डेंगु संक्रमण बढ्दा स्वास्थ्य मन्त्रालयको बेवास्ता

नेपालभ्युज

डेंगु संक्रमण बढ्दा स्वास्थ्य मन्त्रालयको बेवास्ता

काठमाडौं। बर्षायामसँगै भदौ अन्तिम साता देखिएको डेंगुको संक्रमण काठमाडौंमा बढ्दै गएको छ। मैतीदेवी, कालिकास्थान, घट्टेकुलोलगायत क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ।

मैतीदेवीस्थित ‘एपोलो पोलिक्लिनिक’मा मात्रै मंगलबार र बुधबार मात्रै १० जनामा संक्रमण पुष्टि भएको छ भने हालसम्म करीब २ सय जनामा संक्रमण पुष्टि भएको छ। पोलिक्लिनिकका सञ्चालक लालिकुमार श्रेष्ठ आसपासका पोलिक्लिनिकमा मात्रै पाँच सय बढीमा संक्रमण देखिएको छ।

यसरी मैतीदेवी आसपासका क्षेत्रमा डेंगु तिव्रगतिमा फैलिरहँदा मन्त्रालयले भने चासो देखाएको देखिदैन। काठमाडौं महानगरपालिकाले महीना दिनअघि ४० जनामा डेंगु पुष्टि भएको जानकारी मन्त्रालयलाई दिएको थियो। तर यसबारेमा मन्त्रालयले कुनै चासो देखाएन र बढ्दै गएको डेंगुबारे ‘अपडेट’ पनि भएन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले केही समय पहिला महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी गराएको बताए। ‘‘महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु फैलिरहेको छ भनेर खबर गरे पनि हामी कहाँ त्यस्तो समस्या लिएर नआएकाले अपडेट नै भइएन,” उनले भने, ‘‘उनीहरूले आफ्नै तरिकाले ‘सर्च एण्ड नष्ट’ कार्यक्रम गरेछन्। बाक्लो बस्ती भएका कारण औषधि छर्ने कुरा भएन।”

सरकारले काठमाडौंमा मात्रै डेंगु फैलन सक्ने लामखुट्टेका लार्भा मार्न पाँच लाख बजेट छुट्याएको छ। तर मन्त्रालयले भने संचार माध्यममा प्रकाशित भएपछि मात्रै डेंगु फैलिरहेको जानकारी पाएको प्रवक्ता डा. पौडेलले बताए।

महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवर ज्ञानेश्वर, मैतीदेवी र घट्टेकुलो गरी महानगरका २९ र ३० वडामा डेंगु फैलिएको बताउँछन्।

दुई ओटा वडाका बासिन्दामा डेंगु संक्रमण फैलिरहेको र उनीहरू आफ्नै तरिकाले नजिकै रहेका क्लिनिकमा जाँच गराउन गएको खबर पाएपछि ‘सर्च एण्ड नष्ट’ र जनचेतना मुलक कार्यक्रम गरेको उनले बताए। ‘‘डेंगु फैलाउने लामखुट्टे बस्ने सम्भावित क्षेत्र भने पत्ता लगाउनै सकेनौं”, उनले भने।

विभागले डेंगुको स्रोत भेटाउन नसकेपछि स्थानीय बासिन्दालाई सुत्दा झुल लगाउने, झ्याल ढोका बन्द गरेर र डेंगु सार्न सक्ने लामखुट्टेको टोकाइबाट बच्न महानगरपालिकाले जनचेतनामुलक सन्देश मात्र दियो।

भोलि डेंगु फैलिएका वडाहरूका जनप्रतिनिधि र महानगरपालिकाको स्वास्थ्य विभागका व्यक्तिहरूसँग बैठक समेत रहेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved