न्यूजिल्याण्ड भर्सेस इंग्ल्याण्ड

एकदिवसीय विश्वकपको ‘नाटकीय फाइनल’मा भोगेको हार र बदलाको सम्भावना

न्यूजिल्याण्डको क्रिकेट टिमले विश्वभरका धेरै क्रिकेटप्रेमिहरुको साहानुभुती पाउँछ। भलाद्मीहरुको खेल भन्ने गरिएको क्रिकेटमा पनि न्यूजिल्याण्डका खेलाडीहरुलाई झन् विश्व क्रिकेटकै सबैभन्दा भलाद्मी खेलाडीको दर्जा दिइने गरिएको छ, जो प्रायःजसो शान्त रहने गर्छन्। न त जितमा धेरै मात्तिन्छन्, न त हारमा धेरै आक्रोशित हुन्छन्।

एकदिवसीय विश्वकपको ‘नाटकीय फाइनल’मा भोगेको हार र बदलाको सम्भावना

काठमाडौं। तपाईं विश्व क्रिकेटमा रुचि राख्नु हुन्छ र क्रिकेट पछ्याउनुहुन्छ भने सन् २०१९ को एकदिवसीय विश्वकपको रोमाञ्चक फाइनल खेल याद नै होला। जहाँ धेरै बाउण्ड्री प्रहार गरेको अचम्मको नियमको आधारमा न्यूजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले विश्वकपको उपाधि उचालेको थियो।

त्यसको करिब दुई वर्षपछि फेरि एकपटक यिनै दुई राष्ट्र, न्यूजिल्याण्ड र इंग्ल्याण्ड विश्वकपमा भिडन्त गर्दैछन्। तर एकदिवसीय विश्वकपमा होइन, टी-ट्वान्टी विश्वकपमा।

यूएईमा जारी टी-ट्वान्टी विश्वकपको आज (बुधबार) राति हुने पहिलो सेमिफाइनल खेलमा यी दुई टोलीको भेट हुन लागेको हो। उक्त एकदिवसीय विश्वकपको फाइनल हारेको न्यूजिल्याण्ड टिममा रहेका आठ खेलाडी अहिलेको टी-ट्वान्टी विश्वकपको टिममा पनि छन्।

क्रिकेटमा न्यूजिल्याण्डलाई ठ्याक्कै फुटबलको नेदल्याण्डस् जस्तै मानिन्छ, निक्कै अभागी टिम। प्रायःजसो सबै ठूला प्रतियोगितामा सेमिफाइनल वा फाइनलसम्म सजिलै पुग्ने तर उपाधि भने कहिल्यै नजित्ने।

त्यसैले, न्यूजिल्याण्डको क्रिकेट टिमले विश्वभरका धेरै क्रिकेटप्रेमिहरुको साहानुभुती पाउँछ। भलाद्मीहरुको खेल भन्ने गरिएको क्रिकेटमा पनि न्यूजिल्याण्डका खेलाडीहरुलाई झन् विश्व क्रिकेटकै सबैभन्दा भलाद्मी खेलाडीको दर्जा दिइने गरिएको छ, जो प्रायःजसो शान्त रहने गर्छन्। न त जितमा धेरै मात्तिन्छन्, न त हारमा धेरै आक्रोशित हुन्छन्।

जसकारण पनि न्यूजिल्याण्डको क्रिकेट टिमले आफूलाई समर्थन गर्ने विश्वभरमा धेरै समर्थक पाएको छ। दुई वर्ष अघिको एकदिवसीय विश्वकपको फाइनलमा नाटकीय हार भोगेका कारण निराश बनेका तिनै समर्थक आजको खेलमा इंग्ल्याण्डसँग त्यो कहिल्यै नबिर्सिने हारको बदला चाहन्छन्।

तर, न्यूजिल्याण्डका प्रमुख प्रशिक्षक ग्यारी स्टेड भने बितिसकेको त्यो खेलले यो खेलमा कुनै असर नगर्ने बताउँछन्, “मैले हाम्रो टिममा त्यो फाइनल खेलको बारेमा कसैले पनि कुरा गरेको सुनेको छैन। बस उनीहरु फेरि एक अर्को खेलमा इंग्ल्याण्डको सामना गर्न तयार छन्। हामी हालको उत्कृष्ट टिमलाई टक्कर दिन तयार छौं। यसमा २०१९ को फाइनल खेलको कुनै पनि कुराले मतलब राख्दैन, तर यो खेलमा पनि सुपर ओभर हुन सक्छ कि, कसलाई के थाहा।”

सन् २०१९ को एकदिवसीय विश्वकपको फाइनल खेललाई क्रिकेटमा मात्र होइन समग्र खेलकुदकै उच्चकोटीको फाइनल खेल मध्ये एक मानिन्छ। जसलाई क्रिकेटको इतिहासमा कहिले भुलिने छैन।

