त्रासमा छन् अफगानिस्तानका महिला

नेपालभ्युज

त्रासमा छन् अफगानिस्तानका महिला

काठमाडाै‌ं। अफगानिस्तानको टोलो न्यूज टेलिभिजनका प्रमुख लोटफुल्ला नजफिजादाले १५ अगस्टमा ‘काबुल’ लेखेर एउटा फोटो ट्वीट गरे। फोटोमा एक ब्यूटी सैलुनका मालिकले महिलाहरूको फोटो भएको पोस्टरमा सेतो रंग पोत्दै थिए।

आइतबार तालिबानले अफगानिस्तानको काबुल पुगेसँगै सोसल मिडियामा भाइरल भएको यो फोटोसँगै अफगानिस्तानको महिलाहरूको अवस्था दयनीय हुन सक्ने अड्कलबाजी भइरहेको छ।

न्यूयोर्क टाइम्सको लागि काबुलकी पूर्वपत्रकार जाहरा नादरले १५ अगस्टमा ट्वीट गर्दै अफगानिस्तानमा महिलाहरू असुरक्षित भएको जानकारी दिएकी छन्।

उनले लेखेकी छन्, “मेरी बहिनी र साथी आज घर जाँदै गर्दा मानिसहरूले उनीहरूलाई हेर्दै ‘तालिबान तिमीहरूको कारण आइरहेका छन्’, ‘तालिबान यहाँ तिमीहरूलाई अनुशासित गर्न आएका हुन्’ भनेर चिच्याइरहेका थिए।”

साथै रुक्साना मिडियाकी पत्रकार जाहरा जोयाले सोमबार एउटा फोटो ट्वीट गर्दै लेखेकी छन्, “यो बुर्का हो। मेरो बिचारमा यो हिजाब होइन, जेल हो, जसले निर्दाेष महिलालाई कब्जामा पार्छ। यो चादरसँगै म पनि कैदी हुनेछु।”

तालिवानले सत्ता कब्जा गरेसँगै मिडियामा काम गर्ने मात्रै नभई सर्वसाधारणहरू पनि त्रसित छन्। जुलाइको सुरुवातमा बदख्शान र तखारी प्रान्तमा कब्जा गरेपछि तालिबान नेताहरूले तालिबानका सेनासँग बिहे गराउन स्थानीय धार्मिक नेताहरूलाई १५ वर्षमाथिका युवतीहरू र ४५ वर्ष मुनिका विधवा महिलाहरू उपलब्ध गराउनको लागि आदेश दिएको थियो।

आइतबार अफगानिस्तानका राष्ट्रपति असरफ गानीले देश छोडेर तालिबानले सत्ता हातमा लिएसँगै प्रधानाध्यापक नसरिन सुल्तानी पनि झनै निराश भएकी छन्। काबुलको सरदार–ए–कबुली गल्र्स हाइ स्कुलकी प्रधानाध्यापक नसरिन सुल्तानी पनि आफ्नो छात्राहरूको सुरक्षाको विषयलाई लिएर चिन्तामा छिन्। अफ्गानी बालिकाहरूको अधिकारको लागि वर्षौँदेखि संघर्षरत उनले एनबीसीलाई भनिन्, “म धेरै चिन्तित छु। जब म यी बालिकाहरूलाई लेख्छु, म धेरै नै उदास हुन्छु।”

महिलाहरु यो दयनीय अवस्थालाई कसरी झेल्छन् र यसबाट बाहिर निस्कन्छन् भन्ने चिन्ताले उनलाई सताइरहेको छ। युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट रिस्टोरेसन प्रोजेक्टले अनुमति दिएपछि दशकदेखि उनले यो विद्यालय चलाइरहेकी छन्। उनी बालिकाहरूलाई पढ्नको लागि प्रोत्साहित गरिरहन्छिन्।

उनलाई विगतमा पनि तालिवानले धम्की दिएका छन्। कट्टर इस्लामिक आतंकवादी समूहका सदस्यहरूले उनलाई भनेका थिए, “तिमीहरू सबै मारिन सक्छौ।”

तालिबानले गतहप्ता अफगानिस्तानको मुख्य प्रदेशका राजधानीहरू आफ्नो अधीनमा लिएको थियो। गत मे महिनामा अमेरिकी आर्मी र अन्य अन्तराष्ट्रिय ट्रुपहरू फर्किन थालेका थिए। त्यसपछि तालिबानले दु्रत गतिमा अघि बढेको थियो।
नेतृत्वको तहमा रहेका अफगानी महिलाहरुमध्ये सुल्तानी पनि एक हुन्।

तालिबानले इस्लामको कठोर नियम पालना गर्न लगाउँछ भन्ने चिन्ता अफगानिस्तानका महिलाहरूलाई छ। किनकि, उनीहरूले अघिल्लो शासनकालमा महिलाहरूको अधिकारमाथि प्रतिबन्ध लगाएको थियो। युवतीहरूलाई १० कक्षा भन्दा माथि पढ्न, विद्यालयमा जान निषेध एको थियो। घरबाहिर काम गर्न जान बन्देज थियो। घरबाहिर निस्कँदा पुरै शरीर ढाकिएको हुनपर्‍थ्यो। पुरुष नातेदारहरू साथमा लिएर हिँड्नुपर्‍थ्यो।

जसले तालिवानको नियमहरू विरुद्ध जान्छ, उसलाई सार्वजनिक रूपमा सजाय पाउने गर्थे। सार्वजनिक रूपमा फाँसी दिने, चोरको हात काटिदिने, व्यभिचारको आरोप लागेको महिलालाई ढुंगाले हान्ने सजाय दिन्थे।

समय बदलिएसँगै तालिबानले महिलाहरूको हितका लागि नियमहरू बनाउने दाबी गरेका छन्। अफागानिस्ताजनको सत्ता तालिबानीले पाएको खण्डमा महिलाहरुलाई सार्वजनिक जनजीवनमा सहभागी हुन दिइने समेत भनिएको थियो।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले गत मे महिनामा भनेका थिए, “यस उद्देश्यले महिलाहरूलाई शान्तिपूर्ण र संरक्षित वातावरणमा देशमा योगदान पुर्‍याउन सक्षम बनाउनेछ।”

महिला अधिकारकर्मी एवं पूर्व सांसद एवं अफगानिस्तान प्रतिनिधिमण्डलकी सदस्यले महिलाहरूमाथि ‘विश्वासघात’ भएको टिप्पणी गरिरहेकी छन्। उनी अमेरिकी सेना फिर्ता हुनुपहिले तालिबानसँग शान्ति बार्ता गर्नको लागि काम गरिरहेकी थिइन्।

“अफगानिस्तानका महिलाहरू एकदमै खतरामा छन्,” उनी भन्छिन्, “तालिबानले अपराधीहरूलाई पनि जेलमुक्त गरिरहेका छन्। २० वर्षदेखि महिलाहरू शक्तिशाली भएकोमा रुष्ट बनेकाहरूले बदला लिने मौका त बन्ने होइन भन्ने चिन्ता छ।”  उनका अनुसार अफगानिस्तानको महिलाहरूको भविश्य ‘अन्धकार’ तिर धकेलिएको छ। अफगानिस्तानका प्रान्तीय सरकारी अधिकारीका अनुसार तालिबान प्रवेश गरेसँगै महिलाहरू घरमै ‘कैदी’ जस्ता भएका छन्। “उनीहरू बाहिर जान पाउँदैनन्,” सुरक्षाको कारण देखाउँदै एक अधिकारीले भने।

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै महिलाहरूको समुहले निमरोज प्रान्तका डेपुटी गभर्नर रोहगुल खैरजादको कार्यालयमा पत्र आइरहेका छन्। कार्यालयले एनबीसी न्यूजलाई दिएको एक पत्रमा महिलाहरूले शिक्षाको अधिकार, पढाउने, काम गर्ने अधिकार’बाट बञ्चित हुने डर भएको उल्लेख गरेका छन्। पत्रमा लेखिएको छ, “तालिबानको अघिल्लो शासनकालमा महिलाहरुलाई पढ्न, काम गर्न दिएको थिएन। कृपया तालिबानलाई रोक, बालिका र महिलाहरूलाई सम्मान गर।”

‘इन्डिया टुडे’ले काबुलमा रहेकी एक महिला पत्रकारलाई उद्दत गर्दै लेखेको छ, “सारा सहर रातारात महिलाहरूको लागि परिवर्तन भएको छ। सडकमा हिँड्दै गर्दा पनि फरक अनुभव हुन थालेको छ। जीवन रोकिएको छ।”

महिलाहरू तालिबान समूहदेखि डराएका छन्। आइतबार आश्चर्यजनक गतिमा तालिबानले देशको सत्ता नियन्त्रणमा लिएपछि महिलाहरू झनै त्रासमा छन्। भयानक सपना कतै सत्य हुने त होइन भन्ने चिन्ताले सताएको छ।

धेरेलाई डर छ कि तालिबानले महिला र जातीय अल्पसंख्यकहरूको दुई दशकको कमाइलाई फिर्ता लिने छ। साथै पत्रकार र गैर सरकारी संस्थाका कामदारहरूलाई काममा प्रतिबन्ध लगाउनेछ। अफगानिस्तानको एक पुस्ता एक आधुनिक, लोकतान्त्रिक राज्यको निर्माणको आशामा हुर्केको थियो। ति सपनाहरू आइतबार तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै धमिलो पो हुने हो कि भन्ने डर छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved