ओलीले आधा कार्यकाल प्रधानमन्त्री नदिएपछि समस्या भयो, अहिले खुशी छौँः प्रचण्ड

प्रचण्डले आफूहरुले पनि गल्ती गरेका स्वीकारे। उनले आफूहरुले कहीँ न कहीँ गल्ती गरेकैले कुरो बिग्रिएको पनि भने। आफूहरुको गल्तीकै कारण पार्टी शिथिल हुँदै गएको प्रचण्डको भनाइ थियो।

नेपालभ्युज

ओलीले आधा कार्यकाल प्रधानमन्त्री नदिएपछि समस्या भयो, अहिले खुशी छौँः प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्ताघटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीकै कारण नेकपामा समस्या भएको दोहोर्याएका छन्। पार्टीको देशभरको पालिका सम्मेलनलाई आज भर्चुअल सम्बोधन गर्दै प्रचण्डले ओलीका कारण समस्या भएको बताए।

प्रचण्डले तत्कालीन समयमा प्रधानमन्त्रीको आधा आधा कार्यकालका लागि गरिएको सहमतिबाट ओली समूह पछाडि हट्दा नेकपामा समस्या शुरु भएको अन्तत पार्टी नरहेको टिप्पणी गरे।

नेकपाको ठूलो बहुमत रहेको समयमा अ‍ोलीले बेइमानी गरेको प्रचण्डले बताए। सोही कारण ओलीलाई आफूहरुले पार्टीबाट निकालेको पनि उनले सम्झिए। उनले भने, “हामीले कारबाही गरेर अ‍ोलीलाई निकाल्यौँ। तर, पार्टीभित्रको कुरालई लिएर विभाजनको नयाँ नाटक गरियो।”

प्रचण्डले आफूहरुले पनि गल्ती गरेका स्वीकारे। उनले आफूहरुले कहीँ न कहीँ गल्ती गरेकैले कुरो बिग्रिएको पनि भने। आफूहरुको गल्तीकै कारण पार्टी शिथिल हुँदै गएको प्रचण्डको भनाइ थियो।

अब भने बिनागल्ती अगाडि बढ्ने प्रचण्डले बताए। उनले आगामी चुनावमा बलियो बनाउने गरी जुट्नुपर्ने बताए। प्रचण्डले आफ्नो पार्टीले अब नयाँ जनवादी क्रान्ति गर्ने बताए।

माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको जिकिर गर्दै प्रचण्डले एमालेसँग आफ्नो पार्टीको तुलनै नहुने बताए। एमाले संघ र प्रदेश सरकारबाट बाहिरिनु आफूहरुका लागि खुशीको खबर भएको उनले बताए।

दुई पटकसम्म संसद् विघटन गरेर ओलीले माओवादी नेतृत्व र माओवादीका एजेण्डाहरूलाई उल्ट्याउन प्रतिगमनको प्रयास गरेको बताए। तर आफूहरुकै कारण प्रतिगमन परास्त भएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved