अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा, उपसहायक मन्त्री केली बिहीबार आउँदै

भ्रमणका क्रममा अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीले एमसीसी कार्यान्वयनका विषयमा भएको ढिलाईका विषयमा नेपालका सरकार र प्रतिपक्षी दलसँग चासो राख्ने बुझिएको छ।

नेपालभ्युज

अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा, उपसहायक मन्त्री केली बिहीबार आउँदै

काठमाडौं। नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदाहरुसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका छन्।

दुई महीनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हालेका लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र्र मन्त्रालयले जनाएको छ।

यस्तै शुक्रबार परराष्ट्रमन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। नेपाल बसाइका क्रममा सहायक विदेशमन्त्री लूले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नेछन्।

काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार सार्वजनिक गरेको एक विज्ञप्तिमा सहायक विदेशमन्त्री लूले सरकारका नेतृत्वकर्तासँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरुको अवलोकन गर्ने जनाएको छ।

बिहीबार नै दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौं आइपुग्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। उपसहायकमन्त्री केलीले यहाँका उदीयमान नागरिक समाजका नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको दूतावासले जानकारी दिएको छ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो। “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकताका विषयलाई उनीहरुले सम्बोधन गर्ने,”विज्ञप्तिमा भनिएको छ।

एमसीसी कार्यान्वयनका लागि जोड दिन गत सप्टेम्बरमा एमसीसी मुख्यालय उपप्रमुख फातिमा सुमार आएको दुई महीनापछि अमेरिकाबाट पुनः उच्चस्तरमा नेपाल भ्रमण भएको हो। भ्रमणका क्रममा अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीले एमसीसी कार्यान्वयनका विषयमा भएको ढिलाईका विषयमा नेपालका सरकार र प्रतिपक्षी दलसँग चासो राख्ने बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved