सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे रिपोर्टिङ

बैठकमा सुमारसँगको भेटमा भएका कुराकानीको विषयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट रिपोर्टिङ भएको हो।

नेपालभ्युज

सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे रिपोर्टिङ
फाइल तस्वीर

काठमाडौं। सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि बसेको सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठकमा एमसीसीको विषयमा रिपोर्टिङ भएको छ। शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे रिपोर्टिङ भएको हो।

एमसीसीकी उपाध्यक्ष फतेमा सुमारको टोलीसँग गठबन्धनका नेताहरुको भेट भइसकेको अवस्थामा बैठक बसेपछि सोही विषयमा रिपोर्टिङ भएको हो। बैठकमा सुमारसँगको भेटमा भएका कुराकानीको विषयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट रिपोर्टिङ भएको हो।

चार दिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेकी सुमारको टोलीले दिउँसो एकीकृत समाजवादीका अध्यक्ष नेपाल र साँझ जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेको थियो।

आजको गठबन्धन बैठकमा सोही विषयमा कुरा उठेपछि नेपाल र यादवले भेटका क्रममा भएका कुराकानीको विषयमा रिपोर्टिङ गरेका राष्ट्रिय जनमोर्चाको तर्फबाट बैठकमा सहभागी दुर्गा पौडेलले जानकारी दिइन्।

मन्त्रिपरिषद्लाई विस्तार गर्दै सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल भएको पौडेलले बताइन्। नेपाल भ्यूजसँग कुरा गर्दै पौडेलले भनिन्, ‘‘एमसीसीको टोलसँग भएको कुराकानीको विषयमा आजको बैठकमा नेताहरुले रिपोर्टिङ गर्नुभयो। मुख्यतः सरकारलाई पूर्णता दिने विषयमा कुराकानी भयो।”

गठबन्धनले एमसीसीमा एकमत भएर जाने निर्णय गरेको हो भन्ने नेपाल भ्यूजको प्रश्न मा पौडेलले भनिन्, ‘‘त्यसको विषयमा पार्टीको निर्णयअनुसार हुन्छ। पार्टी आआफूले निर्णय गरेर समर्थन गरे गर्छन्, विरोध गरे पनि गर्छन्।” उनले बैठकमा गठबन्धनलाई थप बलियो बनाउँदै जाने विषयमा छलफल भएको बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved