जनगणनामा पहिचान र वास्तविकता मोडिने चिन्ता

नेपालभ्युज

जनगणनामा पहिचान र वास्तविकता मोडिने चिन्ता

काठमाडौं। १२औं राष्ट्रिय जनगणना आज (२५ कात्तिक) बिहीबारदेखि शुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछिको यो पहिलो जनगणना हो।

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित गणना शुरु हुँदै गर्दा कतिपय जातिले भने आफ्नो पहिचान र वास्तविक विवरण तोडमोड हुने चिन्ता व्यक्त गरेका छन्। केन्द्रीय तथ्यांक विभागले वास्तविकता मोड्ने गरी विवरण संकलन गर्न थालेको किरात राई यायोख्खालगायत संघ-संस्थाको आरोप छ।

राईभित्र थरगत समूह छुट्टै जाति नभएको प्रस्ट भए पनि विभागले जबर्जस्ती थरगत छुट्याएर सूची संकलन गर्न थालेको यायोख्खाका केन्द्रीय कार्यसमिति अध्यक्ष दिवस राईले बताए। “विभागले राईका हरेक थर र विभिन्न भाषी भनेर विवरण लिइरहेको छ, यो सरासर गलत हो”, उनले नेपालभ्यूजसँग भने, “राईभित्रको थरगत समूह छुट्टै जाति होइन।”

गणना शुरु हुनुभन्दा एक वर्ष अगावै यसबारे ध्यानाकर्षण गराउँदा पनि विभागले सुझावलाई गम्भीर रूपमा नलिएकाले २०६८ को गणनामा भएको त्रुटि यसपटक पनि जानाजान दोहोर्‍याइएको राईको भनाइ छ।

शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट, पेन्सनपट्टालगायत सरकारी कागजातमा उल्लेख भएको थरलाई हुबहु तथ्यांकमा समेट्नुपर्नेमा सरकारी निकायले समस्या निम्त्याउने काम गरेको उनले बताए। राईले भने, “जात फेर्न पाइँदैन, कानूनले दिँदैन, तर हाम्रै सरकारी निकाय तथ्यांक विभागले जात फेर्ने कामलाई प्रोत्साहन गरिरहेको छ।”

उनले दोहोर्‍याए, “बिनाप्रमाण हामीले यस्तो दाबी गरिरहेका छैनौं, नेपाल एकीकरणभन्दा अघिदेखिको हाम्रो पहिचान मेटिनु हुँदैन भन्ने हाम्रो भनाइ हो।” प्रदेश १ का पहाडी जिल्ला राईहरुको उद्गमस्थल हो। अहिले विभिन्न ६४ जिल्लामा राईहरूको बसोबास फैलिएको यायोख्याको तथ्यांक छ।

सोही संस्थाकाअनुसार राई जातभित्र २६ वटा मातृभाषा छन्। २०५८ को जनगणनाअनुसार मुलुकभर राई जातिको संख्या ६ लाख ३५ हजार थियो। २०६८ मा १५ हजार जनसंख्या घटेर ६ लाख २० हजार छ। १० वर्षको अवधिमा ठूलो संख्या घटेको पाइएपछि यायोक्खाले प्रचार अभियान थालेको थियो।

नयाँ पुस्ताले छुट्टै थरगत जाति लेखाउँदा २०६८ को गणनामा जनसंख्या घटेको यायोख्याको विश्लेषण छ। २०६२ पछि थरगत स्वतन्त्र अस्तित्व खोज्न संस्था खोल्ने लहर शुरु भएपछि यस्तो समस्या निम्तिएको यायोख्या पदाधिकारीहरुको ठहर छ। नयाँ पुस्ताले विगतका सरकारी अभिलेख अनुसारका विवरण गणकलाई नदिँदा यसपटक पनि तथ्यांक हेरफेर हुन सक्ने उनीहरूको अनुमान छ।

यस्तो समस्या राई जातिमा मात्रै होइन, ब्राह्मण र दलित, क्षत्री र मगरलगायत जातमा पनि दोहोरिने विज्ञहरुको ठहर छ। ब्राम्हण र दलितका थर एक आपसमा मिल्दो जुल्दो भएकाले जनगणनामा दलितको संख्या घट्न सक्ने संस्कृतिविद् प्राडा जगमान गुरुङले बताए।

जातिभित्रका भाषिक थर छुट्याएर सूची संकलन गर्दा सरकारी अभिलेखमा वास्तविक विवरण प्राप्त नहुने उनको बुझाइ छ। “जनगणनामा धर्म हिन्दू भाषा नेपाली लेखाउँदैमा व्यक्तिको पहिचान खुल्दैन, वास्तविक पहिचानका लागि निधक्क आफ्नो थर लेखाउनुपर्छ”, गुरुङले भने।

लोकसेवा र अन्य आरक्षण कोटामा दलित थर खुलाउन अप्ठ्यारो नमानेझैं राष्ट्रिय गणनामा आफ्नो पहिचान लुकाउन नहुने उनको सुझाव छ। क्षत्रीका अधिकांश थर मगरसँग र मगरका थर क्षत्रीसँग मिल्ने भएकाले यी जातिको विवरण पनि फरक हुन सक्ने गुरुङलगायत विज्ञको ठहर छ।

तथ्यांक विभागले कसैलाई दबाब र करकापमा पारेर विवरण संकलन नगरिने जनाएको छ। उत्तरदाताले गणकलाई दिएको विवरण गोप्य राखिने भएकाले हरेक व्यक्तिको व्यक्तिगत सार्वजनिक नहुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।

“व्यक्तिको व्यक्तिगत विवरण गोप्य रहन्छ, जात जातिको संख्या एकीकृत गरेर सामूहिक रूपमा सार्वजनिक हुन्छ, उनले भने, “उत्तरदाता हाम्रा लागि भगवानसरह हुन्, त्यसैले आफ्नो वास्तविक विवरण दिएर हामीलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ।”

परम्परागत पहिचान छोड्न चाहने र कतिपय भेगमा मौलिक पहिचानसहित विवरण जोड्ने इच्छा राख्नेहरू भएकाले केही संघ संस्थाको गुनासो विभागमा आएको श्रेष्ठले बताए। केन्द्रले गुनासो सम्बोधन गर्ने भन्दा पनि गणकले संकलन गरेको विवरण नै अन्तिम तथ्यांक र विवरण हुने उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved