बुुटवल। लुम्बिनी प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरूले जनताको हितलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले गठबन्धनबाट विजयी उम्मेदवारलाई बिहीबार बुटवलमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा विजयी राष्ट्रियसभाका सदस्यहरूले संविधानको रक्षा गर्दै जनताको हितलाई सर्वोपरि मानेर काम गर्ने प्रतिबद्धता जनाएका हुन्।
नेकपा (एस) बाट विजयी राजेन्द्रलक्ष्मी गैरैले जनता र संविधान रक्षामा लाग्ने बताइन्। उनले गठबन्धनका उम्मेद्वारको विजयले प्रतिगमनकारी र दम्भीहरू पराजित भएको बताइन्। केपी ओली नेतृत्वको एमाले बलियो भएको भनिएको लुम्बिनीको राष्ट्रियसभाबाट पछार्न सफल भएको पनि उनले बताइन्।
राष्ट्रिय जनमोर्चाका तर्फबाट विजयी भएका तुलप्रसाद विश्वकर्माले संविधान, संसद्, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वलाई समाप्त गर्ने प्रतिगमनकारी शक्तिलाई राष्ट्रियसभाको निर्वाचनले परास्त गरेको बताए।
उनले देश र जनताका समस्याहरूलाई निकास दिन राष्ट्रियसभा सदस्यको हिसाबले पूरा गर्ने प्रतिबद्धता जनाए। उनले गठबन्धनबाट विजयी हुँदा समग्र देश र प्रतिगमनकारी शक्तिले पराजय भोगेको बताउँदै आफूहरूले गल्ती गर्दा सजग गराउन आग्रह गरे।
नेपाली कांग्रेसका तर्फबाट विजयी भएका युवराज शर्मा भने बाँकेमा भएकाले कार्यक्रममा सहभागी थिएनन्। लुम्बिनी प्रदेशमा बुधबार भएको निर्वाचनमा पाँचदलीय गठबन्धनका तीनै जना उम्मेद्वार विजयी भएका थिए।
Facebook Comment
Comment