निकै रोमाञ्चक खेलमा पहिले ब्याटिङ् गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा २४१ रनको योगफल तयार पारेको थियो। यसपछि जवाफमा २४२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिन्थ्यो भने उसको मात्र अन्तिम दुई विकेट बाँकी थियो। त्यसैले सबैले न्यूजिल्याण्डले खेल जित्ने अनुमान गरेका थिए।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गरेका इंग्ल्याण्डका बेन स्टोक्स्ले अर्को बलमा गरेको प्रहारलाई न्यूजिल्याण्डका फिल्डर मार्टिन गुप्टिलले रोके। यसपछि रन आउट गराउन डाइरेक्ट हिटका लागि बलले स्टम्पमा हाने। तर उनले हानेको बल, पहिलो रन पूरा गरी कुदेर दोस्रो रन लिइरहेका स्टोक्स्को ब्याटमा लागेर ओभर थ्रोका कारण चौका भयो।

अम्पाएरले यो चौका र कुदेर लिएको दुई रनसहित यो बलमा ६ रन दिए। तर, क्रिकेटको नियमअनुसार दोस्रो रन पूरा नहुँदै बल बाउण्ड्रीका लागि गएकाले पाँच रन मात्र हुनेथियो।

यसपछि अन्तिम दुई बलमा इंग्ल्याण्डलाई जितका लागि दुई रन चाहिन्थ्यो। पाँचौ बलमा दौडेर पहिलो रन लिएपछि दोस्रो रन लिनखोज्दा आदिल रासिद रन आउट भए। अब अन्तिम बलमा इंग्ल्याण्डलले दुई रन लिए खेल जित्थ्यो, एक रन लिए बराबरी हुन्थ्यो भने एक रन पनि जोड्न जसके खेल न्यूजिल्याण्डले जित्थ्यो। फेरि इंग्ल्याण्डलको नौ विकेट खसिसकेको थियो।

अन्तिम बलमा पनि कुदेर पहिलो रनपछि दोस्रो रन लिन खोज्दा इंग्ल्याण्डको अन्तिम विकेटको रुपमा मार्क उड पनि रन आउट भए। खेल बराबरीमा सकियो। उक्त खेलमा अम्पाएरले चौथो बलमा ओभर थ्रोमा ६ रनको सट्टामा दिनुपर्ने पाँच रन मात्र दिएको भए खेल न्यूजिल्याण्डले जित्थ्यो।

तर, बराबरीपछि खेल सुपर ओभरमा पुग्यो। जसमा पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १५ रन जोडेको थियो। सुपर ओभरमा १६ रनको लक्ष्य पाएको न्यूजिल्याण्डले पनि खेल यस्तो रोमाञ्चक मोडमा पुरायो कि अन्तिम बलमा जितका लागि उसलाई फेरि दुई रनको आवश्यकता भयो।

अन्तिम बलमा कुदेर पहिलो रन पूरा गरेपछि दोस्रो रन लिन खोज्दा मार्टिन गुप्टिल पनि रन आउट भए। सुपर ओभरमा पनि खेल बराबर भयो।

यसपछि भने आईसीसीको अनौठो नियम रहेछ। सुपर ओभरमा पनि खेल बराबर भयो भने जसले बढी बाउण्ड्री हानेको छ त्यसले खेल जित्दो रहेछ। जहाँ सुपर ओभरसमेत गरी इंग्ल्याण्डले २६ बाउण्ड्री प्रहार गर्दा न्यूजिल्याण्डले मात्र १७ बाउण्ड्री हानेको थियो। फाइनल र सुपर ओभर दुवै बराबर भएपछि बढी बाउण्ड्री हानेको आधारमा इंग्ल्याण्डले त्यो विश्वकप जितेको थियो।

त्यस्तै रोमाञ्चक खेल यो सेमिफाइनलमा पनि हेर्न चाहन्छन् क्रिकेटप्रेमीहरु।

न्यूजिल्याण्डलाई यो पटकको उपाधि दाबेदारको रुपमा पनि मानिएको छ। तर विश्व क्रिकेटमा एक अभागी राष्ट्र न्यूजिल्याण्डले आईसीसीको प्रायजसो सबै ठूला प्रतियोगिताको फाइनल खेल खेलको छ। उपाधि भने हालसम्म जित्न सकेको छैन। त्यसैले यो पटक न्यूजिल्याण्ड पहिलो पटक विश्वकप जितेर इतिहास रच्ने तयारीमा छ।

हाल न्यूजिल्याण्ड आईसीसीको विश्व वरीयता क्रममा टेष्ट र एकदिवसीय क्रिकेटमा शीर्ष स्थानमा छ भने टी-ट्वान्टी वरीयतामा चौथो स्थानमा छ।

एक पटक टी-ट्वान्टी उपाधि उचालिसकेको इंग्ल्याण्ड पनि यो विश्वकप उपाधिको पहिलो दाबेदार हो। इंग्ल्याण्ड भने टी-ट्वान्टी वरीयतामा पहिलो स्थानमा रहेको राष्ट्र हो।

पछिल्लो समय टेष्ट, एकदिवसीय र टी-ट्वान्टी गरी तीनवटै फम्र्याटमा प्राय भिन्दा भिन्दै खेलाडीको टिम बनाएको इंग्ल्याण्ड दोस्रो पटक टी-ट्वान्टी विश्वकप जित्ने तयारीमा छ। इंग्ल्याण्डले सन् २०१० मा अष्ट्रेलियालाई फाइनलमा हराउदै पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved