सुर्खेत। २८औँ विश्व आदिवासी दिवसको अवसरमा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतले विश्व आदिवासी दिवस आजदेखि रक्तदान कार्यक्रम गरेर मनाउन शुरु गरेको हो।
महासंघले ३ दिनसम्म मनाउने कार्यक्रम अनुसार आज २२ गते रक्तदान, २३ गते आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका विषयक अन्तरक्रिया तथा २४ गते विभिन्न झाँकीसहित सुर्खेत सभाहलमा दिवस मनाउने कार्यक्रम रहेको महासंघका कार्यवाहक अध्यक्ष अशोक राजीले जानकारी दिए।
कावाअध्यक्ष राजीले भने ‘‘मानव जीवनको महत्त्वपूर्ण पक्ष नै रगत भएकोले कसैको पनि रगतका कारण ज्यान नजाओस् भन्ने अभिप्रायले हामीले रक्तदान कार्यक्रम गरेका हौँ। यो मानवीय कार्यमा लाग्न म सबैमा अनुरोध गर्दछु।’’
नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा २५ पिन्ट रगत सङ्कलन भएको थियो।
Facebook Comment
Comment