बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरि प्रधानमन्त्री प्रचण्डले केबलकार उद्घाटन गरेका हुन् ।
आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार अबदेखि व्यावसायिक रुपमा सञ्चालन भएको छ । यो केबलकार बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको छ । केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता संरचना निर्माणबाट मुलुकको अर्थतन्त्र विस्तारमा योगदान पुग्ने बताए ।
आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । लुम्बिनी केवलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन ।
केबलकारले दैनिक ६ हजार यात्रु ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामा टप स्टेशनमा पुग्न सकिन्छ ।
उद्घाटन कार्यक्रममा केबलकारका अध्यक्ष चन्द्र ढकालले लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताए । यस पर्यटकीय पूर्वाधारले समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने भन्दै अध्यक्ष ढकालले पाँचतारे होटेल, मन्दिरलगायत पूर्वाधारले भारतका सीमावर्ती शहरका पर्यटकलाई आकर्षित गरेर विदेशी मुद्रा आर्जन गर्ने विश्वास पनि व्यक्त गरे ।
Facebook Comment
Comment