भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिन्छ।

नेपालभ्युज

भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा

भक्तपुर। ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा भक्तपुरमा मनाइएको छ। धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतिकका रुपमा मनाउने गरिन्छ।

खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीका दिन मनाउने परम्परा छ। यो जात्रालाई मोहनी नखाःको महत्वपूर्ण जात्राका रुपमा मान्ने गरिन्छ। महानवमीका दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा परिणत हुने जनविश्वास छ। महिषासुरको बध गर्ने धार्मिक मान्यताअनुसार खःमेय्को बलिसहितको तान्त्रिक पूजा गरेर जात्रा मनाउने गरिन्छ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पुजा गरी नवदुर्गा द्योःछे (देवगृह)बाट दौडाएर ब्रह्मायणी पीठसम्म पु¥याइन्छ।
नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई चक्रसहित शरीरमा सातवटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ अगाडि फर्किएको उत्तम मानिन्छ। कानमा कुनै खोट नभएको, शरीरभर कुनै घाउचोट नलागेको, कम्तीमा पनि एक सय धार्नी तौल भएको मोटोघाटो राँगो छानिन्छ।

बध गरिएको खःमेय्को स–साना मासुका टुक्रा प्रसादका रुपमा घर लगेर सुकुटी बनाउने र त्यसलाई धुलो पारेर घ्यूमा मुछेर धुप बनाइन्छ। यसरी बनाइएको धुप लक्ष्मीपूजाका दिनमा बाल्ने चलन छ। सो दिन धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीले बास गर्ने जनविश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved