‘अर्थतन्त्र सुधार भएको छ, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छु’

नेपालभ्युज

‘अर्थतन्त्र सुधार भएको छ, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको बताएका छन् ।

बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

“सुशासन सरकारको पहिलो प्राथमिकता हो । सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ र बालुवाटार, बाँसबारी, एनसेललगायतका प्रकरणमा गम्भीर अनुसन्धान गरेर नतिजासमेत प्रष्टरूपमा निकालेको छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

यस्तै उनले अर्थतन्त्रमा सुधारका सङ्केतहरू देखिएको बताएका छन् । “बाह्य क्षेत्र हालसम्मकै मजबुद अवस्थामा रहेको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सबल छन्, तैपनि अझै अर्थतन्त्रलाई चलायमान राख्नका लागि समष्टिगत परिसूचकहरूमा सुधार गरी अर्थतन्त्रको पुनरुत्थान गर्ने दिशामा सरकार छ,” उनले भने ।

यस्तै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले समयमै विद्यार्थीहरूकहाँ पाठ्यपुस्तक पुर्‍याइरहेको दाबी गरे । “विद्यार्थीहरूले भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । र, यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने काम प्रारम्भ भइसकेको छ,” उनले भने ।

उनले सङ्घीय शिक्षा विधेयक र सङ्घीय निजामति विधेयक प्रतिनिधि सभामा दर्ता भएको जानकारी दिँदै भने, “सङ्घीयता कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको सङ्घीय प्रहरीसम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा छ भने प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved