सुदूरपश्चिम : एमालेले स्वीकारेन सोडारी, केन्द्रको निर्णय कुर्दै दलहरू

नेपालभ्युज

सुदूरपश्चिम : एमालेले स्वीकारेन सोडारी, केन्द्रको निर्णय कुर्दै दलहरू

काठमाडौं । विवादका बाबजुद सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि परेका दुई दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गरेर पुन: दाबी गर्न दुई दिनको समय दिएका छन् ।

एकीकृत समाजवादीले मुख्यमन्त्रीको विषयलाई लिएर केन्द्रीय सत्ता गठबन्धन नै फुटाउनेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच सहमति भयो, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पहिलो चरणमा एकीकृत समाजवादीलाई नै दिने ।

तर, प्रदेशस्थित एमाले सांसदहरूले भने ‘केन्द्रबाट कुरा आएको’ भन्दै एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीका रूपमा नमान्ने बताएका छन् ।

केन्द्रीय सत्ता गठबन्धनअनुसार प्रादेशिक गठबन्धनमा एमालेसँगै रहेको माओवादी केन्द्रका एक सांसदले नेपालभ्युजसँग भने, “एमालेका साथीहरूले उहाँ (दीर्घबहादुर सोडारी) लाई नमान्ने भन्ने अनौपचारिक कुरा बाहिरिएको छ । साथीहरूले केन्द्रबाट कुरा आएको भन्दै उहाँलाई नमान्ने तर, उहाँबाहेकका पात्रलाई मान्ने भन्ने कुरा गर्नुभएको रहेछ ।”

एमाले सांसदहरूले अनौपचारिकरूपमा सोडारीलाई मुख्यमन्त्रीका रूपमा नमान्ने कुरा गरेपछि राति नै त्यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगिसकेको ती सांसदले बताए । प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेर निर्णय पठाउँछु भनेको उनले सुनाए ।

तर, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल भने त्यो हल्ला मात्रै भएको बताउँछन् । गठबन्धनसम्बन्ध दलहरूबीच भएको सहमतिमा आफूहरू अडिग रहने उनी बताउँछन् ।

“पात्रका बारेमा हामी बढी बोल्दैनौँ । दलीयरूपमा सहमतिबाट आउनुपर्‍यो, गठबन्धनमा सहमति भएको पात्र हुनुपर्‍यो, भइहाल्यो । यसबाहेक हामीले थप बोल्दैनौँ,” नेता रावलले भने, “केन्द्रबाट के आउँछ, त्यसअनुरूप चल्छौँ ।”

जे होस्, प्रदेशस्थित सबै दलहरूले केन्द्रीय निर्णय नै कुरिरहेका छन् । केन्द्रबाट आएको निर्णय आफूहरूले पालना गर्ने बताउँछन् नाउपाका सांसद कैलाश चौधरी । “केन्द्रबाट आएको निर्णयानुसार प्रक्रिया थाल्छौँ,” उनले भने, “अहिलेसम्म केही आएको छैन ।”

अहिले एमाले अध्यक्ष ओली इलाम २ पुगेका छन् । वैशाख १५ मा हुने उपनिर्वाचनको चुनावीसभा सम्बोधन गर्न उनी त्यता पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले ओली काठमाडौं फर्किएपछि कुरा गरेर निर्णय पठाउने बताएको माओवादी केन्द्रका सांसद रमेशसिंह धामीले बताए ।

त्यहाँ यसअघि नै नाउपाका सांसदद्वय कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । त्यसमा कैलाश चौधरीले केन्द्रीय सत्ता गठबन्धनअनुसारका दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश थिए भने लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए ।

तर, पछि एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरहेको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई थमाएपछि प्रदेश प्रमुख मियाँले दुवै दाबी अस्वीकृत गरेर दुई दिनभित्र पुन: दाबी पेश गर्न भनेका छन् ।

उक्त समय भोलि साँझ ५ बजे घर्किँदैछ । समय घर्किनुअगावै मुख्यमन्त्रीमा दाबी पेश हुने दलहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved