एक अर्ब ५९ करोडमा सुर्खेतमा रंगशाला बन्दै

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्यसहित फिफा मापदण्डमा ३० महीनामा ‍सक्नेगरी निर्माणको का शुरु भएको छ।

एक अर्ब ५९ करोडमा सुर्खेतमा रंगशाला बन्दै

सुर्खेत। कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लगानीमा रंगशाला निर्माण शुरु गरिएको छ। प्रदेश सरकारको लगानीमा रंगशाला निर्माण शुरु भएको हो।

रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी/जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे।

“हरेक ठूला आयोजना संघ सरकारबाट हुँदै आएका छन् तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा ठूलो लगानी गरेर रंगशाला निर्माणको कार्यलाई अगाडि बढाएको छ”, उनले भने, “यसको निर्माण कार्य जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्ने गरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु।” प्राकृतिकरुपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायीलगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उन सुझाए।

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए।

“हामीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका छौँ”, उनले भने, “दशहजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुनेछ।”

प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई ६ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उनले जानकारी दिए। नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी/जिएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रंगशाला निर्माण गरिने उनले बताए।

“हामीसँग रंगशाला निर्माणको राम्रो अनुभव छ”, उनले भने, “यसअघि दाङमा सम्पन्न गरिसकेका छौँ भने पोखरामा अन्तिम चरणमा छ।”

रंगशालाको संरचना

दश हजार दर्शक क्षमताका रंगशालामा भूकम्प प्रतिरोधी प्यारोफिट बन्नेछ। भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले जनाए।

उनका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ। यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved