सभामुख घिमिरे नेतृत्वको टोली ९ दिन लामो विदेश भ्रमणपछि आज स्वदेश फर्किदै

नेपालभ्युज

सभामुख घिमिरे नेतृत्वको टोली ९ दिन लामो विदेश भ्रमणपछि आज स्वदेश फर्किदै

काठमाडौं । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ IPU(आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे(Dev Raj Ghimire)सहितको टोली आज स्वदेश फर्किदैछ । सभामुख नेतृत्वको टोली बिहान ९ बजे कतार एअरवेज मार्फत काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

टोलीले भ्रमणबारे त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिने सभामुख घिमिरेका प्रेस संयोजक शेखर अघिकारीले बताए । सभामुख सहितको टोली गत बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको थियो ।

सभामुख घिमिरेको टोली एक साता लामो भ्रमणमा गएपछि प्रतिनिधि सभा बैठक प्रभावित भएको छ । घिमिरेको नेतृत्वमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमणमा सहभागी छन् ।

यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार पनि भ्रमणमा छन् ।

साथै राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे पनि सो टोलीमा अटाएकी छन् । सभामुख सहितको टोलीको जेनेभा भ्रमणका कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगित गरिएको छ । उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई बैठक स्थगन गरेर स्वीट्जरल्याण्ड(Switzerland) गएको भन्दै सभामुखको आलोचना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved