सामुदायिक विद्यालयका शिक्षक जनप्रतिनिधि मातहत बस्न नमान्नु गलत हो : योगेश भट्टराई

नेपालभ्युज

सामुदायिक विद्यालयका शिक्षक जनप्रतिनिधि मातहत बस्न नमान्नु गलत हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताएका छन् ।

आइतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

विद्यालय शिक्षा विधेयकको विषयलाई लिएर पछिल्लो समय शिक्षकहरु स्थानीय तहको मातहतमा नराख्न माग गर्नु जायज नभएको बताउँदै सचिव भट्टराईले सामुदायिक विद्यालयका शिक्षकहरुमा विद्यालय शिक्षा विधेयकको विषय भएको त्रास र भयलाई सरकारले सम्बोधन गरी विश्वासमा लिन जरुरी रहेको उल्लेख गरे ।

उनले विद्यालय शिक्षा संविधानको अनुसूचिले नै स्थानीय तहको मातहतमा रहने भनेर स्पष्ट व्यवस्था गरेको बताए । अन्यर्था सरकारले संविधानको अनुसूचि संशोधन गर्नुपर्ने भन्दै त्यो बाहेक सरकारसँग अन्य उपाय नभएको उनको भनाइ थियो ।

उनले शिक्षकहरु जिल्ला शिक्षा कार्यालयको कुनै कर्मचारीको मातहतमा बसेर काम गर्ने तयार हुने तर जनताले मत दिएर निर्वाचित जनप्रतिनिधिसँग बस्न नमान्नु जायज नभएको बताउँदै शिक्षकहरुले जनप्रतिनिधिहरुको निगरानी वा सहकार्यमा छौं भन्ने बुझ्न आवश्यक रहेको बताए ।

शिक्षा शाखाका अधिकारीभन्दा जनप्रतिनिधिले अलि बढी दायित्व तथा उत्तरदायित्व बहन गर्नुपर्ने बताउँदै नेता भट्टराईले स्थानीय तहको शिक्षामा गुणस्तर, पाठनपाठन, व्यवस्थापन साथै प्रशासन चुस्तदुरुस्त बनाउने र जनताको मन जित्ने उद्देश्य हुने भएकाले जनप्रतिनिधिले खेलाँची गरेर शिक्षकमाथि अन्याय नगर्ने जिकिर गरे । विद्यालय शिक्षा ऐन सजिलै जनप्रतिनिधिले हस्तक्षेप गर्ने खालको नहुने उनको धारणा थियो ।

सचिव भट्टराईले विद्यालय स्थानीय सरकारलाई दियौं भनेर संघीय सरकार उम्कन नमिल्ने बताउँदै बजेटको व्यवस्थापन केन्द्र सरकारले गर्नुपर्ने भएकाले संघ, प्रदेश र स्थानीय तहको त्रिपक्षीय सहयोग समन्वयबाट सामुदायिक विद्यालयहरु सञ्चालन हुने र अभिभावकको पनि महत्वपूर्ण सहभागिता हुने बाटोमा जानुपर्नेमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved