रवीन्द्र मिश्र भर्सेस मिलन पाण्डे

विवेकशील साझाले डाक्याे डेढ घण्टाको अन्तरमा केन्द्रीय समितिको २ वटा बैठक

नेपालभ्युज

विवेकशील साझाले डाक्याे डेढ घण्टाको अन्तरमा केन्द्रीय समितिको २ वटा बैठक

काठमाडौं । विवेकशील साझा पार्टीले बिहीबार एकैदिन डेढ घण्टाको अन्तरमा केन्द्रीय समितिका दुई वटा बैठक बोलाएको छ । अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका हुन् ।

अध्यक्ष मिश्रले ‘पार्टीभन्दा माथि देश’ भन्दै सार्वजनिक गरेको राजनीतिक दस्तावेजले तहत्का मच्चाएपछि विवेकशील साझामा आन्तरिक कलह चरम बिन्दुमा पुगेको छ । मिश्रले आफ्नो दस्तावेजमा धर्मनिरपेक्षता र संघीयताका विषयमा जनमतमा जानुपर्ने बताएपछि पार्टीभित्र विवाद शुरु भएको हो ।

पार्टीभित्रको विवादकै कारण अध्यक्ष मिश्र र संयोजक पाण्डेले एकैदिन फरक फरक समयमा केन्द्रीय समितिको बैठक बोलाएका हुन् । अध्यक्ष मिश्रले आज बिहीबार दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएपछि पाण्डेले काउन्टर दिँदै बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

एकीकरण भएर फुटेपछि फेरि एकीकरण गर्दा विवेकशील साझाले १३० सदस्यीय केन्द्रीय समिति बनाएको थियो । तत्कालीन विवेकशीलबाट ६५ र साझाबाट ६५ जना राखेर केन्द्रीय समिति बनेको थियो ।

उक्त कार्यसमितिमा आफूहरु बहुमतमा रहेको दाबी गर्दै अध्यक्ष मिश्रले आफ्नो राजनीतिक दस्तावेजलाई आजको बैठकबाट आधिकारिकता दिने तयारी गरेका छन् । तर, संयोजक पाण्डे समूहले भने मिश्रसँग बहुमत नभएको भन्दै काउन्टर बैठक राखेको छ ।

दुई पटक एकीकरण भएको तथा एक पटक फुटिसकेको विवेकशील साझा फेरि फुटको संघारमा पुगेको छ । आजको समानान्तर बैठकपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच कोसँग कति शक्ति छ भन्ने पनि प्रष्ट हुने देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved