जयसिंह धामी बेपत्ता प्रकरण

अन्ततः पठाइयो कूटनीतिक नोट

नेपालभ्युज

अन्ततः पठाइयो कूटनीतिक नोट
फाइल तस्वीर

काठमाडौं। घटना भएको एक महीना बित्दा पनि मौन रहेको भन्दै आलोचित सरकारले अन्ततः दार्चुला घटनाबारे भारतीय सरकारलाई कूटनीतिक नोट पठाएको छ। साथै नेपाली आकाशमा अनधिकृत रूपमा हेलिकप्टर उडाइएकोबारे पनि बेग्लै नोट पठाइएको परराष्ट्र मन्त्रालय स्रोतले पुष्टि गरेको छ।

“दार्चुला घटनाबारे शुक्रबार नै नोट पठाइएको हो”, मन्त्रालय स्रोतले भन्यो, “अनधिकृत रूपमा हेलिकप्टर उडाइएकोबारे पनि पठाइएको छ।”

१५ साउनमा महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाइदिएपछि दार्चुलाका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।

घटना भएलगत्तै घटनाको वास्तविकता पत्ता लगाउन सरकारले छानबिन समिति निर्माण गरेको थियो। १५ भदौमा गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाइएको प्रतिवेदनमा समितिले घटनामा एसएसबीको संलग्नता रहेको पुष्टि गर्दै कूटनीतिक तवरले यो विषयलाई प्रस्तुत गर्न सरकारलाई सुझाव दिएको थियो।

नेपाली सञ्चारमाध्यममा घटनाबारे बारम्बार चर्चा हुन थालेपछि १७ भदौको नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सञ्चारमाध्यमहरूमा समाचार पढे पनि भारत सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताएका थिए।

सोही दिन गृह मन्त्रालयले भारतीय पक्षसँग घटनाबारे कुरा गर्न भन्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो।

उता भारतले महाकालीवारि नेपाली भूमिमाथी बारम्बार हेलिकप्टर उडाउन थालेपछि भदौको तेस्रो साता जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग लिखित आपत्ती जनायो।

महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी कार्यका लागि महाकाली नदीको पल्लो किनारमा ड्रोन उडाउन खोज्दा असहयोग गरेको भारतले नेपाली भूमिमाथि हेलिकप्टर उडाउन थालेपछि जनमानसमा असन्तोष बढ्दै गयो।

सडकमा भारतीय प्रधानमन्त्रीविरूद्ध प्रदर्शन हुन थालेपछि २० भदौमा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिलाई रोक लगाउने प्रयास गरेको थियो।

नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको यो पहिलोपटक भने होइन। तर, भारत सरकारले बारम्बार बेवास्ता गर्ने गरेको छ।

नोभेम्बर २०१९ मा भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय सरहदभित्र पर्नेगरी नयाँ नक्सा सावर्जनिक गरेपछि नेपाल सरकारले नोट पठाएको थियो।

गतवर्ष पनि भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माण गरेपछि अर्को कूटनीतिक नोट पठाएको थियो। तर, भारत सरकारले दुवै नोटबारे आजसम्म कुनै प्रतिक्रिया दिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved