महानगरले खोल्ने निर्णय गरे पनि बन्द छन् अधिकांश विद्यालय

महानगरले खोल्ने निर्णय गरे पनि बन्द छन् अधिकांश विद्यालय

काठमाडौं। विद्यालयको मूल गेट बन्द थियो। छेउमा दुईजना चेस खेलिरहेथे। पोशाकले चिनिन्थ्यो एक जना सेक्युरिटी गार्ड थिए। सोधेपछि थाहा भयो, अर्का रहेछन् कार्यालय सहयोगी। एक सरो हेर्दा नै थाहा हुन्थ्यो, विद्यालय परिसरमा मान्छेका पैताला नपरेको महिनौं भइसक्यो। प्रांगणमा घाँस उम्रिएका थिए। कक्षा कोठा बन्द थिए। विद्यार्थीको होहल्ला गुञ्जिनुपर्ने विद्यालय श्मशानसरी शुन्य थियो। १० कात्तिकको दिउँसोपख डिल्लिबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको परिदृश्य यस्तै थियो।

No description available.

डिल्लिबजारकै अर्को विद्यालय पद्मकन्या विद्याश्रम माविको अवस्था पनि उस्तै थियो। विद्यालयको मुल गेट बन्द थियो। छेउमै थिइन् कार्यलय सहयोगी। विद्यालय सुनसान थियो। विद्यालयको प्रागणमा मर्मतसम्भारका लागि गिट्टी–बालुवा थुपारिएको थियो।

प्रदर्शनी मार्गस्थित पद्मोदय माविको प्रांगण पनि सुनसान नै थियो। कक्षाकोठामा ताला लगाए पनि दुई शिक्षिका उपस्थित थिए।

रानिपोखरीस्थित दरबार हाई स्कुलको परिसरमा भने ढकमक्क फुलहरू फुलिरहेका थिए। छेउमा एकजना कार्यालय सहयोगी थिए। प्रधानाध्यापक र लेखा कार्यालयको ढोका बाहेक सबै बन्द थिए।

चाबहिलस्थित पशुपती मित्र माध्यमिक विद्यालयमा भने टाढैबाट विद्यार्थीको आवाज सुनिन्थ्यो। वरिपरि जस्ताले बेरकोे गेट भित्र विद्यार्थीको चहलपहल थियो।

एकातर्फ विद्यालयको नयाँ संरचना निर्माण भइरहेको थियो। छेउमा लस्करै जस्ताको टहरामा विद्यार्थीहरू पढिरहेका थिए। कुनै बेञ्चमा तीन जना विद्यार्थी थिए भने कुनैमा चार जना। तथापी सबैको मुहारमा मास्क थियो।

बौद्धस्थित जनकल्याण माध्यामिक विद्यालय पनि चकमन्न नै थियो। विद्यालयको मुल गेटमा नै खोलिएको थिएन्। पाटन ढोकास्थित पाटन माविको प्रांगण पनि सुनसानै थियो।  विद्यालयमा केहि शिक्षक उपस्थित थिए। उनिहरूको पोशाकले नै चिनिन्थ्यो।

११ वैशाखमा कोभिड–१९ को दोस्रो लहरका कारण लकडाउन भएपछि वैकल्पिक माध्यमबाट अध्ययन गर्नुपर्ने बाध्यता थियो। कोभिड १९को संक्रमणदर कम हुँदै गएपछि काठमाडौं महानगरपालिकाले १० असोजमा विद्यालय खोल्न अनुमति दिएको थियो। उक्त निर्णयसँगै विद्यार्थीहरूले भौतिक उपस्थितिमा पढ्न पाउने भएका थिए। तर महानगरपालिकाले विद्यालय खोल्न अनुमती दिएको एक महिना पुरा हुँदा पनि  विद्यालय नखुल्दा अनलाइनको पहुँचमा नभएका विद्यार्थी भने मारमा परेका छन्।

अहिले काठमाडौं महानगरपालिका ७० प्रतिशत विद्यालय मात्र सञ्चालनमा आएको काठमाडौं महानगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद सुवेदीले बताए। लतितपुर महानगरपालिका भित्रका विद्यालय आंशिक रुपमा सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख महेन्द्र केसीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved