सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक छः भारतीय राजदूत श्रीवास्तव

नेपालभ्युज

सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक छः भारतीय राजदूत श्रीवास्तव

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको बताएका छन् ।

सिंहदरवारमा मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगको भेटमा राजदूत श्रीवास्तवले नेपालको सुरक्षा सुदृढिकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको बताए ।

खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेको दाबी गर्दै उनले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ थियो ।

भेटमा गृहमन्त्री लामिछानेले दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल आवश्यक रहेको औल्याएका थिए ।

भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने गृहमन्त्रीले बताए ।

गृहमन्त्री लामिछाने र राजदूत श्रीवास्तवबीच तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा जोड दिएका थिए ।

दक्षिण कोरिया राजदूत पार्क ताइयोङसँग गृहमन्त्रीको भेट

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँगको भेटमा उनले दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिए । नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउने गरी गृहकार्य भइरहेको उनको भनाइ थियो ।

भेटमा गृहमन्त्री लामिछानेले कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गरेका थिए । दक्षिण कोरियाको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुकरणीय रहेको चर्चा गर्दै उनले सुशासन र भ्रष्टाचार अन्त्य नै आफ्नो पार्टी र आफ्नो उद्देश्य रहेको प्रष्ट पारेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved