हाम्रै पालामा देश अन्तरिक्षमा पुग्यो : ओली

समाजवादको आधार निर्माणका लागि आयोजित प्राज्ञिक बहस कार्यक्रममा अध्यक्ष ओली पूर्वीय दर्शनको व्याख्या र आफ्नो कार्यकालको गुणगानमा केन्द्रीत भएका थिए।

नेपालभ्युज

हाम्रै पालामा देश अन्तरिक्षमा पुग्यो : ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍आफ्नो कार्यकालमा देशलाई अन्तरिक्षसम्म पुर्‍याएको दाबी गरेका छन्।

चितवनमा एमाले महाधिवेशनको पूर्वसन्ध्यामा बुद्धिजिवि परिषद्ले गरेको प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले नानो भए पनि आफ्नै पालामा अन्तरिक्षमा स्याटलाइट राखिएको बताए।

‘‘नानो भए पनि सानो भए पनि हाम्रै पालामा अन्तरिक्षमा स्याटलाइट राखियो,” उनले भने, ‘‘हामी धर्तीमा, समुद्रमा र आकाशमा हाम्रो हक छोड्दैनौं।”

आफूभन्दा अघि अरु सरकार पनि भएकोमा भिजन नहुँदा प्रविधिमा देशले फड्को मार्न नसकेको उनको भनाइ थियो। उनले नारायणीमा पानी पहिल्यैदेखि बगेको बग्यै भए पनि स्टिमर चलाउन भिजन चाहिएको र त्यो आफ्नो पालामा सफल भएको बताए। नेपाली झण्डावाहक पानीजहाज प्रशान्त, आन्द्र महासागरमा चलाउन सकिने उनको भनाइ थियो।

संसारमा कम्युनिजम् मात्रै सिद्धान्त भएको दाबी उनको थियो। ‘‘दुनियाँमा कम्युनिष्ट भन्दा अर्को सिद्धान्त भए मलाई देखाउनु, म यो विषयमा जुन सुकै विद्धानसँग बहस गर्न तयार छु।”

जुन कुरालाई शास्त्रले भनेको छ त्यसलाई नमान्नु पाखण्ड हुने उनको भनाइ थियो। बुद्धिजिविको आलोचना गर्दै उनले पेटका लागि बुद्धि बेच्ने बुद्धिजिवि नभई पेटजिवि भएको बताउँदै भने, ‘‘म बुद्धिजिविको कुरा बुझ्दिनँ, देशका लागि काम नलाग्ने बुद्धि बुद्धिजिवि होइन।”

हेगलको दर्शनले जर्मन तल झरेकोमा नित्सेको दर्शनले उठेको बताउँदै उनले राष्ट्रवादले पनि देशलाई माथि उठाउने उनको भनाइ राखेका थिए। एउटा नागरिक पनि कुनै देशमा कष्टकर जीवन बिताउँछ भने त्यो दर्शनको काम नहुने र असमानता स्वीकार्ने दर्शन काम नलाग्ने विचार उनले राखेका थिए।

समाजवादको आधार निर्माणका लागि आयोजित प्राज्ञिक बहस कार्यक्रममा अध्यक्ष ओली पूर्वीय दर्शनको व्याख्या र आफ्नो कार्यकालको गुणगानमा केन्द्रीत भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved