संघीय संसदको चुनाव तोकिएकै समयमा हुन्छ -माधव नेपाल

एमालेले गलत बाटो लिएपछि पार्टीबाट निस्किएको स्पष्टोक्ति

नेपालभ्युज

संघीय संसदको चुनाव तोकिएकै समयमा हुन्छ -माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन्।

बिहीवार नेकपा(एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैँ नहुने बताए।

राष्ट्रिय सभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने उनले बताए। उक्त निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने र यसलाई कसैले भत्काउन तथा टुटाउन नसक्ने पनि उनले दाबी गरे। “कसैले भ्रम नपाले हुन्छ। आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन। संघीय संसदको चुनाव समयमै हुनेछ। त्यसको निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिडेका छौँ। अगाडी बढेका छौँ। त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आकलन हामीले गरीरहेका छौँ। हामी जित्नेछौँ। बाँकी हामीसँग ईर्ष्या गर्नेहरूको हालत खत्तम हुनेछ।”

अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनुपरेको तर्क गरे। नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरूले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य शुरु भएको नेपालको टिप्पणी थियो।

एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरू निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो। भने, “दुईतिहाई बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए। कस्तो मान्छेलाई नवौं महाधिवेशनमा हाम्रा साथीहरूले भोट दिएछन् ?’

एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने पनि उनले बताए। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही गरी मन्त्री पदबाट हटाउने पनि उनले चेतावनी दिए।

यो पनि पढ्नुहोस्

चर्चामा मात्रै ‘अर्ली इलेक्सन’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved