चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको विकास गर्नुपर्छः पर्यटनमन्त्री आले

‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताए।

नेपालभ्युज

चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको विकास गर्नुपर्छः पर्यटनमन्त्री आले
फाइल फोटो।

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले भगवान शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा ‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’को उद्घाटन गर्दै मन्त्री आलेले भगवान शिवले बास गरेका चार धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गर्नुपर्ने बताए।

यसरी सर्किटको विकास गर्न सकेमा हिन्दु धर्मावलम्वीहरुले चारवटै धामको दर्शन गर्ने अवसर पाउने र सो शिवालयहरुप्रति अझै धार्मिक आस्था बढेर जाने आलेले बताए।

‘‘भगवान शिवले बास गरेको चारवटा धामहरु पशुपतिनाथ, काशी विश्वनाथ, केदारनाथ र बद्रीनाथलाई शिव सर्किट कनेक्शनको रुपमा विकास गरी संसारभरीका अर्बौँ हिन्दु धर्मावलम्बीहरुलाई चारै धामको दर्शन गर्ने अवसर सिर्जना गरौँ”, आलेले भने, ‘‘यो सर्किटको कन्सेप्टले यी शिवालयहरु प्रति अझै धार्मिक आस्थाको गरिमा बढेर जानेछ।’

पर्यटनमन्त्री आलेले नेपाल-भारत सम्बन्ध प्राचिन, मौलिक र सभ्यताको सम्बन्ध भएको बताए। उनले एकपटक विश्वनाथ मन्दीरमा दर्शन गर्ने हिन्दु दर्शनार्थीले एकपटक पशुपतिनाथको दर्शन गर्नुपर्ने पौराणिक मान्यता रहेको उल्लेख गर्दै पशुपतिनाथदेखि काशी विश्वनाथसम्मको मोटरसाइकल र्‍यालीले नेपाल भारत सम्बन्ध प्रगाढ हुने र हिन्दु धर्मको गरिमा उच्च रहने विश्वास व्यक्त गरे।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको पशुपतिनाथ मन्दीर र भारतको काशी विश्वनाथ मन्दीर दुई देशको सभ्यताको प्रमुख चिन्ह भएको बताए। यी दुई धार्मिक स्थलहरुले दुई देशको समाजलाई जोडेको र सम्बन्धलाई निरन्तरता दिने प्रतीकका रुपमा पनि रहेको उल्लेख गरे।

शुक्रवार नै दर्जनौँ युवाहरुले ‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ काठमाडौंको पशुपतिनाथबाट प्रारम्भ गरेका छन्। ५० भन्दा बढी मोटरसाइकलमा सवार राइडरहरू झन्डै ९०० किलोमिटर दूरी पूरा गरेर ३० कात्तिकमा नेपाल फर्कने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved