लगातार नील गएको विद्यालय कसरी बन्यो देशकै सर्वोत्कृष्ट ?

विद्यालयलाई सफल बनाउन स्थानीयले गरको मिहिनेत र प्रधानाध्यापक र शिक्षकको मिहिनेतले विद्यालय देशकै सर्वोत्कृष्ट बन्यो।

लगातार नील गएको विद्यालय कसरी बन्यो देशकै सर्वोत्कृष्ट ?

काठमाडौं। सानो पोखरीको पछाडि अग्लो पर्खालको छेउमा नीलो रंग लगाइएको बन्द गेटभित्र एक महिला बसिरहेकी थिइन्।

विद्यालय परिसरमा विद्यार्थीहरूको कोलाहल मच्चिरहेको थियो। विद्यालयको माथिल्लो तलाबाट कोही विद्याथी बाहिर नियालिरहेका थिए। कोही एक आपसमा खेलिरहेका थिए।

यत्तिकैमा घण्टी बज्यो। विद्यार्थीहरू आआफ्नो कक्षाकोठातिर लागे। विद्यालय परिसरमा एकाएक शान्त बन्यो। यो भक्तपुर नगरपालिका-३ स्थित मेधा माध्यमिक विद्यालयको दृश्य हो।

राणाकालीन समय २००४ सालमा विद्यालयको स्थापना भएको थियो। तत्कालीन व्यवस्थाविरुद्ध शिक्षाको माध्यमबाट जनचेतना फैलाउन र प्रजातन्त्र ल्याउन महत्वूर्ण भूमिका खेलेको यो विद्यालय स्थापना गर्न युवाहरूको निकै ठूलो योगदान छ। त्यसबेला विद्यालयको नाम ‘शान्ति भक्त’ राखिएको थियो।

राणाविरुद्ध जनचेतना फैलाउने कार्यमा सक्रिय हुँदा ००६ को अन्तिममा विद्यालयका सबै शिक्षक जेल चलान भएका थिए। जसका कारण विद्यालय बन्द भएको थियो। ००७ मा प्रजातन्त्र प्राप्त भएपछि विद्यालय पुनः सुचारु गरिएको थियो।

प्रजातन्त्र स्थापनापछि विद्यालयमा आबद्ध केही शिक्षक राजनीतिमा लागे। केही शिक्षण पेशामै रहे। विद्यालय केही समय निजी विद्यालयको रूपमा रह्यो। त्यसबेला विद्यालयको भवन थिएन। खालि ठाउँ वा खालि घरमा बसाएर नै पढाइन्थ्यो।

उक्त विद्यालय ०१३ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो। त्यसबेला विद्यालयको नाम परिर्वतन गरी ‘कन्या प्राथामिक विद्यालय’ राखियो। ०२३ मा विद्यालयलाई कन्या निम्न माध्यमिक विद्यालय र ०३१ मा माध्यमिक तहमा विस्तार गरियो।

उक्त विद्यालयले ०३४ सालबाट पटक एसएलसी शुरु गरेको थियो। ०४४ सालमा कन्या माविको भवन निर्माण शुरु गरिएको थियो। भवन निर्माण गर्दा पारदर्शिता नभएका कारण शिक्षकबीच त्यसबेला सम्बन्ध चिसिएको पनि विद्यालयका प्रध्यानाध्यापक गंगाधर हाडा बताउँछन्। भन्छन्,“शिक्षकबीच भएको विवादले विद्यालयको अध्ययनमा असर पर्न गएको थियो।”

जसका कारण पनि विद्यालय लगातार एसएलसीमा ‘नील’ गएको थियो। विद्यार्थी नै पास हुन छाडेपछि बन्द गर्नुपर्ने अवस्थासम्म पुग्नुपरेको स्थानीय सहदेव साखकर्मी सम्झन्छन्।

२०५२ सालसम्म लगातार तीन वर्ष नील खाएकाले जिल्ला शिक्षा कार्यालयले उक्त शैक्षिक सत्रमा ३० प्रतिशत विद्यार्थी उत्तीर्ण नगरे विद्यालय ‘कोल्याप्स’ वा मर्ज गर्ने चेतावनी पनि त्यसबेला दिएको प्रअ हाडाले जानकारी दिए।

एक समय विद्यालय परिसर स्थानीयले फोहोर गर्ने स्थान बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोहोराले बताए। शिक्षक शिक्षिका जिम्मेवार नभएका कारण विद्यालग बन्द हुने चरणमा पुगेको गोहोराको ठम्याइ छ।

विद्यालयका संस्थापक विष्णुभक्त भुजुलको अनुरोधमा प्रअ हाडासहित १३ जनाको टिमले विद्यालयमा शुरुको चार महीना भोलेन्टिएरको रूपमा काम गरेको प्रअ हाडा बताउँछन्। भन्छन्, “त्यो वर्ष ५९ प्रतिशत विद्यार्थी पास भएका थिए।”

विद्यालयको शैक्षिक गुणस्तर खस्किएपछि विद्यार्थी संख्या पनि कम भएको स्थानीय सहदेव बताउँछन्। “०६० अघि विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो,” भन्छन्, “सानोठिमीको आदर्श माविमा अध्यापन गराइरहेका शिक्षक गंगाधर हाडा कन्या माविमा शिक्षक भएर आएको वर्ष नै एसएलसीमा विद्यार्थीहरूले राम्रो नतिजासहित पास भए।”

२०५९ सालमा विद्यालयको प्रअ रिटाएर भएपछि दरबन्दी खालि भयो। त्यसपछि हाडा प्रअ नियुक्त भएर आए। “त्यसबेला प्रअमा नियुक्त हुँदा शिक्षकको रूपमा कमाएको इज्जत माटोमा मिल्ने भयो भन्ने त्रास थियो”, हाडा भन्छन्, “विद्यालयको समयमा शिक्षण गर्ने र अन्य समयमा विद्यालय सुधारमा लागिपरें,” उनले थपे, “बिहान ६ बजे विद्यालय आएपछि राति ८ बजे घर पुग्थें।” त्यसबेला विद्यालय व्यवस्थापनमा आर्थिक समस्या निकै झेलेको उनी बताउँछन्।

“२०६० सम्म पनि विद्यालयको भौतिक संरचना लथालिगं नै बन्यो,” हाडा भन्छन, “८० जना भन्दा कम विद्यार्थी थिए।” ०६१ सालको एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण हुदाँ ऊर्जा थपिए पनि सन्तुष्ट नभएको उनको तर्क छ। त्यसपछि विद्यार्थी संख्या बढाउन लागिपरेको उनले सुनाए।

कन्या स्कुलमा छोरालाई ल्याउन निकै कठिन भएको अनुभव उनले साटे। भन्छन, “विद्यार्थी संख्या बढाउन सह शिक्षा दिने योजनाअनुसार विद्यालयको नाम कन्या सह शिक्षा बनायौं।” नाम परिर्वतन गरेपछि केही छात्रहरू भर्ना भए पनि सर्टिफिकेटमा कन्या विद्यालय उल्लेख हुँदा समस्या हुनसक्ने भएकाले ०७१ मा विद्यालयको नाम मेधा मा वि राखिएको उनको तर्क छ।

देशकै उत्कृष्ट विद्यालयको उपाधि

कोभिड-१९ आउनुअघि १३ वर्ष एसएलसी र एसइईमा निरन्तर शतप्रतिशत विद्यार्थी उर्तीण भएका प्रअ हाडा बताउँछन्। ०७६ सालमा विद्यालय देशकै सर्वोकृष्ट सामुदायिक विद्यालयमा घोषित भएको थियो। विद्यालयलाई तीन लाख नगदसहित पुरस्कृत पनि गरिएको शिक्षा मानव तथा स्रोत विकास केन्द्रका प्रवक्ता माधव प्रसाद दाहालले जानकारी दिए।

अहिले पनि यो विद्यालय नेपालकै उत्कृष्ट विद्यालयमा छनोट भएको स्थानीय सहदेव बताउँछन्।

विद्यार्थी आकर्षण बढ्दो

विद्यालयमा अहिले पूर्ण रूपमा अंग्रेजी माध्यममा अध्ययन हुने गरेको हाडा बताउँछन्। विद्यार्थी भर्ना गर्न निकै दबाब आए पनि निश्चित विद्यार्थी मात्र लिइएको उनले बताए। “अहिले एसइई दिने एक सय १० जना छन्”, भन्छन, “विद्यार्थीको चाप अत्यधिक भएकाले अर्को शैक्षिक सत्रमा पिजीमा मात्र भर्ना लिनुपर्ने अवस्था छ।”

अंग्रेजी माध्यमको पढाइ हुने भएकाले सरकारीबाट विद्यालयबाट कम विद्यार्थी आउने गरेका उनको तर्क छ। “विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्छ”, उनी भन्छन्, “बढी अंक प्राप्त गरेकालाई भर्ना लिने गरेका छौं।” “कक्षा ६ बाट सेक्सन ब्रेक गरी दुई ओटा कक्षामा अध्यापन गराइरहेका छौं”, उनले थपे, “कक्षा ९ र १० मा भने तीन ओटा सेक्सनमा पढाइरहेको उनी बताउँछन्।”

विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टरको माध्यमबाट पढाइ हुने गरेको उनी बताउँछन्। २३ ओटा कक्षा कोठा छ। नयाँ भवनमा पनि प्रविधिमैत्री बनेको उनको तर्क छ। नयाँ भवनमा इसीडीदेखि कक्षा तीनसम्मलाई पढाइने उनले बताए।

विद्यालयमा हाल ६१ जना कर्मचारी छन्। त्यसमध्ये सरकारी दरबन्दीका १९ जना शिक्षक रहेका उनले जानकारी दिए। निजी शिक्षक बढी भएकाले विद्यार्थीसँग मासिक शुल्क नौ सयसम्म लिने गरेको उनले बताए।

विद्यालयमा अहिले आठ सय विद्यार्थी अध्ययनरत छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved