थुप्रियो १५ हजार मेट्रिक टनभन्दा बढी फोहोर

घाम लाग्यो भने १० दिनमै फोहोर उठ्छ : महानगर

नेपालभ्युज

थुप्रियो १५ हजार मेट्रिक टनभन्दा बढी फोहोर

काठमाडौं।काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा थुप्रिएको फोहोर एक महिनापछि बल्ल उठाउन थालिएको छ। नुवाकोटस्थित सिसडोलका स्थानीयसँग फोहोर विसर्जनबारे सहमति भएपछि बुधबारदेखि फोहोर बोकेका टिपर सिसडोल जान थालेका हुन्।

एक महिना हाराहारीमा करिब १५ हजार मेट्रिकटन फोहोर उपत्यकामा थुप्रिएको छ। काठमाडौं महानगरपालिकाका अनुसार बुधबार साँझसम्म ६० वटा टिपर सिसडोल पुगेका छन्। अब फोहोर संकलन र विर्सजनमा कुनै समस्या नभएको महानगरको दाबी छ। वर्षाले ल्याण्डफिल साइटको बाटो अवरुद्ध भएकाले फोहोर व्यवस्थापनमा समस्या भएको काठमाडौं महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ।

“मौसमले साथ दियो भने फोहोर व्यवस्थापन गर्न समस्या हुँदैन, उनले भने, “आज (बुधबार) जस्तै नियमित घाम लाग्यो भने १० दिनभित्रैमा सडकको फोहोर उठाइसक्छौ।” घरभित्र संकलित फोहोर उठाउन भने केही समय लाग्ने श्रेष्ठले बताए। यसअघि भदौ ६ गते ककनी गाउँपालिका–१ की एक वृद्धाको मृत्यु भएपछि स्थानीयले ल्याण्डफिल जाने सडक अवरुद्ध गरेका थिए।

ल्याण्डफिल साइडको प्रदूषित वातावरणले फैलिएको हैजाले वृद्धाको मृत्यु भएको दाबी गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए।
स्थानीयको दाबी पुष्टि गर्न नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजाको जीवाणु नभेटिएको बताइएको छ। मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायतका अधिकारी संलग्न बैठकले बुधबारदेखि नियमित फोहोर उठाउने निर्णय गरेको थियो।

काभ्रेको धुलिखेल नगरपालिकासहित काठमाडौं उपत्यकाका १८ वटा नगरको फोहोर विसर्जनका लागि सिसडोल पु¥याइन्छ। उपत्यकामा दैनिक एक हजार देखि १२ टन फोहोर संकलन हुने गरेको काठमाडौं महानगरको तथ्यांक छ। भक्तपुर नगरपालिका बाहेक अन्य सबै नगरको फोहोर सिसडोल पुग्ने गरेकाले व्यवस्थापनमा समस्या भएको काठमाडौं महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठले बताए।
तीनसाता याताको फोहोर मात्रै उपत्यकाका सडक र सार्वजनिक स्थलमा रहेको उनको दाबी छ। “फोहोरको ‘भोल्युम’ धेरै रहेकाले महिनादिन अघिदेखिको समस्या जस्तो लाग्छ तर वास्तवमा त्यस्तो होइन”, श्रेष्ठले भने। सिसडोलमा २०६२ जेठ ६ गतेदेखि उपत्यकाको फोहोर विसर्जन हुँदै आएको छ।

काठमाडौं महानगरका साढे नौ सय र निजी क्षेत्रका करिब तीन हजार टिपर फोहोर व्यवस्थापनमा प्रयोग हुने गरेका छन्। अहिले वर्षाले सिसडोलमा फोहोरको पहिरो गएकाले टिपर पुग्न सहज छैन। टिपर धकेल्न ठाउँ–ठाउँमा स्काभेटरको प्रयोग गर्न थालिएको छ।
त्यहाँ तीन वर्षका लागि फोहोर विसर्जन गर्ने भनिए पनि सरकार गम्भीर नहुँदा आसपासको वातावरण प्रभावित भएको स्थानीयको गुनासो छ।

“अहिले मात्रै होइन, विगतदेखि नै राज्यले हामीलाई मानवीय व्यवहार गरेको छैन, ककनी गाउँपालिका–१ स्थानीय श्रीराम ढुंगानाले भने, जनस्वास्थ्यबारे ध्यानाकर्षण गराउँदा हामीलाई मानिसका रुपमा समेत व्यवहार गरिँदैन।” अहिले स्थानीयको अवरोध भन्दा पनि सरकारको आफ्नै कारणले फोहोर विसर्जनमा समस्या आएको उनको बुझाइ छ। सिसडोलको विकल्पका रुपमा अघि सारिएको बञ्चरेडाँडा ल्याण्डफिल साइटको भौतिक पूर्वाधारमा भइरहेको ढिलासुस्ती, हालको सिसडोलको सडक स्तरोन्नती नगर्दा समस्या जटिल भएको ढुंगानाको बुझाइ छ।

प्रधानमन्त्री कार्यालयमा सहमति
उपत्यकाको फोहोर व्यवस्थापन जटिल भएपछि बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिसडोलका स्थानीयसँग छलफल गरेको छ। दीर्घकालीन निकास र स्थानीयको गुनासो खोज्न मुख्यसचिव शंकरदाश बैरागी, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विकास महाशाखा सचिव शिशिर ढुंगाना लगायतका अधिकारीले स्थानीयको धारणा बुझेका हुन्।

फोहोर मैलालाई औद्योगिक विकासको अवधारणामा बदल्न, ल्याण्डफिल साइड आसपासका बस्तीमा वातावरण र अन्य प्रदूषण नफैलने वातावरण सुनिश्चित गर्न स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारका तर्फबाट भविष्यमा दीर्घकालीन समस्या निम्तिन नदिने प्रतिवद्धता आएको सिसडोलका स्थानीय ढुंगानाले बताए। “अब स्थानीयले पनि कुनै अवरोध कुनै अवरोध नगर्ने सहमति भएको छ”, उनले भने।
बैठकमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा लगायतका अधिकारी उपस्थित भए पनि काठमाडौं र अन्य नगरका पदाधिकारी अनुपस्थित थिए।

तस्बिरहरू गोपिन राई ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved