मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

नेपालभ्युज

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

मधेस । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलो पानी लगाउने गर्दछन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुने बित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ ।

होली पर्वमा रङरअबिर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ ।

पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे । अचेल यो परम्परा लोप हुँदै गइरहेको छ ।

मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ । जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा ‘सेभ हिस्टोरिकल जनकपुरधाम’को अगुवाइमा केही वर्षयतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ ।

शीतलताको प्रतिकका रूपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको मधेस प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादवले बताए । जुडशीतल पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा पनि छ ।

यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने गरेको उनको भनाई छ । यसका अतिरिक्त जुडशितल पर्व वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्त्वपूर्ण छ । शरीरमा हिलो र पानी  हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ ।

गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्यून हुने गरेको चर्म रोग विशेषज्ञ डा। प्रमोदकुमार झाले बताए । यसअघि मिथिलाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा रहेको सतुवाईन पर्व मनाइएको छ ।

पर्वको अवसरमा घर–घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ । घरका देवीदेवतालाई प्रसादका रूपमा सातु अर्पण गर्ने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गर्दछन् ।

चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved