काठमाडौं। हिजोआज गाउँघर या सहरमा चंगा उडाउने चलन कम हुँदै गएको छ। जसका कारण सहर बजारमा पहिले किराना पसलदेखि तरकारी पसलसम्म पाइने चंगा अहिले केही सीमित पसलमा मात्र भेटिने गरेको छ। अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ।
केही संघ संस्थाले संस्कृति धान्ने भन्दै चंगा उडाउने कार्यक्रम राखे पनि व्यक्ति आफैँ नै स्वतः स्फूर्त ढंगले चंगा उडाउने भने अत्यन्त कम भएको धेरैको अनुभव छ। पहिले पहिले दशैँ लाग्नुभन्दा महिना दिन अघिदेखि नै आकाशमा चंगाको भिडभए पनि पछिल्लो समय चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको छ।’
विश्वमा धार्मिक, सामाजिक, वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भए पनि नेपालमा भने दशैँ‚ तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ। चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ।
लोककथा र किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ। चंगा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ। तर‚ दशैँभन्दा केही अगाडिदेखि चंगा उडाउने चलन रहेको बताइन्छ।
अहिलेका बालबालिकाहरूको मोबाइल, कम्प्युटर, ल्यापटप तथा अन्य मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आकर्षण घटेको धेरैको बुझाइ छ।
पहिलेको तुलनामा अहिले सहर बजारमा छ्याप्छ्याप्ती चंगा, लट्टाई, धागो पाइँदैन। अहिले त जहाँ पायो त्यहीं पाइँदैन, विशेष स्थानमा मात्र चंगा बेच्न राखेको हुन्छ।’
संस्कृतिविद् डा. गोविन्द टण्डन दशैँ तिहारमा पिङमा खेल्नु भनेको भुइँ छाड्ने संस्कृति भएको बताउँछन्। उनका अनुसार वर्षको एक पटक पिङ चढेर भुइँ छाडे मरेपछि स्वर्ग गइन्छ भन्ने धार्मिक विश्वास छ।
तस्वीर : सुनील महर्जन/नेपाल भ्युज
Facebook Comment
Comment