साताको शेयर बजार : नेप्से घट्ने क्रम जारी, १६ अर्बको कारोबार

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव, दीपावली तथा छठजस्ता महत्वपूर्ण चाडपर्वको अवसरलगायत कारण धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरोलो लाग्ने क्रम यस साता पनि जारी रह्यो।

साताभर तीन दिन मात्रै धितोपत्र बजारमा शेयरको कारोबार भयो। दुई दिन बिदा परेकाले साताभर पूर्णरुपमा कारोबार हुन पाएन। तीन कारोबार दिनमा नेप्से परिसूचक हरेक दिनजसो ओरालो नै लाग्यो।

बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा गरेको कडाइका कारण पनि बजारमा मानसिक प्रभाव परेको अनुमान गरिएको छ। एउटा संस्थाबाट चार करोड र बढीमा १२ करोड रुपैयाँसम्म मात्रै शेयर धितो कर्जा लिन पाउने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिका कारण पनि बजारले गति समात्न नसकेको विश्लेषण भइरहेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २३० कम्पनीको शेयर कारोबार भयो। पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनसम्म १३९.३५ अंकले नेप्से परिसूचक ओरालो लागेको देखिन्छ। कुल दुई करोड ८६ लाख ४०९ कित्ता शेयर १६ अर्ब ६ करोड ८० लाख ५१ हजार १९० रुपैयाँमा खरिद बिक्री भए।

दीपावलीको बिदापछि खुलेको पहिलो कारोबार दिन नै नेप्से परिसूचक भने दोहोरो अंकले ओरालो लाग्यो। सोमबार नेप्से १९.२० अंकले घटेर दुई हजार ८२९.६४ मा आर्लियो। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा झरेको थियो। त्यस दिन कारोबार रकम पनि खासै बढेको देखिएन। कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३  रुपैयाँमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार रुपैयाँ बराबर रहेको थियो।

धितोपत्र बोर्डका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो। त्यस दिन कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको ५२ करोड १० लाख तीन हजार ५९० बराबर रुपैयाँको कारोबार भयो।

मंगलबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। त्यस दिन नेप्से परिसूचक ७९.७९ अंकले घटेर दुई हजार ७४९.८५ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०२ अंकले घटेर ५१२.०२ मा ओर्लियो। त्यस दिन नेप्से परिसूचक उच्च अंकले घटे पनि कारोबार रकम औसतमा सीमित रह्यो।

कूल २२५ कम्पनीको एक करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँमा खरिद बिक्री भए। कारोबार भएका १३ ओटै उपसमूहको शेयरमा पहिरो गयो। त्यस दिन नबिल बैंक शीर्ष स्थानमा रही २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँको कारोबार भयो। मानुषी लघुवित्त, साहस ऊर्जा र तेह्रथुम पावरको शेयर ९.९९ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यसैगरी, आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो।

साताको अन्तिम दिन बिहीबार पनि नेप्से उच्च अंकले घट्यो। त्यस दिन नेप्से ५९.५७ अंकले घटेर दुई हजार ६९०.२९ मा ओर्लियो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अंकले घटेर ५०२.१९ मा पुग्यो। नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा नै सीमित भयो। कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० रुपैयाँमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका १३ ओटै उपसमूहको शेयर ओरालो लाग्यो।

बिहीबार महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रही ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँ बराबरको कारोबार भयो। कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved