अब भोट माग्न आउँदा धूलोमा हिँड्न नपर्ने गरी काम भइरहेको छ : प्रचण्ड

अब भोट माग्न आउँदा धूलोमा हिँड्न नपर्ने गरी काम भइरहेको छ : प्रचण्ड

चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा भोट माग्न आउँदा धुलोमा हिँड्नु नपर्ने गरी काम भइरहेको बताएका छन्।

भरतपुरमा निर्माण हुँदै गरेको केरुङ घोल लिफ्ट सिंचाइ आयोजनाको शिलान्यास गर्दै उनले आफ्नो क्षेत्रमा उदाहरणीय विकासका काम भएको दाबी गरे। सिंचाइको माध्यमबाट सुक्खा क्षेत्रलाई उर्वर बनाउने उल्लेख गर्दै उनले भने, “जनताको आवश्यकता परिपूर्ति हुनेगरी उत्पादकत्व बढाउने काम गर्छौं।” सुकुम्बासी, भूमिहीनहरुलाई लालपुर्जा वितरण गर्नेगरी काम अघि बढेको भन्दै उनले यो सरकारले लालपुर्जा, निस्सा वा स्थानान्तरणको काम गर्ने प्रतिवद्धता गरे। उनले भने, “लालपुर्जा वितरणका लागि भूमिसुधार मन्त्रालयमार्फत काम भइरहेको छ।”

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य लगायतको उपस्थिति थियो।

चितवन भूमिगत संयोजनात्मक जल सिंचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोका अनुसार खोलाको छेउमा सोलारबाट इनारको पानी तानेर लिफ्ट सिंचाइ गर्न लागिएको हो।

कुल आठ करोड रुपैयाँको लागत रहेको यो आयोजनाको ठेक्का सम्झौता भइसकेको छ। चितवन राष्ट्रिय निकुञ्जसँग सहमति लिएर काम अघि बढेको उनले बताए। यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने उनको भनाइ छ। यसबाट बाह्रै महिना भरपर्दो, दिगो र पूर्ण सिञ्चित गर्न सहयोग पुग्ने छ। दश हजार ५०० हेक्टर क्षेत्रफल सिञ्चित हुनेगरी काम अघि बढाउने लक्ष्य लिइएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved