गर्न उनै मार्क्सले सिकाएका हुन्। यद्यपि मार्क्सवाद अझै पनि समय सन्दर्भ अनुसार विकसित हुुने क्रममा छ। मार्क्सको निधनपछि मार्क्सवादमा विभिन्न धारहरूको विकास भएको छ। लेनिन, रोजा लक्जेम्बर्ग, ट्राटस्की, ग्राम्सी, वालस्टिन, समीर अमिन आदि मार्क्सवादको पछिल्लो विकासमा उल्लेखनीय छन्।

आफ्ना योगदानबारे मार्क्स स्वंयले भने एउटा पत्रमा स्पष्टसँग व्याख्या गरेका छन्। मार्क्स र एंगेल्सले आफूबीच र विभिन्न व्यक्तिलाई लेखेको करीब चार हजार पत्र संकलन गरिएको छ। तीमध्ये छानिएका पत्र ‘मार्क्स-एंगेल्स करसपन्डेन्ट’ शीर्षकमा अंग्रेजी अनुवादमा र ‘मार्क्स-एंगेल्स पत्रव्यवहार’ नाममा हीन्दीमा प्रकाशित छन्।  ५ मार्च १८५२ मा जर्मन अमेरिकी मजदूर नेता वेडमेयरलाई लेखेको यो पत्र मार्क्स-एंगेल्सको पत्रव्यवहारको अंग्रेजी र हीन्दी संग्रहबाट मिलाएर लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्। पत्रमा टिप्पणी गरिएका तत्कालीन सन्दर्भहरूको व्याख्या फुटनोटमा गरिएको छ।


लण्डन, ५ मार्च १८५२

जोसेफ वेडमेयरलाई, न्यू योर्क

प्रिय वेवे,

मलाई डर लागेको छ कतै गडबडी भएको छ। किनभने तिम्रो पछिल्लो पत्रलाई गलत रूपमा बुझेर मैले पछिल्ला दुई पत्र निम्नलिखित ठेगानामा पठाएँ- Office of the ‘revolution’, 7, Chambers’ Street, “Box 1816″। यो सबै मामलामा त्यही “Box 1816” को खेल थियो। तिमीले यो पुनश्चलाई पुरानै ठेगानामा जोड्न भनेर त लेख्यौ तर पहिलो वा दोस्रो कुन चाहिँ ठेगानामा जोड्ने भन्ने बताएनौ। तर मलाई आशा छ यो पत्र पुगेपछि सबै मामिला स्पष्ट हुनेछ। पछिल्लो शुक्रबारको पत्रमा मैले आफ्नो लेखको पाँचौँ भागको विस्तृत विवरण दिएको थिएँ। मैले यो हप्ता त्यसको अन्तिम अंश – छैठौं अंश पूरा गर्न सकिनँ। तिम्रो पत्रिका फेरि निस्कन्छ भने यसले खासै फरक पार्नेछैन किनभने तिमीसँग जति पनि सामग्री छ।

हाइन्जेन को विरोधमा तिमीले लेखेको लेख, जसलाई एंगेल्सले अत्यन्तै ढिलो गरी मलाई पठाए, खुब राम्रो थियो। यसमा कठोरता र तीक्ष्णताको राम्रो मिलन थियो। मैले यो लेख एन्सर्ट जोन्सलाई देखाएँ। मैले तिमीलाई यसैसँग उनको एक पत्र पनि प्रकाशनका लागि पठाइरहेछु। जोन्सले एकदमै किचिरमिचिरि र संकेत अक्षरहरूमा लेख्ने हुनाले र मेरो अनुमानमा तिमी अझै पूरै अंग्रेज नभइसकेका हुनाले तिमीलाई मूल पत्रसँगै मेरी श्रीमतीले तयार पारेको प्रतिलिपी र जर्मन अनुवाद पनि पठाइरहेछु। जसले गर्दा तिमीले मूल पत्रसँगै अनुवाद पनि सँगै प्रकाशन गर्न सक्छौ। जोन्सको पत्रको तलतिर तिमी यस्तो नोट पनि छाप्न सक्छौ : जर्ज जूयिन हार्नी को सम्बन्धमा, जो श्री हाइन्जेनका एक हस्ती पनि हुन्, उनले आफ्नो राता गणतन्त्रवादीहरू (रेड रिपब्लिकन) मा हाम्रो ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’लाई ‘संसारमा अहिलेसम्म प्राप्त दस्तावेजहरूमध्ये सबैभन्दा क्रान्तिकारी’ भन्ने टिप्पणीका साथ प्रकाशन गरेका थिए। उनले आफ्नो प्रजातान्त्रिक समीक्षा (डेमोक्रेटिक रिभ्यु) मा फ्रान्सेली क्रान्तिबारे मैले ‘नयाँ राइन समाचारपत्र’ का लागि लेखेको मेरो लेखलाई अनुवाद गरी प्रकाशन गरेका थिए र त्यसको खण्डन हाइन्जेनले गरेका थिए।

लुई ब्लाँबारे एक लेखमा हामीले यी लेखहरूलाई फ्रान्सेली मामिलाबार साँचो आलोचनाको रूपमा प्रस्तुत गरेका छौँ। त्यसो त बेलायतमा केवल उग्र लेखकहरूलाई मात्र उद्धृत गर्न आवश्यक छैन। बेलायतमा कुनै सांसद मन्त्री बन्नका लागि पुन : निर्वाचित हुनुपर्छ। यसैले अर्थमन्त्री डिजरेयली१० १ मार्चमा आफ्ना सभासदहरूलाई लेख्छन् :‘हामी त्यस वर्ग संघर्षलाई खत्तम पार्ने प्रयास गर्नेछौं जसले हालैका केही वर्षहरूमा यो अधिराज्यको कल्याणमाथि यति हानिकारक प्रभाव पारेका छन्।”

जसमाथि ‘द टाइम्स’ले यस्तो टिप्पणी लेख्यो- ‘…यदि कुनै चीजले हाम्रो देशमा वर्गहरूलाई यति हदसम्म विभाजन गर्दछ जसले गर्दा मेलमिलाप असम्भव हुन्छ र न्यायसंगत तथा इज्जतको साथ शान्तिको कुनै आशा गर्न सकिँदैन भने त्यो विदेशी अन्नमाथि लगाइने कर नै हो।”

जब हाइन्जेनजस्ता अन्जान ‘चरित्रवान’ जिद्दी गर्छन् कूलीन वर्ग खाद्यान्न कानूनका समर्थक र पूँजीपति वर्ग त्यसको विरोधी छ धिनभने कूलीन वर्ग ‘एकाधिकार’ र पूँजीपति वर्ग ‘स्वतन्त्रता’ चाहन्छ – साधारणजनका लागि अन्तरविरोध केवल यही विचारधारात्मक रूपमा छ – तब यति भन्नु नै पुग्दो हुन्छ, १८औं शताब्दीमा बेलायतमा अभिजात वर्ग ‘स्वतन्त्रता’ र पूँजीपती वर्ग ‘एकाधिकार’को पषमा थिए। खाद्यान्न कानूनको सन्दर्भमा प्रशियामा यही समयमा यी दुई वर्गहरूबीच ठीक यस्तै स्थितिमा पाउँछौँ। ‘नयाँ प्रशियाली पत्रिका’१२ खुला व्यापारको सबैभन्दा कट्टर समर्थक हो।

आखिरीमा, म तिम्रो ठाउँमा हुन्थेँ भने मैले प्रजातन्त्रवादी महानुभावहरूलाई पूँजीवादी विचारका विरोधीहरूको विरोध गर्ने साहस गर्नुभन्दा पहिला राम्रोसँग ती विचार पढ्न भन्ने थिएँ। अहिलेको लागि यी महानुभावहरूले विगत ‘वर्गहरूको इतिहास’बारे जानकारी लिन लिन त्येर्री१३, गीजो१४, जोड वेड१५ आदिको ऐतिहासिक कृतिहरू पढ्नुपर्छ। राजनीतिक अर्थशास्त्रको समीक्षाको आलोचना गर्नुभन्दा पहिला उनीहरूले राजनीतिको अर्थशास्त्रको मूल तत्वहरूबारे ज्ञान लिनुपर्छ। उदाहरणका लागि रिकार्डोको१६को मुख्य कृति पल्टाउनासाथ नै हामी त्यसको पहिलो पृष्ठको ‘प्राक्कथन’का शुरुमै यी  शब्द पाउँछौँ-

‘जमिनको उत्पादन- ती सबैथोक जुन यसको सतहमा लगाइने श्रम, औजार र पूँजीको एकीकृत प्रयोगबाट प्राप्त हुन्छ- समाजका तीन वर्गहरू अर्थात भूस्वामी (जमिनदार), खेतीको लागि आवश्यक पूँजीको मालिक (पूँजिपति) र मजदूरहरू, जसको श्रमबाट खेती गरिन्छ, यी तीनबीच बाँडिन्छ।’१७

एकमात्र महत्त्वपूर्ण अमेरिकी अर्थशास्त्री, फिलाडेल्फियाका एच. सी. क्यारी१८ अमेरिकामा नागरिक समाज अझै पनि वर्गसंघर्षको एक स्पष्ट चित्र प्रस्तुत हुनसक्ने गरी परिपक्व नभएको प्रमाण हुन्। उनले पूँजीपति वर्गको हितको सबैभनद प्रामाणिक प्रतिनिधि र सर्वहारा वर्गको सबैभन्दा कट्टर विरोधी रिकार्डोको आलोचना गर्दै भन्छन्- ‘उनका कृतिहरू अराजकतावादीहरू, समाजवादीहरू जस्ता पूँजीवादी प्रणालीको सबै शत्रुहरूका लागि साँचो अस्त्र हो।’

मभन्दा धेरै पहिले नै पूँजीवादी इतिहासकारहरूले वर्गहरूको संघर्षको ऐतिहासिक विकासको र पूँजीवादी अर्थशास्त्रीहरूले आफ्नो आर्थिक संरचनाको वर्णन गरिसकेका छन्। मैले गरेको नयाँ काम भनेको निम्नानुसारका तीनओटा तथ्यको पुष्टि हो- १) वर्गहरूको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक चरणसँग जोडिएको छ, २) वर्ग संघर्षले अवश्यम्भावी रूपमा सर्वहारा वर्गको अधिनायकत्वतिर लैजान्छ, ३) यो अधिनायकत्व आफैँमा सबै वर्गहरूको उन्मूलन तथा वर्गविहीन समाजतर्फका संक्रमण मात्र हो।

उनी केवल रिकार्डोलाई मात्र होइन बरु माल्थस, मिल, सेय, टोरन्स, बेकफिल्ड, मेककुलोच, सिनियर, वाट्ले, आर. जोन्स र युरोपका अरू सुप्रिसिद्ध अर्थशास्त्रीहरूलाई पनि समाजलाई टुक्रा-टुक्रा पारेकामो भर्त्सना गर्छन्, किनभने तिनीहरूले विभिन्न वर्गहरूको आर्थिक आधारले नै उनीहरूबीच वैरभाव बढ्ने ठान्छन्। उनी तिनीहरूको खण्डन गर्ने भरमग्दुर प्रयास गर्छन्। तर हाइन्जेनले जसरी राजनीतिक विशेषाधिकाहरू र एकाधिकारको अस्तित्वलाई वर्गहरूको अस्तित्वसँग जोडेर होइन।

क्यारी आर्थिक परिस्थितिहरू- कूत (भूकर), नाफा (पूँजी) र ज्याला (ज्यालादारी श्रम) संघर्ष र वैरभावको परिस्थिति नभई सहिष्णुता र सामञ्जस्यताको रूपमा देखाउन चाहन्छन्। वास्तवमा, उनी अमेरिकाको ‘अविकसित’ सामाजिक सम्बन्धहरूको ‘सामान्य सम्बन्धहरू’को रूपमा लिइरहेछन्।

जहाँसम्म मेरो विषय छ, आधुनिक समाजमा वर्गहरूको अस्तित्वको खोज गर्ने श्रेय मलाई जाँदैन। तिनीहरूबीचको संघर्ष (वर्गसंघर्ष)को खोज गर्ने श्रेय पनि मलाई दिनुहुँदैन। मभन्दा धेरै पहिले नै पूँजीवादी इतिहासकारहरूले वर्गहरूको संघर्षको ऐतिहासिक विकासको र पूँजीवादी अर्थशास्त्रीहरूले आफ्नो आर्थिक संरचनाको वर्णन गरिसकेका छन्। मैले गरेको नयाँ काम भनेको निम्नानुसारका तीनओटा तथ्यको पुष्टि हो-

१) वर्गहरूको अस्तित्व उत्पादनको विकासको खास ऐतिहासिक चरणसँग जोडिएको छ,

२) वर्ग संघर्षले अवश्यम्भावी रूपमा सर्वहारा वर्गको अधिनायकत्वतिर लैजान्छ,

३) यो अधिनायकत्व आफैँमा सबै वर्गहरूको उन्मूलन तथा वर्गविहीन समाजतर्फका संक्रमण मात्र हो।

वर्गसंघर्ष मात्र नभई वर्गहरूको अस्तित्व पनि अस्विकार गर्ने हाइन्जेनजस्ता अनभिज्ञले पूँजीवादी वर्गले शासन गर्ने सामाजिक अवस्थालार्य नै इतिहासको अन्तिम परिणाम र चरमोत्कर्ष मान्दछन्। उनी केवल पूँजीपति वर्गको नोकर हुन्।

माथिका टिप्पणीहरूबाट तिमीलाई जे ठीक लाग्छ ती लिनु। प्रसंगवश, हाइन्जेनले आफ्नो ‘संघात्मक प्रजातन्त्र’ आदिको ठाउँमा हाम्रो ‘केन्द्रीयकरण’ चोरेर राखेका छन्। जब वर्गहरूबारे हामीले अहिले प्रचार गरिरहेको विचार ‘सामान्य कुरा’ लाग्नेछ तब यी ब्वाँसाहरू ठूल्ठूलो स्वरमा ‘आफ्नो गुढ बुद्धि’को उपलब्धी मान्नेछन् तथा हाम्रो विचारलाई थप विकास हुनबाट रोक्न अनर्गल बकवास गर्नेछन्। यसरी नै जबसम्म हेगेल१९को दर्शन प्रगतिशील थियो तबसम्म उनले आफ्नो गुढ बुद्धिको बलमा त्यसको विरोधमा हल्लाखल्ला गरिरहेछ। र अब त्यही दर्शनको एक भागलाई आहारा बनाइरहेका छन् जसलाई पचाउन नसकेर रुग२० ले ओकलेका छन्।

यही पत्रसँगै म तिमीलाई हंगेरियाली लेखको अन्तिम अंश पठाइरहेछु। तिम्रो पत्रिका अझै निक्लिरहेको छ भने तिमी यसबाट केही न केही छाप्नु जसले गर्दा पेरिसमा रहेका भूतपूर्व प्रधानमन्त्री स्जीमेर२१ ले मसँग वाचा गरेअनुसार आफ्नै हस्ताक्षरमा एक लामो लेख लेख्नेछन्।

तिम्रो पत्रिका निक्लिरहेको छ भने, त्यसको सकेजति बढी प्रति यहाँ पठाउ ताकि त्यसको वितरण व्यापक होस्।

तिम्रो

कार्ल मार्क्स

फुटनोट :

१. यहाँ कार्ल मार्क्सको ‘लुई बोनापार्टको अठारौं ब्रुमेर’ नामक पुस्तकबारे चर्चा गरिएको हो। जसलाई वेडमेयरले सन् १८५२मा आफ्नो पत्रिका ‘क्रान्ति’को पहिलो अंकमा छापेका थिए।

२. उहीँ पुस्तक ‘लुई बोनापार्टको अठारौं ब्रुमेर’को अन्तिम भागमा काम गर्दैगर्दा मार्क्सले विचार बदले जसले गर्दा त्यसमा ६ नभई सातओटा अध्याय छन्। उनले २५ मार्च १८५२मा यसलाई न्यूयोर्कमा पठाएका थिए।

३. हाइन्जेन : कार्ल हाइन्जेन (१८०९-१८८०)। जर्मन उग्र पत्रकार। निम्न-पूँजीपति प्रजातन्त्रवादी। मार्क्स र एंगेल्सको विरोध गरे। पहिला स्वीट्जरल्याण्ड र पछि बेलायतका आप्रवासी। १८५० को शरदमा अमेरिका गए।

४. एर्न्स्ट जोन्स : एर्न्स्ट चार्ल्स जोन्स  (सन् १८१९-१८६९)। बेलायती मजदूर आन्दोलनको अग्र पंक्तिका नेता। सर्वहारा कवि र पत्रकार। वामपन्थी मागपत्र आन्दोलनका एक नेता। उत्तरी तारा, जनतालाई पत्र तथा जनताको पत्रिकाजता पत्रिकाका सम्पादकहरूमध्ये एक। मार्क्स र एंगेल्सका साथी।

५. जर्ज जूलियन हार्नी (१८१७-१८९७) : बेलायतको मजदूर आन्दोलनको प्रख्यात नेता। वामपन्थी मागपत्र आन्दोलनका नेताहरूमध्ये एक। प्रजातान्त्रिक भाइचार संगठनका एक संस्थापक। उत्तरी तारा, जनतालाई पत्र तथा जनताको पत्रिकाजता पत्रिकाका सम्पादकहरूमध्ये एक।

६. राता गणतन्त्रवादीहरू : जर्ज जूलियन हार्नीले प्रकाशन तथा सम्पादन गर्ने एक साप्ताहिक पत्रिका। जून-नोभेम्बर १८५० मा प्रकाशित।

७. प्रजातान्त्रिक समीक्षा : बेलायत तथा विदेशको राजनीतिक र साहित्यको प्रजातान्त्रिक समीक्षा। जर्ज हार्नीद्वारा लण्डनबाट १८४९ देखि १८५० सम्म प्रकाशित मासिक पत्रिका।

८. नयाँ राइन समाचारपत्र : नयाँ राइन समाचारपत्र, राजनीतकि एवं आर्थिक समीक्षा। कम्युनिष्ट लिगको सैद्धान्तिक पत्रिका। डिसेम्बर १८४९ मा मार्क्स र एंगेल्सले प्रकाशन गरेको यो पत्रिका नोभेम्बर १८५० सम्म प्रकाशन गरे।

९. लुई ब्लाँ (१८११-१८८२) : फ्रान्सेली निम्न पूँजीवादी समाजवादी। इतिहासकार। १८४८ मा लम्बजेम्बर्गको नियोगका अध्यक्ष तथा प्रान्तीय सरकारका सदस्य। अगस्ट १८४८ मा बेलायतमा बसाईं सरे। लण्डनमा आप्रवासीहरूका निम्न-पूँजीवादी नेता।

१०. डिजरेयली : बेन्जामिन डिजरेयली (१८०४-१८८१)। अंग्रेज राजनीतिज्ञ तथा लेखक। टोरी पार्टीका नेता। १९औं शताब्बदीको अन्त्यतिर रुढीवादी दलको नेता। अर्थमन्त्री (१८५२, १८५८-१८५९, १८६६-१८६८) र प्रधानमन्त्री (१८६८, १८७४-१८८०) बने।

११. द टाइम्स : १८७५मा लण्डनमा स्थापित अनुदारवादी प्रमुख अंग्रेज पत्रिका।

१२. नयाँ प्रशियाली पत्रिका : प्रतिक्रियावादी जर्मन दैनिक पत्रिका। यो प्रशियाली जंकरहरूको मुखपत्रको रूपमा बर्लिनबाटजून १८४८ मा प्रकाशन हुन शुरु गरेको थियो।

१३. त्येर्री : अगस्टीन त्येर्री (१७९५-१८५६)। प्रबोधनकालको फ्रान्सेली उदारवादी पूँजीवादी इतिहासकार।

१४. गीजो : फ्रेन्सोइस पियेरे-ग्वील्योम गीजो (१७८७-१८७४)। फ्रान्सेली पूँजीवादी इतिहासकार र राजनीतिज्ञ। १८४० देखि १८४८ को फेब्रुअरी क्रान्तिसम्म फ्रान्सेली गृह र विदेश नीतिका निर्माता। ठूला वित्तिय पूँजीपति वर्गका हितको पक्षपाती।

१५. जोन वेड (१७८८-१८७५) : अंग्रेज पूँजवादी अर्थशास्त्री, पत्रकार र इतिहासकार।

१६. रिकार्डो : डेभिड रिकार्डो (१७७२-१८२३)। अंग्रेज अर्थशास्त्री। शास्त्रीय पूँजीवादी राजनीतिक अर्थशास्त्रका एक महान प्रतिनिधी। यहाँ उनको पुस्तक ‘राजनीतिक अर्थशास्त्र र कर प्रणाली’को चर्चा गरिएको हो।

१७. माथि उल्लेखित रिकार्डोको पुस्तकको तेस्रो संस्करणको अंश।

१८. एच. सी. क्यारी : हेनरी चाल्र्स क्यारी (१७९३-१८७९) अमेरिकी अर्थशास्त्री। पूँजीवादी समाजमा वर्ग स्वार्थमा सहिष्णुता भन्ने प्रतिक्रियावादी सिद्धान्तका लेखक।

१९. हेगेल : जर्ज विल्हेम फ्रेडरिक हेगेल (१७७०-१८७९) अमेरिकी अर्थशास्त्री। पूँजीवादी समाजमा वर्ग स्वार्थमा सहिष्णुता भन्ने प्रतिक्रियावादी सिद्धान्तका लेखक।

२०. रुग : अर्नोल्ड रुग (१८०२-१८८०)। जर्मन पत्रकार। तरुण हेगेलवादी। यिनले सन् १८४४ मा पेरिसमा मार्क्ससँग मिलेर जर्मन-फ्रान्सिसी पत्रिकाको प्रकाशन गरेका थिए। रुग साठीको दशकमा इंगल्याण्डमा जर्मन निम्न-पूँजीपति आप्रवासीको नेता बने। १८६६पछि विस्मार्ककका समर्थक बने।

२१. स्जीमरे : बार्थलोम्यु स्जीमेर (१८१२-१८६९)। हंगेरियाली राजनीतिज्ञ र पत्रकार। गृहमन्त्री (१८४८) र हंगेरियाली क्रान्तिकारी सरकारका प्रधानमन्त्री (१८४९)। क्रान्तिको असफलतापछि हंगेरीबाट हिँडे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved