ऋण लिन जब एक महिला वृद्धको शव लिएर बैंकमा पुगिन्…

नेपालभ्युज

ऋण लिन जब एक महिला वृद्धको शव लिएर बैंकमा पुगिन्…

काठमाडौं । ब्राजिलमा एक महिलाले वृद्धको शव लिएर बैंकमा गएको घटना अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

द गार्डियनका अनुसार मृत्यु भईसकेका ती वृद्धको नाममा ३ हजार डलर बराबरको ऋण लिन एरिका डिसुजा नुनेस नामकी महिला शव नै लिएर बैंकमा पुगेकी हुन् ।

नुनेसले ती मृत व्यक्तिलाई अंकल भनेर सम्बोधन गरेकी छन् । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो ।

अप्रिल १६ मा नुनेस ह्वीलचेयरमा एक वृद्ध व्यक्तिसँग बैंक पुगेकी थिइन् ।

वृद्ध व्यक्तिको अवस्था राम्रो देखिएको थिएन र उनको टाउको लगातार अगाडि पट्टी झुकेको थियो ।

नुनेसले बारम्बार आफ्नो हातले वृद्धको टाउको सीधा पारिरहेकी थिइन् ।

बैंकका कर्मचारीसँग ऋणबारे कुराकानी गरेपछि नुनेसले वृद्ध व्यक्तिको हातमा कलम थमाएकी थिइन् । उनले बारम्बार कागजमा हस्ताक्षर गर्न वृद्ध व्यक्तिलाई आग्रह गरेकी थिइन् ।

सेक्युरिटी क्यामेरामा रेकर्ड भएको भिडियोअनुसार नुनेसले वृद्ध व्यक्तिलाई भनेकी छन्, ‘अंकल, तपाईंले मलाई सुनिरहनुभएको छ । हजुरले यस कागजमा हस्ताक्षर गरिदिनुस् । नत्र हामीले ऋण पाउन सक्नेछैनौं ।’

नुनेसले थप भनिन्, ‘अंकल, कृपया कागजातमा हस्ताक्षर गर्नुहोस् ताकि हामीले थप कष्ट भोग्नु पर्दैन ।’

वृद्ध व्यक्तिको कुनै प्रतिक्रिया नआएपछि बैंकका कर्मचारीले नुनेसमाथि शंका गरेका थिए ।

त्यसपछि कर्मचारीहरूले नुनेसलाई ऋण दिन नमिल्ने बताउँदै वृद्ध व्यक्तिलाई लैजान आग्रह गरेका थिए ।

बैंकका कर्मचारीको आग्रह अस्वीकार गर्दै नुनेसले ती वृद्ध व्यक्तिलाई बारम्बार हस्ताक्षर गर्न आग्रह गरेपछि प्रहरी बैंकमा पुगेको थियो ।

घटनाको अनुसन्धानपछि ती वृद्ध व्यक्तिको पहिले नै मृत्यु भइसकेको खुलेको छ । तर परिचय भने खुलिसकेको छैन ।

शवलाई शव गृहमा पठाइएको छ । प्रहरीले वृद्धको मृत्यु वा हत्या भएको भने खुलिनसकेको जनाएको छ ।

तर, नुनेसले गैरकानुनी रूपमा मृत व्यक्तिको नाममा ऋण लिन शव नै लिएर बैंकमा पुगेको पाइएको द गार्डियनले जनाएको छ ।

नुनेसलाई प्रहरीले बैंकबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved